‘भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम प्रयोग’



काठमाडौं : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तरक्रिया गर्नु स्वाभाविक भएको स्पष्ट पारेको छ। सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरूसँग गरेको अन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताए।

प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई लिएर जसले यो विषय उठाए पनि त्यो गलत भएको बताए। उनले भने, “कसले यो विषय उठायो थाहा भएन, पार्टीभित्रका वा बाहिरका जसले उठाएको भए पनि यो सरासर गलत कुरा हो। सार्वभौमसत्ता सम्पन्न जनताले चुनेको प्रधानमन्त्री विदेशी नागरिकता बोकेर गएका होइनन्। केही समयका निम्ति प्रधानमन्त्री उपचारका लागि गएका हुन्। यसमा सार्वभौमसत्ताको प्रश्न आउँदैन। प्रविधिको प्रयोग गर्ने विषय हामीबाट असुरक्षित हुँदैन। केवल प्रविधिको प्रयोग मात्रै गरिएको हो।” 

यसअघि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेलासमेत भिडियो कन्फ्ररेन्सलगायत सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का सदस्यसँग अन्तरक्रिया गर्न सक्ने निर्णय गरेको थियो। उनले प्रविधिको प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवादको दुन्दुभी  नबजाउन र आफ्ना सबै असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रन समेत आग्रह गरे।

आफूलाई सूचना तथा प्रविधिका क्षेत्रमा जानकार रहेको ठान्नेहरूले भिडियो कन्फ्ररेन्सबाट मन्त्रिपरिषद्को बैठक बसाल्नु नै गलत भएको भन्दै त्यसले सूचना प्रविधिको प्रयोग र त्यसको सुरक्षासँग जोडिएका विषयमा टिप्पणी गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले गलत कुरा गरेर नागरिकलाई भ्रमित नपार्न आग्रह गरे।

‘प्रधानमन्त्री स्वास्थ्य हुनुहुन्छ’

मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार जारी रहेको जानकारी दिँदै, हप्ता, दश दिनमा  स्वास्थ्य भएर फर्कने बताए। “प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ। त्यसको बेलाबेलामा नियमित फलो अप हुन्थ्यो, अहिले पनि भइरहेको छ”, उनले भने, “प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी ग¥यौँ, स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ। दुई वटा डोज दिइएको छ  सात वटा नै दिनु नपर्ने पनि हुन सक्छ।”

 

प्रतिक्रिया दिनुहोस्