गोपालकालीन सभ्यता बोकेको सापारु गाईजात्रा



  • पदम श्रेष्ठ

काठमाडौं । ईजात्रा राजा प्रताप मल्लका पालादेखि सुरु भएको भनिए तापनि मृतकको नाउँमा झाँकी निकाल्ने परम्परा गोपाल राजवंशावलीमा उल्लेख भएअनुरूप राजा जयस्थिति मल्लको राज्यकाल ने.सं. ५०० तिर नै सुरु भएको पाइन्छ।

गीत गोविन्दावली गाउँदै देश परिक्रमा गर्ने परम्परा त्यसबेलै थिायो भने ललितपुरको लुभुमा नयाँ घर निर्माण गरिँदा धाः धिमे बाजा बजाउँदै देश परिक्रमा गर्ने चलन अझै छ।

बौद्ध परम्परानुसार मृतकका नाउँमा गुँलागा द्वितीया गाईजात्राको भोलिपल्ट ललितपुरको मङ्गल बजारबाट निकालिने मतयाः दीपयात्रा नेकु वा शृङ्गभेरी जात्राको इतिहास केशर पुस्तकालयमा उल्लेख भएअनुसार राजा गुणकामदेवको राज्यकालमा नै पुनरुत्थान भइसकेको खुल्छ।

मृत्युलाई साश्वत सत्यका रूपमा आत्मसात् गर्दै जीवनमा राम्रो काम गरे हाँसोको पात्र बन्नुपर्दैन भन्ने सन्देशका साथ देशभर मृतकको नाउँमा गाईजात्रे झाँकी प्रदर्शन गर्ने गर्छन् । मृतात्माको स्मरण सुःखावती भुवनमा बास हो भन्ने निर्वाणको कामना गर्दै प्रत्येक वर्ष गुँलागा पारुका दिन मृतकका घरघरबाट साःया अर्थात् गाईजात्रा निकाल्ने परम्परा छ ।

नेवार समाजबाहेकमा पनि व्यङ्ग्यात्मक हास्यव्यङ्ग्य प्रहसन, गाईजात्रे पत्रपत्रिका प्रकाशन, नाटक तथा सञ्चारका माध्यमबाट राष्ट्रिय चाडको रूपधारण गरिसकेको छ यस पर्वले। आख्यानुसार ने.सं. ७७५ कालीन राजा प्रताप मल्लका कान्छा राजकुमार चक्रवर्तीन्द्र मल्लको शीतला रोगका कारण मृत्यु हुन पुग्छ।

राजकुमारको मृत्युमा भावविह्वल रानी राजमतीलाई शान्त राख्न राजाले जसको घरमा वर्षभरि आफन्तको मृत्यु भएको छ, उसको नाउँमा गाईजात्रा निकाल्न उर्दी जारी गर्छन्।

देशबासीले मृतकका नाउँमा निकालेको सापारु झाँकी हास्य प्रहसन देखेर रानीमा अनित्य संसारको सत्य ज्ञान भई आत्मसन्तुष्टि मिलेको बताइन्छ । समष्टिगत रूपमा सापारु गाईजात्रा स्थानविशेष ऐतिहासिक आधारमा छुट्टाछुट्टै झाँकी प्रदर्शन गरिने परम्परा रहेको खुल्छ ।

येंमी (काठमाडौंबासी) गाईजात्रा सापारु

काठमाडौंबासी नेवारहरूले मृतकका नाउँमा मानवलाई नै सेतो जामा, छ्वालीको जनै, टाउका अगाडि गाईको अनुहार अङ्कित चित्र र पछाडि गणेशको चित्र लेखिएका मुकुन्डो शृङ्गार गरी बाजागाजासहितको गाईजात्रा निकाल्छन् भने दोस्रो पहेँलो वस्त्र पहिरेर फेटा बाँधी चिम्टासहित कमन्डलु लिई जोगी भेषमा र तेस्रो गाईलाई नै सिँगारेर नगरका विभिन्न स्थानबाट निकाली हनुमानढोका दरबार परिक्रमा गराइन्छ ।

मृतकका घरघरबाट पुरी, जुलेबी, फलफूल, नगद, दूध आदि द्रव्य दान गर्दा १०८ प्याकेटदेखि १ हजार ८ प्याकेटसम्म पुर्‍याइन्छ। यसरी गाईजात्रा निकाले वा दान गरिए सिठी नःखःका दिनदेखि बन्द रहेको यमलोकको ढोका खुल्छ र मृतक सजिलै स्वर्ग प्रवेश गर्छ भन्ने मान्यता पाइन्छ। गाईजात्रापछि घर फर्किएकालाई घरको मूलढोकामा हात–खुट्टा धुवाएर घर भित्र्याइन्छ।

