बार्सिलोनाले गोल खाँदा मेस्सीका छोराले ‘सेलिब्रेसन’ गरेपछि….(भिडियोसहित)



काठमाडौं : स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोनाले आइतबार राति भएको आफ्नो दोस्रो खेलमा प्रभावशाली जित दर्ता गर्यो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले हरायो। बार्सिलोनाले बेटिसले बनाएको सुरुवाती अग्रता उल्टाउँदै जित दर्ता गरेको हो।

उक्त खेल हेर्नका लागि घाइते भएर मैदानबाहिर रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सी र लुइस स्वारेज आफ्ना सन्तानसहित मैदान पुगेका थिए। दर्शकदीर्घामा रहेका उनीहरूले सँगै बसेर खेल हेरे। तर, पाहुना टोलीले खेलको १५औं मिनेटमा गोल गर्दा मेस्सीका छोरा माटियो मेस्सीले सेलिब्रेसन गरेका थिए।

माटियो अहिले उनको सेलिब्रेसनपछि भाइरल बनेका छन्। मेस्सीका तीन वर्षीय छोरो माटियो बार्सिलोनाले गोल गरेको सम्झेर रमाएका थिए। यो देखेर नजिकै रहेका स्वारेज निकै अचम्मित भएका थिए। पछि मेस्सी र स्वारेजले आफ्नो टिमले गोल गरेको नभएर बेटिसले बार्सिलोनाविरुद्ध गोल गरेको भनी सम्झाए। त्यो सुनेर माटियो लजाएका थिए।

मेस्सीका ६ वर्षीय छोरा पनि अचम्ममा परेका थिए। मेस्सीलाई खेलपछि यस विषयमा पत्रकारले कुरा गरेका थिए, जसमा उनले भनेका छन्, ‘माटियो अचम्मका छन, उनले आफू लिभरपुलको समर्थक हुँ भन्छन्। जब च्याम्पियन्स लिगमा लिभरपुलले बार्सिलोनालाई हराएको थियो तब उनले मलाई भनेका थिएः म लिभरपुल हुँ, तपाईं बार्सिलोना हो।’

मेस्सीले थपे, ‘उनलाई केही मात्रामा थाहा छ, तर अहिलेसम्म बुझ्ने भएका छैनन्। केही अघिमात्र हामीले भ्यालेन्सियासँग हारेका थियौँ र माटियोले मलाई भनेका थिए : आहा, भ्यालेन्सियाले जित्यो। हामीले टिभीमा हेरेका थियौं र रमाएका थियौं।’

मेस्सी र स्वारेज अहिले घाइते अवस्थामा छन्। मेस्सी अभ्यासका क्रममा घाइते हुन पुगेका थिए। पिँडुलामा चोट बोकेका उनले ला लिगाका दुई खेल गुमाएका छन्। अब तेस्रो खेलमा भने उनले सहभागिता जनाउन सक्ने बताइएको छ।

मेस्सीमा नभएर स्वारेज पनि बार्सिलोनाको तेस्रो खेलबाट मैदान फर्किन सक्ने बताइएको छ। बार्सिलोनाले आफ्नो तेस्रो खेलमा नवप्रवेशी क्लब ओसासुनासँग खेल्नेछ। यो खेल अगष्ट ३१ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्