अघिल्लो सालको भुकम्पले भत्किएका लमजुङका घर पुननिर्माणमा अन्योल



लमजुङ । लमजुङमा गतवर्ष गएको भूकम्पले क्षति पुगेका घरहरूको पुनर्निर्माण अन्योलमा परेको छ ।  गत जेठ पहिलो साता गएको भूकम्पबाट यहाँका ५० घर पूर्णरुपमा भत्किएका थिए भने अन्य कयौं घरमा क्षति पुगेको छ । घर भत्किएका पीडित परिवार भने सरकारले घर बनाइदिने आशामा छन् । तर, सरकारको भने कुनै छैन् ।

गत ५ जेठमा  मर्स्याङ्दी गाउँपालिका, भुलभुले केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव ८ म्याग्निच्युटको भूकम्पले यहाँका दुई हजारभन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । 

मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाअन्तर्गत दुई हजारभन्दा बढी घरमा क्षति भएको भनिए पनि जिल्ला विपद् व्यवस्थापन समितिमा भने एकिन तथ्यांक छैन ।

भूकम्पबाट क्षति भएका घरहरूको विवरण संकलन गर्ने र तत्काल राहत तथा पुनर्निर्माणका लागि पहल गर्न विपद् व्यवस्थापन समितिले निर्णय गरेको थियो । क्षतिको विवरण संकलनका लागि सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी सिआरएस नामक गैरसरकारी संस्थाले जिम्मा लिएको थियो ।

संस्थाले सम्बन्धित स्थानमा पुगेर प्राविधिकको सहयोगमा क्षतिको विवरण संकलन गरिसकेको जनाएको छ । तर, संस्थाले संकलन गरेको विवरण जिल्लास्थित विपद् व्यवस्थापन समितिमा नआएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

संस्थाले संकलन गरेको विवरण सिधैँ मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन केन्द्रमा पठाएको तर विपद् व्यवस्थापन समितिमा बुझाउन नमिल्ने जवाफ पाएको प्रजिअ वैद्यले बताए । 

भूकम्पले तीन वटा स्थानीय तहमा दुई हजारभन्दा बढी घरमा क्षति पुगेको विवरण केन्द्रमा पठाएको छ । तर, के कस्तो क्षति भन्ने एकिन तथ्यांक जिल्लास्थित समितिमा नआएको प्रजिअ वैद्यको भनाइ छ । भूकम्पले क्षति पुर्‍याएका घरमध्ये पुनर्निर्माणका लागि ५० घर सोही संस्था सिआरएसले जिम्मासमेत लिएको छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिले पूर्णक्षति भएका ५० घर प्राथमिकताका आधारमा पुनर्निर्माणका लागि संस्थालाई जिम्मा दिने लिखित निर्णय भए पनि संस्थाले पुनर्निर्माण सुरु गर्न सकेको छैन । सो बाहेकका घर पुनर्निर्माणमा केन्द्रबाट नै कुनै परिपत्र नआएकाले कहिले सुरु हुने भन्ने अन्योल रहेको लमजुङ प्रशासनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्