‘पिक’मा चौथो लहरको कोरोना : ‘१ महिना कठिन’



काठमाडौं । सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीको चौथो लहर नेपालमा ‘उच्च बिन्दु’मा पुगेको छ । तेस्रो लहरको त्रास सकिएर ० दशमलव ५ प्रतिशतभन्दा कम पुगेको सङ्क्रमण दर चौथो लहर आएपछि बढेर बिहीबार १७ दशमलव ९७ प्रतिशत पुग्यो । सो दिन ५ सङ्क्रमितको मृत्यु भएको थियो ।

गत १७ फेब्रुअरीमा ६ जनाको ज्यान गएयता बिहीबार सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको हो । बिहीबार स्वास्थ्य मन्त्रालयले २४ घन्टामा ८१५ जना सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको हो । ४ हजार ५३४ जनाको परीक्षण गर्दा यो सङ्ख्या देखिएको हो । यो १७ दशमलव ९७ प्रतिशत हो ।

त्यसको भोलिपल्ट शुक्रबारको तथ्याङ्कअनुसार २४ घन्टामा ७८१ जनामा सङ्क्रमण देखिएको छ । ४ हजार ७१२ जनामा परीक्षण गर्दा यो सङ्क्रमण देखिएको हो । यो सङ्क्रमण दर १६ दशमलव ५७ प्रतिशत हो ।

अहिलेको यो लहर कति समय रहने हो, निश्चित छैन । सरकारले पनि अहिलेसम्म कुनै प्रक्षेपण गरेको छैन । तर, काठमाडौं उपत्यकामा पछिल्लो समयको स्थिर अवस्थालाई हेर्ने हो भने यहाँबाट ग्राफ उकालो लाग्ने सम्भावना कम छ । स्वास्थ्य अधिकारीहरूका अनुसार विगत केही दिनको ग्राफ र विगतको ट्रेन्ड हेर्ने हो भने पनि अब कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्ने वा स्थिर रहने देखिन्छ ।

लगभग अबको १ महिना महामारी ‘पिक’मा रहने र त्यसपछि यो लहर कम या शिथिल हुने स्वास्थ्यविद्हरू बताउँछन् । यस पटकको लहरको अर्को विशेषता के हो भने, अहिलेसम्म बाग्मती प्रदेशभन्दा बाहिर यसले धेरै प्रभाव पारेको छैन ।

‘सङ्क्रमण नफैलिएको हो या परीक्षण नगराएका कारण नदेखिएको हो, प्रस्ट छैन । जे भए पनि चाडबाडको समयमा अन्यत्र फैलिएन भने यो १ महिनामा ओरालो लाग्ने नै छ’, जनस्वास्थ्यविद् डा. जनक कोइराला भन्छन्, ‘अन्यत्र फैलियो भने पनि काठमाडौंको जस्तो जनघनत्व अन्यत्र नभएका कारण धेरै असर नपर्न सक्छ ।’

२०७७ सालमा पहिलो लहरको महामारी पिकमा भएका बेला सङ्क्रमण दर २९ प्रतिशत नाघेको थियो । २०७८ सालको सुरुआतमा देखिएको सबैभन्दा डरलाग्दो दोस्रो लहरको पिकमा ५० प्रतिशतभन्दा बढी सङ्क्रमण दर थियो । गत माघमा चलेको तेस्रो लहर पनि पिकको समयमा १५ देखि २० प्रतिशतसम्म पुगेको थियो ।

चौथो लहरको पिकमा सङ्क्रमण दर १५ देखि १८ प्रतिशत नै छ । पछिल्लो समय बिरामी परेकाहरूमा सामान्यतया ५ किसिमका ज्वरो देखिएको छ । अहिले डेंगी, कोरोना, टाइफाइड र स्क्रबटाइफसका कारण धेरै जना अस्पताल भर्ना भएका छन् । बच्चाहरूमा अर्को फ्लु खालको भाइरल ज्वरोको प्रकोप पनि देखिएको छ । यसले अस्पतालको चाप भने खासै बढाएको छैन ।
डेंगी र स्क्रबटाइफस सिजनल ज्वरो भएका कारण वर्षा सकिएसँगै यी दुवैको असर कम हुने विज्ञहरू बताउँछन् । टाइफाइडको प्रकोप पनि अहिले फोहोर पानीका कारण धेरै देखिएको उनीहरूको भनाइ छ ।

अहिले पाटन र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा त बिरामीको चाप छँदै छ, अन्य धेरै अस्पतालमा पनि चाप बढी छ । यो चाप पनि अर्को महिनासम्म कायम रहन सक्ने बताइएको छ ।

सङ्क्रमण जुध्दा बिरामी बढे

पछिल्लो समय नेपालका ६० भन्दा बढी जिल्लामा डेंगीको प्रकोप देखिएको छ । देशभरमा पछिल्लो १ महिनामा ५५० भन्दा बढी डेंगीका बिरामी भेटिएका छन् । स्क्रबटाइफस, टाइफाइडको मात्र समस्या छैन ।

बच्चाहरूमा अर्को सिजनल फ्लुको प्रकोपले पनि त्यत्तिकै सताएको छ । संसारमा फैलिरहेको मंकिपक्सको सङ्क्रमण भने नेपालमा हालसम्म देखिएको छैन । तर, भारतमा समेत देखिएका कारण यस सङ्क्रमणबाट बच्न नेपालमा समेत सावधानी अपनाउन जरुरी रहेको चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्