सुगम नगरबासीका पुस्तौनी दु:ख



  • विशाल बस्नेत

महोत्तरी । महोत्तरीको भाङ्ग्रे, झ्याउरेकी सन्तमाया तामाङलाई बजारसम्म जानका लागि २ घन्टा लाग्छ । बजार आउजाउमा मात्र ४ घन्टा छुट्याउनुपर्ने उनी बताउँछिन् ।

सन्तमाया मात्र होइन, भाङ्ग्रे, झ्याउरे, छोड्के, चनौटे, गर्दी, काली खोला, पीपलदमालगायतका बासिन्दाले किनमेल गर्न सन्तमायाको जस्तै दिनभर छुट्याउनु पर्छ ।

उनीहरू घरघरबाट पहिला नै केके ल्याउने भन्ने निर्धारण गर्छन् र छिमेकीहरू मिलेर सँगै बजार जाने गर्छन् । चारैतिर चुरे पहाडले घेरिएको यस ठाउँमा आवतजावतका लागि कुनै मोटरबाटो छैन ।

वर्षा नहुँदा खोलाको बीच भागबाट लिक बनाई कहिलेकाहीँ ट्र्याक्टरहरू जाने गर्छन् तर वर्षा भएपछि खोला वरपर बढ्ने हुँदा आवतजावतमा ठूलो समस्या हुने गर्छ ।

झट्ट सुन्दा मधेसको समथर भू–भागमा सडक नै नभए पनि मोटर घरघरमा पुग्न सक्ने ठाउँमा यति धेरै विकट कसरी हुन सक्ला र भन्ने लाग्छ । तर, देशकै सुगम नगरपालिका भनेर चिनिने महोत्तरीको बर्दिबास नगरपालिकाका वडा-१० र ११ का स्थानीयले यस्तै नियति भोग्नुपरिरहेको छ ।

कोही अचानक बिरामी भएमा तत्काल उद्दार गर्नका लागि न यी गाउँहरूमा एम्बुलेन्स पुग्न सक्छ, न त सामान्य स्वास्थ्य चौकी नै छ । ‘तराईका कर्णाली’ भनेर चिनिने यी गाउँहरूमा चट्टान र चुरेका कारणले वैकल्पिक सडक बनाउनसमेत कठिन छ ।

गाउँको बीचमा एउटा विद्यालय छ– लक्ष्मी भाङ्ग्रे झ्याउरे माध्यमिक विद्यालय । यस विद्यालयमा झन्डै २०० जना बालबालिका अध्यनरत छन् । तर, खोलाबाटै आवतजावत गर्नुपर्ने हुँदा वर्षायाममा झन्डै २ महिना विद्यार्थीहरू विद्यालय नै जाँदैनन् । विद्यार्थी मात्र होइन, आवतजावतको समस्याले शिक्षकहरू समेत नियमित विद्यालय पुग्न नसक्ने प्रधानाध्यापक तीर्थराज गोले बताउँछन् ।

यहाँका सर्वसाधारण सञ्चारबाट समेत निकै टाढा छन् । यही चुरे पहाडको उच्च ठाउँ चनौटेमा राखिएको नेपाल टेलिकमको टावर जनप्रतिनिधि तथा सङ्घीय सांसद गिरिराजमणि पोखरेलको पहलमा भर्खरै सुरु भयो ।

‘परदेशमा बसेका आफ्ना छोराछोरीलाई फोन गर्नका लागिसमेत २ घन्टा हिँडेर बजार धाउनुपर्ने बाध्यताबाट बल्ल मुक्ति पाएका छौँ’, छोड्केका वीरबहादुर लामाले खुसी हुँदै भने । महोत्तरीका यी गाउँहरू अन्य गाउँका तुलनामा बिकट भएपनि मधेसकै भूमिमा अवस्थित उच्च पहाडले भने घुम्न आउने मानिसहरूले छुट्टै आनन्द लिन सक्ने वरपरबाट घुम्न गएका मानिसहरू बताउँछन् ।

चट्टान नै चट्टानको यस पहाडमा पुगेपछि हरियाली जङ्गल र प्राचीन बस्तीहरूले मनमोहक बनाउने बर्दिबास– १ का सुदर्शन काफ्लेले बताए ।

शहरीकरणको विकासले आलिसान मानव निर्मित घर र परसंस्कृतीकरणले मौलिक संस्कृति नै लोप भइरहेको गुनासो चौतर्फी बढिरहेका बेला यी गाउँहरूमा विचरण गरेपछि ऐतिहासिक संस्कृतिका संरक्षक नै उनीहरू नै हुन् भन्ने जोकोहीलाई महसुस हुने नेकपा (एकीकृत समाजवादी)का नेता सुरेश राउतको भनाइ छ ।

पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेका यी गाउँहरूमा तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र युद्ध हुर्काउने र मलजल गर्ने पनि मुख्य थलो मानिन्छ । भूमिगत माओवादीहरूको सङ्गठन विस्तार गर्नेदेखि लिएर पार्टीभित्रका गोप्य छलफल गर्नसमेत यी गाउँहरू महत्वपूर्ण रहेको स्थानीयहरू बताउँछन् ।

माओवादी आन्दोलनलाई हुर्काउन, बढाउन र नेता तथा जनमुक्ति सेनाहरूको आश्रयस्थल बनेका यी गाउँका हरेक स्थानीयको योगदान पनि महत्वपूर्ण छ । अहिले पनि खयरमारा माओवादीहरूको गढ नै मानिन्छ । विशेषगरी वडा– १० र ११ मा पर्ने यी गाउँहरूमा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीका उम्मेदवारहरू नै विजयी बनेका थिए ।

कतिपय ठाउँमा स्थानीयहरू अझै बत्तीमुनिको अँध्यारोमा छन् भने सिँचाइ र खानेपानीको चरम अभाव छ । नदीबाट पानीलाई मोटर लगाएर कतिपयले गाउँसम्म पु¥याए तापनि यो दीर्घकालीन बन्न सकेको छैन । वर्षायाममा खोलाको बहाव बढ्ने हुँदा मोटर लगाएर पानी तान्ने स्थानीयहरूको प्रयास बिफल बन्दै आएको छ ।

गहुँ, मकै, तोरी तथा पशुपालनबाट जीविकोपार्जन गर्दै आएका स्थानीयहरूमा सिँचाइको अभावले धान कमै उत्पादन हुन्छ । भैँसी, गाई पालेरसमेत जीविकोपार्जन हुन नसकेको यहाँका स्थानीयहरू बताउँछन् ।

‘दूध बेच्नका लागि बजारसम्म लैजान सम्भव नै छैन, गाउँमा बिक्री हुँदैन । पशुपालन किसानलाई अप्ठ्यारो छ’, स्थानीय युवा इशारा लामा भन्छन् । यी गाउँमा ९८ प्रतिशत जनजाति मात्र बस्छन् । विशेषगरी लामा, तामाङको बाहुल्य छ । ‘अझ अचम्मलाग्दो विषय त के छ भने, वर्षायाममा यहाँका बासिन्दा खोलाको बहाव घटबढ भइरहने हुँदा बजारबाट फर्कने क्रममा जङ्गलमा नै बास बस्नुपर्ने हुन्छ । खोला कम हुन्छ अनि बिहानै घर जाने गर्छौं’, स्थानीय शान्तिमाया तामाङ बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्