वीरगन्जमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा



वीरगन्ज : वीरगन्ज महानगरपालिका १ बजार छपकैयामा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रको प्रदेश–२ का शहरी विकास मन्त्री महम्मद इस्तियाक राईनले उद्घाटन गरेका छन्।

शहरी विकास मन्त्रालय, वीरगन्ज महानगरपालिका, नगरविकास कोष र एशियाली विकास बैंकको संयुक्त लगानीमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत नव निर्मित फोहर पानी प्रशोधन केन्द्रको मन्त्री राईनले उद्घाटन गरेका हुन।

मन्त्री राईनले केन्द्र परिसरमा बृक्षारोपण गरेर पानी प्रशोधन केन्द्रको उद्घाटन तथा संचालन गरेका हुन्। वीरगन्ज महानगरका घरधुरीबाट नाला हुँदै निस्किने प्रदुषित र फोहोर पानीलाइ प्रशोधन गरि सिर्सिया नदीमा फाल्ने गरी छपकैयामा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरि विधिवत रुपमा आजदेखि सन्चालनमा ल्याइएको हो।

८ बिघा १६ कठ्ठा १० धुर क्षेत्रफलमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्रको लागत १६ करोड २९ लाख ४ हजार ६ सय ९ रुपैयाँ रहेको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताए।

प्रशोधन केन्द्रमा निर्माण गरिएका २ ठूला पोखरीमा ४ करोड ५६ लाख लिटर फोहोर पानी भण्डारण गरेर त्यहाबाट दैनिक १ करोड लिटर पानी प्रशोधन गर्न सक्ने क्षमतामा रहेको छ। वीरगन्ज महानगरमा रहेका ४ हजार ४ सय ३४ घर धुरीबाट निस्किने  फोहोर पानी, अहिले तत्कालका लागि प्रशोधन केन्द्रमा ल्याएर प्रशोधन गर्ने काम भइरहेको मेयर सरावगीले जानकारी दिए।

बाराको जितपुर, परवानीपुर हुँदै वीरगन्ज शहर भएर भारतको रक्सौलमा बग्ने सिर्सिया नदीको प्रदुषण हटाउन फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको सरावगीले बताए। संचालनमा आएकोे प्रशोधन केन्द्रबाट वर्षमा लाखौं रुपैयाँ मुल्यको प्राङ्गरिक मल पनि उत्पादन हुने उनले बताए। 

प्रतिक्रिया दिनुहोस्