जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु



सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिका–५, गेरवानीमा जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका राम बहादुर चन्द र कवि वलीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो।

उनीहरूको शव घरदेखि करिब ५ सय मिटरको दुरीमा फेला परेको प्रहरीले जनाएको छ। बिहान करिब ८ बजे घाँस काट्न निस्किएका दुवै जना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरी चौकी बबईमा खबर गरेका थिए।

आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बबईमा खटिएको देवदत्त गण र स्थानीयवासीको संयुक्त टोलीले दुवै जनालाई जङगली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

मृतक रामबहादुर चन्दको पेट र कवि वलीको घाँटीको भागको मासु खाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ। उनीहरूलाई कुन जनावरले आक्रमण गरेको हो भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्