मुख्यमन्त्री पोखरेलद्धारा धुर्कोट गाउपालिकाको भवन उद्घाटन 



गुल्मी : ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले धुर्कोट गाँउपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । गुल्मीका १२ वटा स्थानीय तहमध्ये सबैभन्दा आधुनिक र नयाँ पालिका भवन निर्माण गरेर धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेल उदाहरणीय बनेका छन् । 

आयस्रोतका हिसाबले निम्नमध्यम र भौगालिक हिसाबले विकासमा पछाडी परेको धुर्कोट गाउँपालिकालाई अध्यक्ष पोखरेलले जिल्लाकै नमुना र एक नम्बर पालिकाको रुपमा अगाडी बढाएका छन् । गाउँपालिका भवन मात्रै होइन गाउँपालिकाका जनताको जीवनस्तर उकास्न पनि पोखरेलले विभिन्न आयमूलक कार्यक्रमहरु सञ्चालन गरेका छन् भने बजार प्रवर्द्धनका निम्ति हाटबजारको समेत व्यवस्था गरेका छन् । जनताबीच लोकप्रिय जनप्रतिनिधिका रुपमा पहिचान बनाएका अध्यक्ष पोखरेल भने अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् । 

मुख्यमन्त्री पोखरेलले भवन उद्घाटन गर्दै विकास र समृद्धि आफुहरूको एजेण्डा रहेको बताए । मुख्यमन्त्री पोखरेलले देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानुन प्रदेश पाँचले बनाएको, विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको लगायतका काम गरेको जानकारी दिँदै संघीयता आइसकेपछि देशमा आमुल परिवर्तन भएकोले देश विकासको बाटोमा अगाडी बढेको बताए ।

यसका साथै उनले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, तीन वर्षभित्र आधारभुत खानेपानी पु-याउने, ९० प्रतिशत अनुदानमा सोलार उपलब्ध गराउने योजना रहेको बताए ।

धुर्कोट गाँउपालिकाको भवन १ करोड ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । आव २०७४/७५ मा सुरू भएको भवन निर्माण कार्य आव २०७५/७६ मा सम्पन्न भएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । भवन बनाउका लागि स्थानीयले निःशुल्क ८ रोपनी जग्गा समेत प्रदान गरेका छन् ।

स्थानीय कृष्ण प्रसाद घिमिरे, हरी प्रसाद घिमिरे, राम प्रसाद घिमिरे र गणेश घिमिरेले प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले जानकारी दिए । उद्घाटन कार्यक्रमकै अवसरमा भवन निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्