युक्रेनमाथि रुसी आक्रमणको अन्तर्य



  • श्यामप्रशाद मैनाली

काठमाडौं । युक्रेनमाथि रुसको आक्रमण धेरै समयदेखिको सुनियोजित प्रयासको परिणाम हो। संयुक्त राज्य अमेरिका र यस देशसँग निकट भई गठबन्धनमा रहेका पश्चिम युरोपियन देशहरू, उत्तरी एटलान्टिक सन्धि सङ्गठन एवं युरोपियन युनियन पक्षसँग रुसी साम्यवादीहरूको अस्वस्थ प्रतिस्पर्धाको परिणाम हो।

सोभियत सङ्घको बिघटन पश्चात उक्त सङ्घमा संलग्न सबै राष्ट्रहरूलाई रुसी नियन्त्रण र प्रभावमा राखी अघि बढ्ने साम्राज्यवादी सोचको उपज हो। विश्व राजनीतिमा रुस र पश्चिमा राष्ट्रहरूमध्ये को अग्रस्थानमा प्रभावी बन्ने ? सोचमा आधारित बन्दै कार्यान्वयनमा आएका आफ्नाआफ्ना रणनीतिले ल्याएको परिणाम हो ।

युक्रेनीहरू लामो समयदेखि सांस्कृतिक, राजनीतिक, आर्थिक दृष्टिकोणबाट आपसमा घनिष्ठ रूपमा सम्बन्धित छन्। युक्रेनी भू–भाग क्रिमियाले ईयू र नेटोसँग सम्बन्ध विस्तार गर्दै गएको रुसले अनुभूति गर्नासाथ सन् २०१४ मै त्यस क्षेत्रमाथि आक्रमण गरेर आफ्नो नियन्त्रणमा लिइसकेको हो।

युक्रेनको भौगोलिक अवस्थिति र अन्य कारणहरूले गर्दा सुरक्षाको मामिलामा विश्वव्यापी प्रभाव पार्न सक्ने रणनीतिक महत्वको देश भएकाले पनि यसलाई विश्व शक्तिहरूले आफ्नो पक्षमा आवद्ध गराउने प्रतिस्पर्धा गरेका हुन्। रुसको पटकपटकको सैन्य आक्रमण र अन्य कठिनाइसँग सामना गर्न पश्चिमाहरूले गर्दै आएको समर्थन र सहयोगका कारण पनि युक्रेन यो पक्षसँग निकट बन्न पुगेको छ।

यो देश तत्कालीन सोभियत सङ्घ र रुसको केन्द्रविन्दुका रूपमा अवस्थित छ। संयुक्त राज्य अमेरिकाले धेरै प्रकारले यसलाई उपयोग गर्न सक्ने र यस देशसँग सम्बन्ध सुधार गर्दा आफ्नो देश लाभान्वित हुने निष्कर्ष शीतयुद्धकालीन समयदेखि गर्दै आएको हो।

सोभियत गणतन्त्रका १५ वटा राज्यहरूमा दोस्रो सबैभन्दा शक्तिशाली क्षेत्रका रूपमा युक्रेन स्थापित छ। त्यस क्षेत्रको कृषि उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा रहेको छ। आणविक हातहतियार उत्पादनका हिसाबले समेत महत्वपूर्ण छ। रुसले आफ्नो सार्वभौमसत्तामाथि प्रहार गरिरहँदा स्वतः पश्चिमा लोकतान्त्रिक शक्तिसँग यो देश नजिक हुँदै जाने अवस्था सिर्जना भएको छ।

रुसले युक्रेनमाथि आक्रमण गर्नुको अभीष्ट वर्तमान राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीलाई सत्ताच्युत गरेर रुसी समर्थक राष्ट्रपतिलाई उक्त देश जिम्मा लगाई आफूअनुकूल परिचालन गर्नु हो ।

युक्रेनलाई आफ्नो नियन्त्रण र प्रभावबाट मुक्त गरेर पश्चिमा शक्तिहरूको प्रभावमा पर्न दिनु भनेको अन्तर्राष्ट्रिय क्षेत्रमा रुसको प्रभावलाई निस्तेज गर्दै जाने अवस्था सिर्जना हुनु हो भन्ने निष्कर्ष रुसीहरूको हो। यसैबाट निर्देशित भएर रुसले सैन्य बलको प्रयोग गरेर बलात् रूपमा युक्रेनमाथि नियन्त्रण गर्न अघि बढेको अवस्था छ ।

