बाल्कोनीमा बसेर योग गर्दा छैठौं तल्लाबाट खसेपछि….



एजेन्सी : मेक्सिकोमो नुएभो लीयोनमा एक महिलाले बाल्कोनीमा बसेर योग गर्दै गर्दा ८० फीट मुनि लडेकी छन्। एलेक्सा टेराजास नामक ती महिला छैठौं तल्लामा रहेको आफ्नो अपार्टमेन्टमा योग मुद्रामा रहँदा चिप्लेर भुइँतल्लामा पछारिएकी थिइन्। टेराजास चिप्लिनुअघिको तस्वीर भाइरल भएको छ।

त्यसमा उनी बाल्कोनीमा शीर्षासन गरेर बसेको अनि उनको पूरा शरीरको भार रेलिङमा परेको देखिन्छ। उनी स्थानीय समयअनुसार दिउँसो १ः१० मा लडेकी थिइन् र उनलाई तत्कालै रेडक्रस र नुएभो लीयोन सिभिल प्रोटेक्सनका प्यारामेडिकहरूले प्रारम्भिक उपचार गरेका थिए। 

त्यसपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो। त्यहाँ उनको ११ घन्टासम्म शल्यक्रिया गरियो। उनको दुवै गोडा भाँचिएका छन् र हात, नितम्ब र टाउकोमा समेत चोटपटक लागेको छ।

मेक्सिकन पत्रिका एल इम्पार्सियलका अनुसार, चिकित्सकहरूले उनका भाँचिएका गोडा जोड्नुपरेकाले  टेराजास अब तीन वर्षसम्म हिँडडुल गर्न सक्ने छैनन्। टेराजासले बाल्कोनीमा बसेर खतरनाक योग गरेको आफूहरूले देखेको उनका छिमेकीहरूले बताए। बाल्कोनीको रेलिङको जाँच गर्दा कुनै समस्या नरहेको पाइयो।

प्रतिक्रिया दिनुहोस्