नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसकेको छ ।

पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा पछिल्लो पटक दुई वटा भ्रमण गरेको टोलीले अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल भयो । विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौती भने धेरै छन् ।

पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो । तर नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न उनलाई त्यति सहज भने हुने छैन । किनभने प्रभाकर पहिलो पटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन् ।

साथै उनले कुनै पनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व सम्हाल्न लाग्दैछन् । के-के हुन् त प्रशिक्षक मनोजका चुनौती जुन नेपाली क्रिकेटमा सुधारका लागि निकै आवश्यक छन् ।

पछिल्लो पटक नेपालले स्कटल्यान्ड भ्रमण गर्दा टोलीले अपेक्षाअनुसारको नतिजा निकाल्न सकेन । चार खेलमध्ये एक खेलमा मात्र सुखद नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारण केलाउन थालिएको छ । मुख्यतः टोलीमा एकजुटमा समस्या, ब्याटिङमा समस्या बाहिरी सतहमा देखिन थालेका छन् । यससँगै एकदिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ ।

क्यानले प्रभाकरलाई मासिक १५ हजार अमेरिकी डलरसहित अनुबन्ध गरेको नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिएका छन् । उनले प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाइ प्राप्त गर्ने विश्वास लिएका छन् ।

सिंहले भने ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौँ । पारिवारिक कारणले उहाँ जानुभयो । रिक्त भएको पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौँ । उहाँ अनुबन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाइ पाउने अपेक्षा राखेको छ । किनभने कुनै समय भारतका लागि प्रभाकर अब्बल खेलाडी थिए । पछिल्लो समय अफगानीस्तानलाई टेस्ट नेशन्स बनाउन उहाँको देन निकै महत्त्वपूर्ण थियो ।’

प्रशिक्षक मनोज प्रभाकर शनिवार ९भोलि० बेलुकी नेपाल आउँदै छन् । नेपाली टोली सम्हाल्न आउन लागेका मनोजलाई नेपाली क्रिकेट सुधार गर्ने चुनौती धेरै छन् । मनोजलाई सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्ने पहिलो चुनौती रहेको छ । प्रभाकर जहाँ क्रिकेटका लागि कुनै पनि कन्जुस्याइँ नहुने अब्बल देश भारतका खेलाडी हुन् ।

जहाँ पूर्वाधारको कुनै कमी थिएन । तर उनलाई नेपालमा भएको सीमित साधानको अधिकतम प्रयोग गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ । अहिले टोलीमा नयाँ युवा खेलाडीको वर्चस्व छ । टोलीमा अनुभवी खेलाडीहरू प्रायः शून्य छन् । यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताए । उनले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकितामा राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले भने, ‘अहिले नेपाली टोली ब्यालेन्स छ । युवा टोलीको वर्चस्व छ जुन माथि चढ्ने क्रममा छ । नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ । सिनियर खेलाडीले विस्तारै विश्राम लिने अवस्था पनि छ । अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ । क्रिकेटको स्तर अघि बढाउनका लागि प्रशिक्षकसँग हामीले योजना माग्छौँ । उहाँले ल्याएको योजनालाई हामी सम्बोधन गर्छौँ ।’

घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट देखिएको छ । नेपाल, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र यूएईलाई एसोसियटका शीर्ष टोलीका रूपमा लिइन्छ । तर लगानी र संरचनाको हिसाबमा नेपाल र ती देशको आकाश–पातालको फरक छ ।

तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भए पनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ । नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ । यसका साथै नियुक्त हुन लागेका मनोज प्रभाकरलाई पूर्वप्रशिक्षकले दर्शाएको टोलीभित्रको गुटरउपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ । मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमा नलाग्ने गरेको होइन ।

वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले पनि परम्परागत ब्याटिङलाई सुधार गर्नुपर्ने र ब्याटिङ केन्द्रित प्रशिक्षण निकै नै आवश्यक रहेको बताए । टोलीमा एकताको अभाव भएको टिप्पणी सतहमा आइसकेको अवस्थामा टोलीलाई एकजुट बनाउने जिम्मेवारी पनि प्रशिक्षकको काँधमा रहेको पत्रकार राजवंशीले बताएका छन् ।

उनले भने, ‘सबैभन्दा पहिलो र महत्त्वपूर्ण चुनौती भनेको नेपाली क्रिकेट टोलीको ब्याटिङ पक्ष हो । नेपालको ब्याटिङमा परम्परागत कमजोरी छ । धेरै खेलमा नेपाली टोली ब्याटिङकै कारण पराजित हुन पुगेको छ । त्यही कारण ब्याटिङ पहिलो चुनौती हो । सुधारका लागि अन्य विकल्प खोज्नुपरे पनि क्यान तयार हुनुपर्छ । अर्को चुनौती नेपाली क्रिकेट टोलीभित्र एकताको अभाव छ भनिएको छ । सबै खेलाडीलाई एकताबद्ध बनाउन क्यानले भूमिका खेल्नुपर्नेछ ।’

प्रभाकरका लागि अर्को चुनौती भनेको प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु पनि रहेको छ । थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था प्रभाकारको जिम्मा हुनेछ । विश्व कप क्रिकेट लिग-२ को शीर्ष ३ मा रहँदै एकदिवसीय विश्व कपको बाटो कायमै राख्नु तथा २०२४ को टी-२० विश्व कपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ ।

प्रतिक्रिया दिनुहोस्