युक्रेनलाई रुसी प्रभावमा राख्नुपर्ने कारणहरू

सर्वप्रथम सन् १९५४ मै सोभियत सङ्घका नेता ख्रुस्चेवले क्रिमियाको सम्पूर्ण भू–भाग युक्रेनमा गाभिदिने काम गरे। युक्रेनमा युक्रेनीहरू र रुसीभाषीहरूका बीच अत्यन्त मित्रवत् र सौहाद्र्रपूर्ण सम्बन्ध रहोस् भने उनको सदिच्छा थियो । सोभियत सङ्घको बिघटन भयो। युक्रेनले अलग राष्ट्रको हैसियत प्राप्त गरेपश्चात् यी २ भाषीहरूका बीचको सौहाद्र्रतामा सङ्कुचनको अवस्था सिर्जना हुँदै गयो।

क्रिमियालगायतका स्थानहरूमा बसेका रुसीभाषीहरूको झुकाव युक्रेनभन्दा ज्यादा रुसतर्फ देखिँदै गयो। उनीहरू रुसमै फर्किने सोच बनाउन थालेका थिए । यी २ समूहहरूका बीचमा देखिएको द्वन्द्वमा रुसले हस्तक्षेपको नीति अवलम्बन गर्न थाल्यो । यसै छिद्रलाई आधार बनाएर प्रतिस्पर्धी शक्तिका रूपमा पश्चिमाहरूले पनि युक्रेनीहरूलाई साथ र सहयोग दिँदै गए ।

यस प्रकार स्पष्ट २ धारको अवस्था नागरिकहरूमा देखियो। ब्ल्याक सीमार्फत ठूलो व्यापारिक केन्द्रका रूपमा सञ्चालन भइरहेको सभास्तोपोल बन्दरगाह अर्को आकर्षण रहेकाले पनि युक्रेनमा दुवै समूहहरूको चासो रहेको देखिन्छ। दोस्रो कुरा, युक्रेनसँगको व्यापारमा रुसलाई धेरै फाइदा भइरहेको छ।

रुसको एकल बजारका रूपमा रहेको ईयूमा मात्र युक्रेनको व्यापारलाई सीमित राखेर एकाधिकार कायम गर्ने सोच रुसमा देखियो । तर, यस अवस्थाबाट रुसले फाइदा लिन नसक्ने अवस्था सिर्जना भयो, किनकि चीनले युक्रेनलाई व्यापारिक साझेदार बनाएर धेरै फाइदा लिँदै आएको छ । रुसले भन्दा चीनले धेरै फाइदा लिँदै जाँदा यसको अवस्था रुसका लागि अझै नाजुक बन्दै जाने प्रष्ट भएको स्थिति छ ।

पुरानै अवस्थामा रुस आफ्नो स्थिति मजबुत बनाउन चाहन्छ । यसका लागि स्वतन्त्र देश युक्रेनले आफूखुसी निर्णय गर्ने भएकाले सम्भव भएन। तसर्थ, आफ्नो निर्देशनमा काम गराउन सकिने सरकार युक्रेनमा हुनुपर्ने रुसको सोचले काम गर्दै आएको छ । सोहीअनुरूप नीतिहरू तय गर्ने काम रुसले गर्दै जाँदा यो अवस्था सिर्जना हुन पुगेको हो ।

तेस्रो हो, रुसले युक्रेनमार्फत आफ्ना पाइपलाइनको सञ्जाल खडा गरेर मध्ययुरोप र पूर्वी युरोपमा ग्यास निर्यात गरिआएको छ। यो सुविधा उपभोग गरेबापत अर्बौं डलर ट्रान्जिट शुल्क रुसबाट युक्रेनले प्राप्त गर्छ। यी २ देशहरूका बीचको सम्बन्ध नराम्रो हुँदै गर्दा पनि रुसले युरोपमा अधिक मात्रामा ग्यास पठाउने योजना गरिरहेको थियो ।

नर्ड स्ट्रिम २ पाइपलाइन बाल्टिक सागरदेखि जर्मनीसम्म पठाउने योजना बनाएको हो । तर, युक्रेनमाथि आक्रमण गरेपश्चात् जर्मनीले उक्त तेल आपूर्ति गर्ने लाइन नै बन्द गरिदिएको छ । यसबाट पनि रुसलाई ठूलो ब्यापार घाटा भइरहेको छ । युक्रेन क्षेत्रको महŒव यस कारणले गर्दा अत्यधिक देखिएको छ।

