सासू र श्रीमतीलाई आगो लगाएर मार्न खोज्ने घरज्वाइँ पक्राउ



काठमाडौं । महोत्तरीमा आफ्नै श्रीमती र सासूलाई आगो लगाएर मार्ने प्रयास भएको छ। महोत्तरी औरही नगरपालिका– ८ भोइल टिमकिया घर भई ससुरालीमा घरज्वाइँ बस्दै आएका शङ्कर सदाले ३५ वर्षीया श्रीमती प्रमिला र ६५ वर्षकी सासू रेशमा देवीलाई आगो लगाएर मार्ने प्रयास गरेका हुन्।

२१ साउनको राति ११ः४० बजेको समयमा शङ्करले श्रीमती प्रमिला र सासू रेशमा सुतिरहेको मौका छोपेर मट्टितेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले जानकारी दिए। शङ्करले लगाएको आगोबाट उनीहरूका हात, पिठ्युँ, छाती, पाखुरा र खुट्टा जलेको एसपी पंगेनीले बताए।

एसपी पंगेनीका अनुसार शरीरमा आगो बलेपछि उनीहरू चिच्याएका थिए । स्थानीयले सुनेर उनीहरूको घरमा गएर हेर्दा दुवै जना जलिरहेका थिए । शङ्कर त्यतिबेलासम्म भागिसकेका थिए। गम्भीर घाइते भएका उनीहरू दुवै जनाको आफन्तले उद्धार गरेर उपचारका लागि नजिकैको अस्पताल लगे।

आगो लगाएर मार्ने प्रयास भएको कुरा आफन्तहरूले भनेपछि प्रहरीले थाहा पाएको हो। हाल उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलबाट मट्टितेल ल्याउन प्रयोग गरेको जर्किन तथा जलेको कपडाका टुक्राहरूसमेत बरामद भएको एसपी पंगेनीले बताए।

उनले भने, ‘घटनामा संलग्न शङ्करविरुद्ध निजका जेठान अनुपलाल सदाले जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा जाहेरी दरखास्त दिएपछि उनको खोजीकार्य सुरु गरिएको हो।’ श्रीमती र सासूको शरीरमा मट्टितेल छर्केर आगो लगाई फरार रहेका शङ्करलाई खोजी कार्य गर्ने क्रममा महोत्तरी प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गर्न सफल भएको छ।

भारतीय काउन्टर पार्टसँग समेत समन्वय गरी शङ्करलाई सम्सी गाउँपालिका– ६ स्थित सम्सी–कन्हवा बोर्डरको नेपालतर्फको भागमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको एसपी पंगेनीले बताए ।

श्रीमतीसँगको रिसिईबीमा परिन् सासू

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा शङ्करले आफ्नै श्रीमती प्रमिलालाई परपुरुषसँग अवैध सम्बन्ध रहेको भन्ने शङ्का गरी सोही आरोप लगाएर पटक–पटक उनीहरूबीच झगडा भइरहने गरेको खुलेको छ। श्रीमतीसँगको रिसिईबीमा सासू परेको प्रहरीको भनाइ छ ।

२१ साउनमा पनि शङ्कर र प्रमिलाबीच सोही विषयलाई लिएर झगडा भएको थियो। त्यतिबेला सासू रेशमाले प्रमिलाको पक्षमा बोलेकी थिइन् । घरज्वाइँ बसेका शङ्करलाई गाली गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यही रिसिईबीलाई लिएर राति उनीहरू सुतेको मौका छोपी मट्टितेल छर्केर आगो लगाएका हुन्। यसरी महोत्तरी प्रहरीले पछिल्लो समय जिल्लामा हुने अपराधका घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्ने गरेको छ।

आगो लगाएर फरार भएका शङ्करलाई पक्राउ गर्न सफल महोत्तरी प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न ३९५ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अनुसन्धान र कैद भुक्तानका लागि प्रक्रिया अगाडि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको कमान्ड सम्हालेको ६ महिनाको विवरण सार्वजनिक गर्दै एसपी पंगेनीले आफ्नो कार्यकालमा हुने अपराधको घटनामा जो कोहीलाई नछाड्ने बताए । एसपी पंगेनीले गत ४ फागुन २०७८ देखि महोत्तरीको कमान्ड सम्हालेका हुन् ।

