गुमनाम आनी छोइङ, प्रधानमन्त्री र आनीको ‘कनेक्सन’ 



काठमाडौं : ‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित भएकी आनी छोइङ डोल्मा यतीखेर गुमनाम छिन् ।

प्रायजसो चर्चामा रहने आनी अहिले  उनी कहाँ छिन्, के गर्दै छिन्, कुन अवस्थामा छिन् कसैलाई थाहाँ छैन । अर्थात् न त समाजसेवा मार्फत सार्वजनिक रुपमै चर्चामा छन्, न त साङ्गीतिक क्षेत्रमै ।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट जनमानसको मनमा बस्न सफल भएकी आनी किन एकाएक गुमनान भइन् त ? सबैका लागि चासो र चर्चाको विषय बनेको छ ।

आनी सामान्य व्यक्तिको जिवनभन्दा फरक खालका हुन्छन् । आफ्नो सांस्कृतिक र धार्मिक महत्वलाई झल्काउदै नेपाली साङ्गीतिक क्षेत्रमा उदाएकी आनी ‘फूलको आँखामा फूलै संसार’ बाट गीत गाएर सबैको मन त लोभ्याइन लोभ्याइन, चर्चाको शिखर पनि चुमिन् ।  त्यससँगै सामाजिक क्षेत्रमा पनि सहयोगी हातहरु फैलाएकी आनी अहिले एकाएक गुमनाम छन् ।

आनीको यात्रा 

सानो उमेरमै आफ्नै बाबुबाट शारीरिक शोषण र हिंसा सहन बाध्य भएकी आनी सन् १९७१ मा काठमाडौंमा जन्मिएकी थिइन् ।

एक तिब्बतीयन शरणार्थी परिवारमा जन्मेकी आनी पटक–पटक बाबुबाटै शारीरिक शोषण हुन थालेपछि १३ वर्षकै उमेरदेखि नागी गुम्बामा बस्न थालेको स्वयम बताउछिन्

बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका आनीले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरुलाई पढाउँछिन् ।

बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए । यससँगै आनीको सांगीतिक आकाशमा प्रवेश भएको हो ।

आनीको स्रोत नखुलेको कालो धन !

आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर नेपाल भित्र्यपछि उनी विवादमा तानिइन् । उनले यति धेरै सम्पत्ति नेपाल भित्र्यापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान गर्न सुरु भएको थियो । यसपछि एकपटक सबैका आँखा आनी तिर सोझिए ।

स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान शुरु भयो ।

विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारीसमेत नदिई उनले करिब २० करोड रुपैयाँ नेपाल भित्र्याएकी थिइन् । पछि फेरी १८ करोड रकम नेपाल भित्र्याउन खोजेपछि राष्ट्र बैंकले रोकेको थियो । आनीको बैंक खातामा तीनपटक रोक्का समेत भएको राष्ट्र बैंकले बताएको छ ।

अनुसन्धान हुने क्रममा रोक्का नभएको रकम भने उनले प्रयोग गरिसकेकी थिइन् ।

विदेशबाट नेपाल रकम भित्र्याउँदा अनुमति लिनुपर्ने निकायलाई जानकारी नदिई आनीको खातामा हङकङका नागरिक लियाङ, चुङ, हाङ र जियोरीले पटक–पटक रकम जम्मा गरेको थियो । 

२०७५ वैशाख २७ गतेपछि आनीको नाममा रहेको मेगा बैंकको ००१००५००३९४२४ नम्बरको खातामा आएको सबै रकम राष्ट्र बैंकले रोक्का गरी अनुसन्धान अघि बढाएको थियो । हङकङका नागरिकले वैशाख २६ गते ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर (६ करोड ४३ लाख ७७ हजार ७ सय ८) रुपैयाँ जम्मा गरेका थिए ।

त्यसको भोलिपल्टै ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर (५ करोड ९९ लाख ३७ हजार ७ सय ८) रुपैयाँ जम्मा गरे । फेरि अर्को दिन २०७५ वैशाख २८ गते ५ लाख २९ हजार ९ सय ८० अर्थात् ५ करोड ८८ लाख २७ हजार ७ सय ८० रुपैयाँ जम्मा भयो ।

अनुमति नलिई विदेशबाट निरन्तर रकम आउन थालेपछि आनीको खाता रहेको मेगा बैंकले स्रोत खुलाउन भनेको थियो । तर, आनीले स्रोत नखुलाएपछि मेगाले राष्ट्र बैंकको सम्पत्ति शुद्धिकरणबारे अनुसन्धान गर्न निकाय वित्तीय जानकारी एकालाई खाता विवरण पठाएको थियो ।

राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले केही अध्ययन गरेपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्यो । त्यस आधारमा उनीमाथि अनुसन्धान शुरु भएको हो । तर दवावका कारण एक वर्ष वितिसक्दा पनि विस्तृत अनुसन्धान प्रभावकारीरूपमा अघि बढ्न सकेन ।