चौथो कारण हो, पहिलेको सोभियत सङ्घसँग संलग्न रहेका सबै राष्ट्रहरूमा राजनीतिक प्रभाव र नियन्त्रण कायम गर्ने गुरुयोजना मस्कोले बनाएको छ । तर, सबैभन्दा महत्वपूर्ण देखिएको युक्रेनमै आफ्नो नियन्त्रण विस्तारै गुमाउँदै गएको छ। अरेन्ज, रोज र टुलिप जस्ता क्रान्तिकारी अभियानबाट रुसलाई घाटा परेको छ। दुवै देशहरूका बीच सम्बन्धमा तिक्तता आएको छ। यो नियन्त्रण पुनः कायम गर्ने पुटिनको अभीष्ट हो।

पाचौँ हो, विस्तारै युक्रेनको रुससँगको सम्बन्ध तोडिँदै जाने लक्षणहरू देखिँदै गए। पश्चिमा शक्तिप्रतिको युक्रेनी आशक्ति आफ्नो सार्वभौमसत्ताको संरक्षणका लागिसमेत अनिवार्य बन्दै गयो। रुसको स्वार्थमा तुषारापात हुने स्थिति प्रष्ट हुँदै गयो । ईयूमा अनिवार्य रूपमा संलग्न गराई आफ्नै इसारामा सबै प्रकारका कारोबारहरू गर्न लगाउने पुटिनको योजना हो।

क्रिमियामा रहेका रुसी मूलका मानिसहरूलाई पनि पश्चिमा आधिपत्य युक्रेनमा कायम हुँदा असहज अवस्था बन्ने आँकलन रुसले गरिरहेको छ। यही कारणले गर्दा पुटिनले क्रिमियामाथि आक्रमण गर्न आदेश गरे। यस घटनापछि क्रिमिया र दोनबास क्षेत्रमा पृथक्तावादी आन्दोलनले उग्र रूप लिँदै गएको थियो ।

यस घटनाको जिम्मेवारी रुसले लिएन तर यो द्वन्द्व क्षेत्रमा सैन्य तैनाथ गरी नियन्त्रणमा लिई स्वतन्त्र राष्ट्रको मान्यता रुसले दिएको थियो। पश्चिमा शक्तिले यस घटनाको भत्र्सना गर्दै युक्रेनी भू–भागका रूपमा मान्यता दिइरहेको छ। यही कारणले गर्दा पनि रुस आफ्नो गन्तव्यको प्राप्तिका लागि व्यग्र छ।

छैटौँ हो, रुसले संयुक्त राज्य अमेरिका र नेटोलाई आफ्नो प्रतिबद्धताविपरीत कार्य गरेको आक्षेप लगाउँदै आएको छ । सन् १९९० मा सोभियत सङ्घ विघटन हुँदैको समयमा नेटोले पूर्व सोभियत युनियनसँग आबद्धता दिएका राष्ट्रहरूलाई आफ्नो सङ्गठनमा सदस्यता नदिने वचन दिएको हो । त्यसबाट पछि हट्दै वार्सा प्याक्टमा आबद्ध भएका सदस्यहरूलाई नेटोले सदस्यता दिई क्षेत्र विस्तार गर्दै आएको छ।

रुसलाई असहज अवस्था बनेको स्थितिमा यो कदमलाई रुसले अत्यन्त पीडादायी र विश्वासघातका रूपमा लिँदै आएको छ। सातौँ हो, युक्रेनी भू–भागमा आक्रमण गर्नुपूर्व रुसले केही सुरक्षासम्बन्धी मागहरू पश्चिमा गठबन्धनहरूसँग राखेको थियो । उनीहरूले नयाँ सदस्यता दिने कार्य बन्द गर्नुपर्ने, नेटोका कार्यहरू गर्दा र यसको शक्तिको उपयोग गर्दा रुसको अनुमति लिनुपर्ने, युरोपबाट अमेरिकी आणविक हतियारहरू हटाउनुपर्ने आदि रुसका मागहरू थिए ।

यद्यपि, रुसका यी सबै मागहरू जायज नभएको निष्कर्ष पश्चिमा गठबन्धनले निकाली कुनै पनि राष्ट्रहरूले नेटो र ईयूको सदस्यताका लागि आवेदन गरेका र उपयुक्त देखिए सधैँ सदस्यता दिइने प्रष्ट पारेको थियो । यसबाट रुस अझै हतास भएको अवस्था थियो । यी सबै घटनाक्रमहरूबाट युक्रेन आफ्नो आधिपत्यबाट नेटो गठबन्धन राष्ट्रसँग नजिकिएको र यसले रुसलाई अप्ठ्यारोमा पार्ने भएकाले आक्रमण गरेको तर्क गर्दै आएको छ ।

