कर्जा बिग्रिएपछि बैंकले सकारे करिब ६ अर्बको सम्पत्ति



काठमाडौं :  कर्जा खराब भएपछि बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ७१ करोडको पुगेको छ । गत आर्थिक वर्षमा थप १ अर्बबराबरको सम्पत्ति स्विकारेपछि बैंक तथा वित्तीय संस्थाको यस्तो सम्पत्ति करिब ६ अर्ब पुगेको हो । कर्जा असुली नभएमा बैंकहरूले धितो बेचबिखन गरी उठ्न बाँकी साँवा र ब्याज असुल गर्न सक्ने व्यवस्था छ । कर्जा उठाउन बैंकहरूले धितो लिलामी गर्दा बिक्री नभएमा आफैंले सकार्नुपर्छ । यसरी सकारेको धितो नै गैरबैंकिङ सम्पत्ति हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विजयराज खनालले लेखेका छन् । 

खराब कर्जा घट्दै गैरबैंकिङ सम्पत्ति बढ्दै 

२९ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा अघिल्लो आवमा कुल कर्जाको औसत १.४५ प्रतिशत रहेकामा गत आवमा घटेर १.३५ प्रतिशत छ । बैंकहरूको निष्क्रिय कर्जा औसतमा घटेको देखिए पनि यस्तो कर्जा खराबमा परिणत हुने दर भने बढेको यसले देखाउँछ । निष्क्रिय कर्जा घटिरहेको तर गैरबैंकिङ सम्पत्ति बढ्नुले राम्रो सन्देश नदिएको बैंकरहरू बताउँछन् । ‘गैरबैंकिङ सम्पत्ति बढ्नु भनेको कर्जा लिँदा पेस गरेको परियोजना सफल हुन नसकेको भन्ने देखिन्छ,’ पूर्वबैंकर अजय श्रेष्ठ भन्छन्, ‘तर, कर्जा बिग्रिएपछि लिलाम गर्दा पनि त्यो सम्पत्ति नबिक्नु भनेको धितोको गुणस्तरमा समेत यसले प्रश्न उठाउँछ ।’ 

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले १ देखि ३ महिनासम्म कर्जाको भाका नाघेमा सूक्ष्म निगरानीमा राख्नुपर्छ । ६ महिनासम्म भाका नाघेमा कमसल कर्जा, १ वर्षसम्म भाका नाघेमा शंकास्पद कर्जा र १ वर्षभन्दा बढी भाका नाघेमा खराब कर्जाका रूपमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । 

राष्ट्र बैंकका अनुसार  गैरबैंकिङ सम्पत्तिको विषयमा अहिले नै चिन्ता गर्नुपर्ने अवस्था छैन । ‘कम्पनीहरूको चुक्ता पुँजी र अन्य सम्पत्तिसमेत बढेकाले गैरबैंकिङ सम्पत्तिमा केही वृद्धि हुन सक्छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी भन्छन् । 

दुई–चार वर्षदेखि उठ्न नसकेका कर्जाहरू नै गैरबैंकिङ सम्पत्तिका रूपमा देखिन्छ । त्यसैले तीन वर्षअघि बैंकहरूमा गरिएको चुक्ता पुँजीका आधारमा नै यसलाई हल्का रूपमा लिन नहुनेसमेत सरोकारवाला बताउँछन् । यस्तो सम्पत्ति बढ्नुले बैंकहरूको पुँजी प्रतिफल नआउने क्षेत्रमा फसेको संकेत गर्छ । बैंकहरूले गैरबैंकिङ सम्पत्तिमा देखाएको रकमबराबर नै प्रावधानका रूपमा कोषमा राख्नुपर्छ । 

गैरबैंकिङ सम्पत्ति कुनै न कुनै समयमा बिक्री भएर बैंकको कर्जा असुल भने हुन सक्छ । तर, यस्तो सम्पत्ति बढ्दै जाँदा भने बैंकिङ क्षेत्रको कर्जा लगानी सही हुन नसकेको संकेत गर्छ ।

वाणिज्य बैंककै ४ अर्ब ५५ करोड 

गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै वाणिज्य बैंकहरूमा वृद्धि भएको छ । यी बैंकहरूको यस्तो सम्पत्ति गत वर्ष ३४ प्रतिशत बढेर ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो । विकास बैंकहरूको ५.६ प्रतिशतले बढेर ६२ करोड र वित्त कम्पनीहरूको भने ६ प्रतिशतले घटेर ५३ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । 

गत वर्षहरूमा बैंक तथा वित्तीय संस्थाहरूमा भएको मर्जर तथा प्राप्तिका कारणसमेत वित्त कम्पनी र विकास बैंकको तुलनामा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति बढेको हुन सक्ने बैंकरहरू बताउँछन् । यद्यपि, समग्र बैंक तथा वित्तीय संस्थाहरूकै यस्तो सम्पत्ति बढ्नुमा भने थप कर्जाहरू खराब भएको र धितो बिक्री गरेर पनि असुल हुन नसकिरहेको स्पष्ट हुन्छ । ‘यो चिन्ताजनक अवस्था होइन, यस्तो सम्पत्ति पनि कुनै न कुनै समय बिक्री भएर असुल हुन्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, ‘यद्यपि, यसरी यस्तो सम्पत्ति बढ्नुले सचेत हुनुपर्ने अवस्था भने आएको देखिन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्