कीर्तिपुको पाँगा, मच्छेगाउँमा बाः चाहिले जात्रा

यहाँ गाईजात्राको १ दिन अगाडि गुँपून्हीका दिन राति बाः चाहिलेका नाउँमा मृतकका नाउँमा धूप, दीप र दक्षिणा बुद्ध चैत्य विहार परिक्रमा गर्दै चढाउने गर्छन् । गाईजात्रामा झयाझयाँ पापाको नाउँमा ख्याली भैरवको मुकुन्डो पहिरेर देश परिक्रमा गराइन्छ।

धा, पयँता बाजाको तालमा देश परिक्रमा गर्दै बाघभैरव मन्दिर अगाडिको नारायण मन्दिरबाट पोखरीमा राँगाको खुट्टा फ्याँक्छन्, जुन खुट्टा सहभागीहरूले लुटेर रमाइलो गर्ने गर्छन्। कीर्तिपुरको पाँगामा यस दिन घुँसी गणेशस्थान (पिगंद्य)मा मृतकको घरघरबाट जम्मा हुन्छन् र ९ देखि ११ जनासम्मको सामूहिक गाईजात्रा देश परिक्रमा गराउने चलन छ ।

साँझ लायकु अगाडिको हयँ पोखरीमा राँगाको टाउको–खुट्टा फ्याँकी लिने प्रतियोगिता हुने गर्छ। त्यस्तै, कीर्तिपुरको मच्छेगाउँमा ग्वाः टोल, सायमिटोल र नायः टोलबाट लाखे जात्रा निकालिन्छ भने गाईजात्राका दिन नारायण देवस्थलमा गाईजात्रा, ख्याली भेला भई परिक्रमा गराइन्छ।

भक्तपुर ख्वपको घिन्ताकिसी जात्रा

उपत्यकाका गाईजात्रामध्ये भक्तपुरको गाईजात्रा विशिष्ट पाइन्छ । घिन्ताकिसी भनिने भक्तपुरको गाईजात्रामा मृतकका घरघरबाट छ्वाली, लामो बाँस, काठ प्रयोग गरी तायमचा खट निर्माण गरिन्छ र मृतकको फोटो राखेर पुरोहितद्वारा पूजा गरी बाजागाजाका साथ नगर परिक्रमा गराइन्छ।

राजनीतिक घटनालाई प्रस्तुत गर्दै तायमचा खटको पछिपछि ख्याल प्याखँ, खिंःद्याः, धिमे, बाँसुरी बाजाको तालमा कथि प्याखँ (लठ्ठी नृत्य) प्रदर्शन गरिन्छ। नृत्यका लागि उगःलुसी तकू, चिकू, अयलाः लुइम्ह र त्वनिम्ह बजि इनिम्ह कलाकारको भूमिकासहित देश परिक्रमा गरिन्छ । घिन्ताकिसीको समापन न्यातपोल (पाँचतले मन्दिर) र भैरवनाथमा हुन्छ ।

खोकनाको बाख्री हत्या गाईजात्रा

ललितपुरको खोकनामा निकालिने गाईजात्रामा २ जना मानिसले हलो जोत्ने बेलामा जस्तै बीचमा घन्टी झुन्ड्याएर बोक्छन् । पुरानो भान्ता लुगा पहिरेका ती गाईजात्रेहरू अनेक हाउभाउ र कटाक्ष गरी हँसाउँदै देश परिक्रमा गर्छन् ।

दिउँसो सिकाली अजिमा अगाडिको पोखरीमा जिउँदो बाख्री फ्याँकेपछि युवाहरूको ठूलो जमातले लुछाचुँडी गर्दै बहादुर पुरुषको पद धारण गर्न प्रतिस्पर्धा गर्छन् । वर्ष पुरुष घोषणा हुनुअघि बाख्रीको लुछाचुँडीमै मृत्यु भइसकेको हुन्छ । यो बीभत्स गाईजात्रे पर्व मानिन्छ।

ग्वल पशुपति र नरहाँडी गाउँमा पायो जात्रा

पाशुपत क्षेत्रमा गाईजात्राको भोलिपल्ट रोपाइँजात्राका दिन (गुँलागा द्वितीया) नवदुर्गा जगाउन ९ जनाको पायो निकालिन्छ भने नेपाल भाषामा ग्वल ९ गुणा ९=८१ संयोजनयुक्त बस्तीलाई जगाउन वर्षभरि मृत आत्माको कामना गर्दै बाजागाजाका साथ परिक्रमा गरिन्छ। लिच्छवी बस्ती हाँडीगाउँमा द्यःछेंबाट खड्गधारी पायो निकाली खिं बजाएर रोपाइँ जात्रा गरिन्छ।

शृङ्गभेरी नेकुजात्रा

चक्रवही, इखाछें बुबहाल, हौग, वकुवहाः, इखालखु, कोवहाः, सौगः, नःवही, मंगःप्याल ललितपुरका यी १० टोलले पालैपालो प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट नेकुजात्रा–मतयाः जात्राको पालो लिन्छन्।