युरोपियन र अमेरिकी नीति
यो गठबन्धन रुसलाई त्यहाँबाट पछि हटाई युक्रेनको सार्वभौमसत्ता कायम गर्न लागिपरेका छन्। उनीहरूले रुसी आक्रमणबाट युक्रेनसँग छुट्टिएको घोषणा गरी रुसले मान्यतासमेत दिइसकेका क्रिमिया, दोनेस्तक, लुहान्सकसमेतलाई मान्यता दिएका छैनन्।

अनिच्छित र अमानवीय प्रकारले रुसी आक्रमणबाट बलात् छिनिएका यी सबै क्षेत्रहरू र युक्रेनमाथि भएको वर्तमान समयको आक्रमणसमेतको वार्ताद्वारा शान्तिपूर्ण समाधान निकाल्नुपर्ने पक्षमा पश्चिमा गठबन्धन रहेको छ । यो उद्देश्य प्राप्तिका लागि युक्रेनलाई दिइने सबै प्रकारका सहयोग वृद्धि गरिरहेको छ ।

कूटनीतिक समाधानको विकल्प उनीहरूले देखेका छैनन्। एक भएर रुसलाई दण्डित गर्नुपर्ने सन्दर्भमा दृढ छन्। अमेरिकी सैनिकले सबै प्रकारका तालिमहरू युक्रेनी सैनिकहरूलाई प्रदान गरिरहेका छन्। नेटो र ईयूले सबै प्रकारका सहयोगहरू र हतियारसमेत प्रदान गर्दै आएका छन्।

प्रायः विश्वभरका लोकतन्त्रवादीहरूले रुसविरुद्ध व्यापारिकलगायतका प्रतिबन्धहरू लगाएका छन् । विश्वव्यापी रूपमा रुसी बैंकहरूले गर्दै आएको कारोबारमा प्रतिबन्ध लगाएको अवस्था छ। अनलाइनमार्फत गरिने कार्यहरू, जसलाई स्विफ्ट भनिन्छ, त्यसमा समेत रसियन बैंकहरूले कारोबार गर्न नसक्ने भएका छन् । वैदेशिक मुद्राको सञ्चितिको अवस्था कमजोर बनाउन रुसको केन्द्रीय बैंकलाई कालो सूचीमा राखिएको छ।

रुसको ज्यादतीका विरुद्ध विश्वव्यापी समर्थन यी देशहरूले पाइरहेका छन् । पेट्रो पेसेको नाम एक व्यापारी घरानाको व्यक्ति युक्रेनको राष्ट्रपति बनेपश्चात् युक्रेनलगायतका रुसी आबद्धता भएका देशहरूलाई नेटो र ईयूको सदस्यता लिन नदिन दबाब दिने नीति अख्तियार गरेका थिए ।
यिनी जेलिन्स्कीबाट सन् २०१९ मा परास्त भए । यस निर्वाचनमा ब्याप्त भ्रष्टाचार र तानाशाहीतन्त्रको विरुद्ध निर्णय आएको थियो । युक्रेनी नागरिकहरूमध्ये ५० प्रतिशत नेटो र बाँकी ५० प्रतिशत ईयूको सदस्यता लिने पक्षमा जनमत आएको थियो ।

यसमा रुसले नियन्त्रणमा लिएको दोनवास क्षेत्र र क्रिमियालाई समावेश गरिएको थिएन । यसबाट रुस र पश्चिमा गठबन्धनका बीचको द्वन्द्वले सीमा नाघेको अवस्था देखिएको थियो । वर्तमान समयसम्म युक्रेनलाई इमान्दारीसाथ सहयोग यी देश र सङ्गठनहरूले गरिरहेका छन् ।

यी दुवै देशहरू हार्ने युद्ध लडिरहेका छन् । पश्चिमा लोकतान्त्रिक शक्तिहरूले साम्यवादी आधिपत्य समाप्त गर्न युक्रेनलाई सहयोग पु¥याइरहेका छन् । शीघ्र विजय प्राप्त गर्ने गरी योजना गरिएको पुटिन प्रयास दीर्घकालीन युद्धका रूपमा परिणत भएको छ । यस युद्धले भियतनाम र अफगानिस्तानको आकार लिने विश्लेषण युद्ध विज्ञहरू गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्