भावी प्रधानसेनापतिका लागि अहिलेदेखि नै चलखेल 



काठमाडौ : नेपाली सेनाभित्र उमेरहदको विषय उठेपछि भावी प्रधानसेनापति को हुन्छ भन्ने विषयले  हलचल ल्याएको छ । अहिले प्रधानसेनापति  पूर्णचन्द्र थापापछि प्रधानसेनापतिको रोलक्रममा रहेका नेपाली सेनाका उपरथी प्रभुराम शर्मा नेपाली सेनाको सर्वोच्च पद प्रधानसेनापति बन्ने बाटोमा अवराध पु-याउने गरी उमेरहदको चलखेल सुरु भएको छ । निजामतीका कर्मचारीहरूको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउने विषयको विधेयक संसदमा  विचाराधीन अवस्थामा रहेका छ । यही विधेयकलाई टेकेर  नेपाली सेनामा पनि सोही बमोजिम व्यवस्था गर्न  चलखेल सुरु भएको छ । 

यदि यो विधेयक पास हुने अवस्था आयो भने नेपाली सेनालाई पनि प्रभाव पर्न सक्ने जानकारहरु बताउछन् । यो व्यवस्थाले  सेनाजस्तो अनुशासित फौजी संगठनभित्र ठूलो हलचल र उथलपुथल हुन सक्ने बताइन्छ । नेपाली सेना स्रोतकाअनुसार, उमेरहदको अहिलेकै सामान्य अवस्था कायम रहेमा नेपाली सेनाका उपरथी प्रभुराम शर्मा २०७८ भदौ २४ गते नेपाली सेनाको सर्वोच्च पद प्रधानसेनापति (महारथी) पदमा बढुवा हुने पक्काजस्तै छ । तर, उमेरहदको विद्यमान व्यवस्थामा फेरबदल भएमा शर्मा प्रधानसेनापति हुने ढोकामा ताल्चा लाग्नेछ । उमेरहदको व्यवस्थामा फेरबदल भएमा नेपाली सेनाका २ नम्बरमा रहेका रथी शरद गिरीले नेतृत्व हाँक्ने अवसर पाउने सम्भावना देखिन्छ ।

उमेरहद सम्बन्धी अहिले उत्पन्न भएको विवादले गर्दा  नेपाली सेनाभित्र व्यापक हलचल र खुल्दुली मच्चिएको छ । नेपाली सेनाको उमेर हदमा फेरबदलको चलखेल अहिले नै हुनुलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।  सैनिक ऐन २०६३ संशोधन गरेर उमेर हद बढाउदा भावी प्रधानसेनापतिदेखि सिपाहीसम्मकै बढुवाले ठूलो प्रभाव पार्ने देखिन्छ । 

नेपाल राजपत्रमा २०६९ माघ १० गते प्रकाशित सूचना अनुसार  हाल भएको नेपाली सेनामा अनिवार्य अवकाश सम्बन्धी व्यवस्था अनुसार, सेनाको तल्लो तहमा प्रमुख सुवेदार ५० वर्ष, सुवेदार ४९ वर्ष , जमदार ४८ वर्ष, हुद्दा ४७ वर्ष, अमल्दार ४७ वर्ष, प्यूठ ४६ वर्ष, सिपाही ४६ वर्ष र फलोअर्सलाई ५५ वर्ष कायम रहेकोे छ । 

यस्तै निजामतीको ६० वर्षे उमेर आकर्षित भई नेपाली सेनाको अनिवार्य अवकाशसमेत सोही अनुरूप संशोधन भई कार्यान्वयन हुने स्थिति आएमा साधारणतर्फ महारथीको ६१ बाट बढाएर ६३, रथी ५८ बाट ६०, उपरथी ५७ बाट ५९, सहायक रथी ५६ बाट ५८, महासेनानी ५६ बाट ५८, प्रमुख सेनानी ५४ बाट ५६, सेनानी ५३ बाट ५५, सहसेनानी ५२ बाट ५४, उपसेनानी ५१ बाट ५३ र सहायक सेनानी ५० बाट ५२ वर्ष कायम गर्नुपर्ने अवस्था आउने देखिन्छ  ।

नेपाली सेनाको प्राविधिकतर्फ हाल कायम भएको उमेर हद उपरथी ५८ बाट ६०, सहायक रथी ५८ बाट ६०, महासेनानी ५७ बाट ५९, प्रमुख सेनानी ५६ बाट ५८, सहायक सेनानीदेखि सेनानीसम्म ५५ वर्षबाट ५७ हुनसक्ने गरी संशोधनको प्रस्ताव अघि बढाइन सक्ने भएकाले सेनाको तल्लो तहदेखि माथिल्लो तह रथीसम्म निकै नै उथलपुथल हुन आउन सक्छ  ।

सैनिकको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति, वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्