पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो



लिमा : ल्याटिन अमेरिकी मुलुक पेरुमा नरबली दिइएका २२७ जना बालबालिका गाडिएको प्राचिन सामूहिक चिहान फेला परेको छ। राजधानी लिमाबाट उत्तरतर्फ रहेको हुआनचाको शहरनजिक ४ देखि १४ वर्ष उमेर समूहका २२७ बालबालिकाको सामूहिक चिहान फेला परेको हो।

कोलम्बसले अमेरिका पत्ता लगाउनुअघि हालको पेरुमा रहेको चिमू सँस्कृति मान्ने मानिसहरुले देवतालाई खुशी पार्न बालबालिकाको नरबली दिएको ‘लगभग निश्चित’ रहेको पुरातत्वविद्हरुले जनाएका छन्। पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम शुरु गरेका थिए।

सामूहिक चिहानको यो खोजलाई हालसम्मकै सबैभन्दा ठूलो खोजको रुपमा लिइएको छ। नरबली दिइएका प्रायः सबै बालबालिकाका शरीर समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका तथा कतिपयको छाला र कपाल समेत भेटिएको एएफपीले जनाएको छ। हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन्। 

पुरातत्वविदहरुले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज शहरमा सन् २०१८ मा भेटेका थिए । पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्दछ। हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्