३ वर्षअघि निर्माण थालिएको निङ्गलाशैनी क्याम्पसको भवन अधुरै



बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–२ मा रहेको निङ्गलाशैनी क्याम्पसको भवन निर्माण कार्य अधुरै छ। २०७० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेको क्याम्पसको भवनको लागि बजेट प्राप्त नहुँदा निर्माण कार्य अलपत्र परेको हो। उक्त भवनमा अहिले इँट्टाहरूको गारो लगाउनुका साथै पिल्लर ठड्याइएकोबाहेक ३ वर्षयता अरु काम हुन सकेको छैन्।

२५ लाख रकमको लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि अधुरो रकम आएकाले निर्माण कार्यअघि बढ्न नसकेको क्याम्पसका उपप्राध्यापक कविराज भट्टले बताए।

उनले भने, ‘विश्व विद्यालय अनुदान आयोगबाट उक्त भवनका लागि २५ लाख रुपैयाँ आउनुपर्नेमा १२ लाख ५० हजार मात्रै प्राप्त भएको छ।

कोरोनाभाइरस महामारी सुरु भएका बेला बाँकी १२ लाख ५० हजार आउनुपर्नेमा अहिलेसम्म आएको छैन्। आयोगले माग गरेका सबै कागजात हामीले पेस गरिसकेका छौँ। प्रकृयाहरू सबै पुर्याउँदासमेत अनुदान रकम आएको छैन्। अन्य निकायबाट पनि सहयोग प्राप्त नहुँदा भवन निर्माण अधुरै रहेको हो।’

मानविकि संकायको मात्रै अध्यापन हुने निंगलाशैनी क्याम्पसको पठनपाठन अहिले निंगलाशैनी माध्यमिक विद्यालयको भवनबाट सञ्चालन भइरहेको छ।

निङ्गलाशैनी क्याम्पसको भवन केही महिनापछि पूरा हुने क्याम्पस सञ्चालक समिति अध्यक्ष रमेश बोहराको विश्वास छ। उनले भने, ‘आयोगको बोर्ड बैठकले पैसा निकासाको लागि निर्णय गरिसकेको छ। कोरोनाका कारणले पैसा आउन नसकेको भन्ने बुझिएको छ। अब काम हुन्छ होला।’

प्रतिक्रिया दिनुहोस्