काठमाडौंमा मनाइयो भारतको ७६ औँ स्वतन्त्रता दिवस



काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा भारतको ७६ औं स्वतन्त्रता दिवस मनाइएको छ। काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो।

भारतीय झन्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।

कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई नेरु २.६५ करोड प्रदान गर्दै सम्मान गरेको हो।

दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको जनाएको छ। कार्यक्रममा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्