विभागले एकपटक आनीसँग बयान समेत लिएको थियो । तर, प्रधानमन्त्री सचिवालयले बैंकमा रोक्का रहेका रकम खुला गरिदिन दवाव दिएको समाचार पनि बाहिरिएको थियो ।

अनुसन्धान अधिकृतहरूले अनुसन्धान थाती राखे पनि रोक्का रकम खोल्न नमिल्ने जानकारी दिएका थिए । यही कारण तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौलाको सरुवा भयो ।

प्रधानमन्त्री र आनीको ‘कनेक्सन’ 

२०६२–०६३ को जनआन्दोलनपछि बनेको सरकारको शक्तिशालि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला धेरै तनावमा हुँदा आनीलाई बोलाएर गीत सुन्थे । एक जना राष्ट्रिय व्यवसायीमार्फत आनीको प्रधानमन्त्री कोइरालासँग चिनजान भएको थियो । त्यसपछि आनी शक्ति केन्द्रसँग निकट हुँदै गइन् ।

लुम्बिनी विकास कोषको सदस्य समेत रहिसकेकी आनी त्यस यता सबै प्रधानमन्त्रीसँग निकटको सम्बन्ध राख्दै आएकी थिइन् । पछिल्ला दिनहरुमा किड्नी फाउण्डेशनलगायतका सामाजिक संघसंस्थाहरुमार्फत समाज सेवामा समेत संलग्न थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालयसँग पनि आनी निकै नजिक छिन् ।

आनीले आफ्नो रकम रोकिएको दुई महिनापछि २०७५ साउनमा प्रधानमन्त्री ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रमका लागि एक करोड रुपैयाँ सहयोग गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले तुइन विस्थापनको कार्यक्रम घोषणा गरेका थिए । नेपाल टेलिभिजनबाट प्रसारित हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उपस्थित भई आनीले एक करोड रुपैयाँ सहयोग घोषणा गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओली र सचिवालयसँग आनी नजिक भएकी थिइन् ।

बालुवाटार स्रोतका अनुसार राष्ट्र बैंकले खाता रोक्का गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आनी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । तर, त्यस विषयमा भने न प्रधानमन्त्री निवासबाट कुनै विषय बाहिर आयो न त आनीबाटै । आखिर दुईबीच के कुरा भएको थियो त्यो रहस्यमै छ ।

कतिपयको बुझाइमा, आनीले प्रधानमन्त्री ओलीसँग भेटेपछि उनी एकाएक गुमनाम भएकी थिइन् । त्यसपछि आनी सार्वजनिक रुपमा कतै देखा परेकी छैनन् ।

कहाँ छिन् आनी छोइङ डोल्मा ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि एकाएक गुमनाम भएको आनी छोइङ डोल्मा यतीखेर काठमाडौं मै रहेको खुलेको छ ।

द नेपालटपसँगको फोन सम्पर्क आनीले आफू काठमाडौं रहेको र आफ्नै काममा व्यस्त रहेको बताइन् । उनले भनिन्, ‘मेरो विभिन्न कामहरु हुन्छ । जस्तै ट्राभल्स, कन्सलटेन्सी गीत रेकर्ड लगायतका कामका साथै तारा स्कुलका अनाथ बालबालिकालाई पनि बढाउदै छु । यस्तै–यस्तै काममा व्यस्त छु ।’

हङकङबाट नाम नखुलेको सम्पत्तीबारे भइरहेको अनुसन्धानबारे सोध्दा आनी भन्छिन्, ‘यसबारे कानुनी रुपमा काम भइरहेको छ । मेरो वकिलले यस विषयलाई हेर्दै हुनुहुन्छ । र उहाँकै अनुसार काम भइरहेको छ ।’

साथै उनले आयस्रोत नखुलेको भन्ने कुरा झुठो रहेको बताइन् ।

‘हङकङबाट ल्याएको सम्पत्तिको आयस्रोत नखुलेको भन्ने कुरा झुठो हो । आयस्रोत नखुलाइएको केही पनि हैन । आयस्रोत खुलेकै हो ।’ उनले भनिन्, ‘पैसा आउनु अगाडी स्वीकृती लिनुपर्नेमा समस्या देखिएको हो ।’

तपाईले प्रधानमन्त्री ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रमका लागि एक करोड सहयोग गर्नुभयो ? साथै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पनि पुग्नु भयो । त्यसपछि तपाई सम्पर्कमा हुनुभएन भन्ने सुनिन्छ नि आखिर के हो खास कुरा भनेर प्रश्न गर्दा उनले भनिन्, ‘म सम्पर्कमै छु । नेपाल बाहिर जानु पर्ने काम हुन्छ, जान्छु । आफ्नो काम गर्छु र नेपाल फर्कन्छु । यसलाई सम्पर्कमा हुनुभएन भनेर भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्