पंगेनीले महोत्तरी हाजिर भएको फागुन महिनामै २६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अनुसन्धान र कैद भुक्तानका लागि प्रक्रिया अगाडि बढाएका थिए । जसमा फौजदारीअन्तर्गत ३ जना पुरुष रहेका थिए भने देवानीअन्तर्गत १७ जना पुरुष र ६ जना महिला छन् ।

त्यस्तै चैत महिनामा ५० जनालाई पक्राउ गर्न सफल भएका थिए पंगेनी । जसमा फौजदारी मुद्दाअन्तर्गत १९ जना पुरुष र २ जना महिला रहेका एसपी पंगेनीले जानकारी दिए । पंगेनीका अनुसार देवानी मुद्दामा २९ जना पुरुष पक्राउ परेका छन् ।

यस्तै २०७९ वैशाखमा १६ जना मात्र पक्राउ परेका थिए। वैशाखमा २ पुरुष फौजदारी र ८ जना पुरुष तथा ६ जना महिला देवानी मुद्दामा पक्राउ परेका हुन् ।

त्यसै गरी, जेठमा २९ जना पक्राउ परेका छन् । फौदजारी मुद्दामा २ जनासहित २१ जना पुरुष र ६ जना महिला देवानी मुद्दामा समेत पक्राउ परेका एसपी पंगेनीले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/२०७९को असारमा सबैभन्दा धेरै अभियुक्त पक्राउ परेका छन् । असारमा मात्रै विभिन्न अपराधमा संलग्न १३३ जना पक्राउ परेका एसपी पंगेनीले बताए । जसमा फौजदारीमा २४ जना र देवानीमा १०९ जना पक्राउ परेका हुन् ।

यस्तै चालू आवको पहिलो महिना साउनमै महोत्तरी प्रहरीले ठूलो सफलता हासिल गरेको छ । विभिन्न अपराधमा संलग्न १४१ जना साउन महिनामै मात्र पक्राउ परेका एसपी पंगेनीले बताए । जसमा २० जना फौजदारी मुद्दामा र १२१ जना देवानी मुद्दामा पक्राउ परेका छन् ।
महोत्तरी प्रहरीका अनुसार गत ४ फागुन २०७८ देखि साउन २०७९ सम्मको अवधिमा विभिन्न अपराधमा संलग्न भई दोषी ठहर भएका ३९५ जना अभियुक्तबाट ७३ वर्ष ७ महिना ६ दिन कैद र २९ लाख ३४ हजार ४२६ रुपैयाँ जरिवाना असुल भएको छ ।

२ करोड ४० लाख राजस्व सङ्कलन

एसपी पंगेनीको ६ महिनाको कार्यकालमा महोत्तरी प्रहरीले २ करोड ४० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। एसपी पंगेनीका अनुसार ६ महिनाको अवधिमा २ करोड ४० लाख ४८ हजार ७८६ रुपैयाँ सङ्कलन भएको छ।

फागुन महिनामा मात्रै ३४ लाख ६१ हजार ७१ रुपैयाँ राजस्व सङ्कलन भएको एसपी पंगेनीले बताए। एसपी पंगेनीका अनुसार विभिन्न किसिमको लत्ताकपडा, किराना सामानहरू, सवारी साधन र नगद बरामद भएको थियो।

त्यस्तै चैत महिनामा ६८ लाख ६६ हजार ५८३ रुपैयाँ, वैशाखमा २२ लाख ८७ हजार ९६५ रुपैयाँ, जेठमा ३० लाख ८१ हजार ४०० रुपैयाँ, असारमा ५० लाख ४२ हजार ३३४ रुपैयाँ र चालू आवको साउन महिनामा ३३ लाख ९ हजार ४२५ रुपैयाँ राजस्व सङ्कलन भएको हो।

विभिन्न किसिमको लत्ताकपडा, किराना सामानहरू, सवारी साधन र स्रोत नखुलेको रकमसँगै फागुनमा २ जना, चैतमा ३ जना, वैशाखमा १ जना, जेठमा ३ जना, असारमा ६ जना र साउनमा १ जना गरी १६ जना समेत पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्