भदौ कृष्ण द्वितीयाका दिन ललितपुर बुद्ध चैत्यस्थलमा मृतकका नाउँमा दीपदान गर्ने र राँगाको सिङ बजाउँदै नगर परिक्रमा गर्ने हुँदा यस पर्वलाई मतया–नेकुजात्रा भनिएको हो।

पालोवाल टोलमा जम्मा भई बिहान ६ देखि साँझ झन्डै ७ बजेसम्म १२ घन्टा देवताको नाउँमा धूप, दीप, नैवेद्य, चौमरी, मतया मरी, हयुदिवा, कपुर, दक्षिणा, अबीर, अक्षता, हलः, अमला आदि चढाउँदै मृतात्माका लागि शान्तिको कामना गर्नु यस पर्वको विशेषता हो । कोही त बुद्धस्थलमा जीउ नापेर परिक्रमा गर्ने, कसैसँग नबोल्ने व्रतसमेत गर्छन् ।

मतयाःमा एकातिर राँगाको सिङ नेकुबाजा र अर्कातर्फ ज्यापू समुदायद्वारा बाँसुरी, ढोलक, मगःखि बजाई भजन गाउँदै देश परिक्रमा गर्नु कम रमाइलो हुँदैन । बीचबीचमा युवायुवतीहरू अनेक प्रकारका मुकुन्डो पहिरेर हास्य झाँकी देखाउँछन्। लिच्छवि राजा बालार्चनदेवद्वारा थालिएको मतया नेकुजात्रा राजा सिद्धिनरसिंह मल्लले पुनर्जाग्रित गरेको विश्वास गरिन्छ।

नेपाल संवत्को नवौँ महिना, ९ प्रकारकै बाजा मतयाः जात्रामा बजाइने नेकुबाजा हुने गर्छ। नेकु भन्नाले सिङ हो । यस बाजालाई शृङ्गभेरी पनि भनिन्छ । यस प्रकारको ९ बाजामा मुख्य धाःबाजा हो।

त्यसपछि धिमेय, नाय्खिं, दमःखिं मृदङ्गा, ढोलक, डमरु, कोंचाखिं, नगरा, ढ्याङ्ग्रा दःयो, मगःखि, ज्वःनगरा, खंचरी, काशी बाजा, दक्षिण बाजा, खिं र डबडब (डमरु) आउँछन् । उल्लिखित बाजाको साथमा पञ्चताल पयताः र राँगाको घुम्रिएको सिङलाई विशेष तरिकाले सिँगारी नेकुबाजा बनाइएको हुन्छ ।

आख्यानुसार सिंहकेतु राजाको कार्यकालमा शशिपत्तन नगरमा रानी सुलक्षणा धर्मकर्ममा अतिविश्वास गर्थिन् । राजा सिकार खेली निर्दोष पशुपक्षीको हत्या गर्ने कारण रानीले धेरै सम्झाउँथिन् तर नमानेपछि कालगतिका कारण एक दिन दुवैको मृत्यु हुन्छ । पशुहत्याको विपाकका कारण राजा एक ब्राह्मणको घरमा राँगाको रूपमा र रानी ब्राह्मणकी छोरी रूपमतीको रूपमा जन्मिन्छन् ।

एक दिन राँगा भिरबाट खसेर मरेछ, पूर्वानुस्मृति शक्तिका कारण वर्तमानमा ब्राह्मणकी छोरी रूपमतीले मृतक राँगो आफ्नो पति भएको थाहा पाई राँगाको हाडखोर जम्मागरी बुद्ध चैत्य निर्माण र राँगाको सिङबाट बाजा बनाएको विश्वास गरिन्छ । यस सन्देशलाई आत्मसात् गर्न ललितपुरमा शृङ्गभेरी नेकुजात्रा र दीपयात्रा हुँदै आइरहेको छ ।

वैदिक नेवारको उपाकल साया
ललितपुरमा बौद्ध मतावलम्बी जस्तै वैदिक नेवार (शर्मा, राजोपाध्याय )हरूले गुँलागा पञ्चमीका दिन मङ्गलबजारबाट उपाकल साया ( गाईजात्रा) निकाल्छन् ।

कसैकसैले त्वाकल साया पनि भनिने यस गाईजात्रामा नृसिंह देवताको दायाँ लक्ष्मी, बायाँ सरस्वती र अगाडि भक्त प्रह्लाद बिन्ती मुद्रामा पछाडिपछाडिबाट हिँड्ने गर्छन्।

नृसिंह दैत्यको प्रतीक कपडाको पुतलीलाई घिसारेर नगर परिक्रमा गराइन्छ । भनिन्छ, रुन्चे बच्चालाई सो दैत्य पुतली छुवाएमा निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्