दुलाहा ८३ वर्षका, दुलही २७ वर्षकी !



एजेन्सी : प्रेममा उमेर हेरिँदैन भनिन्छ। इन्डोनेसियामा यो आहान चरितार्थ भएको छ। त्यहाँ ८३ वर्षका एक दुलाहा र २७ वर्षकी दुलही विवाहबन्धनमा बाँधिएका छन्। दुलाहाको नाम सुदरगो हो र दुलहीको नूरानी।

उनीहरूको भेट एक महिनाअघि भएको हो। नूरानी अवसादको सामना गरिरहेकी थिइन् र त्यसबाट मुक्त हुन उनका पिताले सुदरगोसँग सहायता लिएका थिए। सुदरगोसँग केही समय बिताएपछि नूरानी पहिलेभन्दा राम्रो अनुभव गर्न थालिन् र उपचारका लागि उनलाई घरमा बोलाउन थालिन्।

उपचारका क्रममा दुईजनाबीच बाक्लै कुराकानी हुन थाल्यो। नूरानीले सुदरगोलाई फोन गरेर बोलाउन र गफ गर्न थालिन्। दुवैजना निकै नजिकिएपछि नूरानीले सुदरगोलाई विवाहको प्रस्ताव राखिन्।

उनले प्रस्ताव माने। उनीहरूबीच १० दिनअघि विवाह भयो। नूरानीले भनिन्, ‘मानिसहरू मलाई यति बूढो मानिससँग किन विवाह गरेको भनी सोध्छन् तर मलाई यिनै हजुरबुवा प्रिय लाग्छन्।’

प्रतिक्रिया दिनुहोस्