२६ वर्षपछि गाउँमा विजुली



दार्चुला : महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षिय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन भएको थियो । 

 

सो विद्युत्बाट सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले विजुली बाल्न पाएका थिएनन् । वरपरका गाउँमा यसअघि नै विजुली बलेको थियो । साहुले २०४९ सालमा विद्युतीकरणका लागि तीन पोल गाउँमा पुर्‍याएका थिए । गाउँमा पोल पुर्‍याए पनि विजुली बाल्न भने सकिएको थिएन । 

 

“ठेक्का भयो, छिमेकी गाउँमा विजुली बल्यो, नजिकैको मूल्लामा विजुली बाल्न सकिएन,” साहुले भने । छिमेकी गाउँका बासिन्दाले विजुली बालेको हेरेर चित्त बुझाउनुपर्ने अवस्था आयो । अहिले गाउँलेले नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रबाट आफैंले छ पोलमा साढे चार किलोमिटर लामो तार तानेर गाउँमा विजुली बालेका छन् । पूर्व वडाध्यक्ष प्रेमसिंह साहु सामान ढुवानी बापतको रकम आफैले तिरेको बताउछन् । 

 

मैखौलीमा डेढ महीनाअघि विद्युत् पुग्यो । मूल्लाका ६० परिवारले बल्ल बत्ति बाल्न पाए । अझै घट्टेखोलाका ३० परिवार अन्धकारमा छन् । स्थानीय सरकार बनेपछि नगरपालिकाको समन्वयमा विद्युत् बाल्न पाएको स्थानीय बासिन्दा बताउँछन् । महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्टले हालै गाउँमा विजुली बत्तिको उद्घाटन गरे । 

 

महाकाली नगरपालिका– २ का बासिन्दाले यसै वर्षदेखि टेलिफोन सेवा समेत पाएका छन् । जिल्लामा २०६४ सालमै अधिकांश क्षेत्रमा मोबाइल फोन सेवा विस्तार भएको थियो । नगर प्रमुख भट्टले छिट्टै सो बस्तीलाई सडक सञ्जालसँग जोड्ने बताए । 

प्रतिक्रिया दिनुहोस्