यु–१५ साफ च्याम्पियनसिप : बंगलादेशमाथि नेपालको शानदार जित



काठमाडौं : भारतमा जारी पाँचौं संस्करणको यु–१५ साफ च्याम्पियनसिपमा बंगलादेशमाथि नेपालले सानदार जित निकालेको छ। भारतको कल्याणीमा मंगलबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले साविक विजेता बंगलादेशमाथि ४–१ गोलको जित निकालेको हो।

नेपालको जितमा क्रिशन अधिकारी यादवले २ तथा सुगन जिमी र प्रदीप लम्सालले १–१ गोल गरे। बंगलादेशका मियाँले एक गोल फर्काए। पहिलो हाफको इन्ज्युरी समयमा क्रिशनको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो। दोस्रो हाफको ५२ औं मिनेटमा सुगनले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे।

७९ औं मिनेटमा बंगलादेशका मियाँले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याए। तर, लगतै प्रदीपले गोल गर्दै नेपालको अग्रता ३–१ मा पुर्याए। त्यस्तै अन्तिम समयमा क्रिशनले दोस्रो गोल गर्दै नेपाललाई ४–१ को जित दिलाए। जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। बंगलादेश तेस्रो स्थानमा छ। तीन खेलमा तीन जित निकालेको भारत शीर्षस्थानमा छ।

यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो। तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० ले हराएको थियो। नेपालले समुह चरणको अन्तिम खेलमा बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। राउण्ड रोविनको आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन्। 

प्रतिक्रिया दिनुहोस्