राजनीति र नेतृत्वले बिगारेको चेस



काठमाडौं । विवेक थिङ नेपालका शीर्ष वरीयताका चेस खेलाडी हुन् । उनको रेटिङ छ-२ हजार २६०। तर, विश्व वरीयतामा उनी १२ हजार ४४४औँ स्थानमा छन् ।

गत २८ जुलाईदेखि ९ अगस्टसम्म भारतको चेन्नईमा सम्पन्न ओलम्पियाडसहितको कंग्रेसमा विश्वभरबाट १४ जनाले ग्रान्डमास्टर (जीएम)का लागि आवेदन दिए । सो कंग्रेसमा ४४ जनाले अन्तर्राष्ट्रिय मास्टर (आईएम)का लागि आवेदन दिएका छन् ।

विश्वमा अहिलेसम्म ९१ देशमा कम्तीमा १ जीएम छन् । १२१ देशमा कम्तीमा १ आईएम छन् । विश्वभर १ हजार ७०० भन्दा बढी जीएम छन् भने ३ हजार ८०० भन्दा बढी आईएम छन् । नेपालमा २ छिमेकी देशको स्तर पनि कम छैन । विश्व वरीयताको तेस्रो स्थानको चीनमा ४८ जीएम तथा ३९ आईएम छन् ।

चौथो वरीयताको भारतमा ६४ जीएम र ११४ आईएम छन् । विश्व वरीयतामा १२१औँ स्थानको नेपालले भने अहिलेसम्म जीएम र आईएम उत्पादन गर्नु त के कल्पना गर्न सक्ने आधार पनि तयार पारेको छैन । नेपालको पुरानो खेलमध्येको चेसमा यो हविगत साँच्चै आश्चर्यजनक छ ।

नेपाली चेसलाई नजिकबाट नियालिरहेका १ विश्लेषक भन्छन्, ‘वर्तमान परिवेशमा हाम्रो देशमा कुनै जीएम या आईएमको सम्भावना छैन, न त कुनै उपलब्धिको सम्भावना छ ।’ प्रायोजकको अभाव र कमजोर भौतिक पूर्वाधार मात्र होइन, स्पष्ट नीति र दृष्टिकोणको अभावमा चेसले फड्को मार्न सकेको छैन।

खेलको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता नदेखिनुमा नेतृत्व मुख्य कारक मान्छन् चेस खेलाडी। चेस खेलाडीहरूको संस्था नेपाल बुद्धिचाल सङ्घभित्रको विवाद र राजनीतिक हस्तक्षेपका कारण पछिल्ला दिन नेपालका चेस खेलाडीको स्तर घट्दो अवस्थामा छ।

मकवानपुर बुद्धिचाल सङ्घको अधिवेशनमा पार्टीका कार्यकर्ता बोलाएर खेलाडीलाई बेवास्ता गरिएको भन्दै एसियन एमेच्योरको उपाधि जितिसकेका क्यान्डिडेट मास्टर कृष्ण थापाले त्यसबेलै असन्तुष्टि जनाएका थिए । अन्य थुप्रै जिल्लामा पनि खेलमा कुनै सरोकार नै नभएका पार्टी कार्यकर्ता लगेर अधिवेशन गराइएका थुप्रै उदाहरण छन् ।

यसको पछिल्लो उदाहरण ललितपुर जिल्ला अधिवेशन पनि हो। पदलोलुप प्रवृत्तिका कारण करिब २ दशकदेखि सङ्घमा आबद्ध भए पनि पद छाड्न नचाहनेको ठूलै समूह छ। निजी क्षेत्रबाट हुनेबाहेक सङ्घ आफैँ प्रतियोगिता गर्नसमेत असमर्थ देखिँदै आएको छ । गएको १ दशकमा बुद्धिचाल सङ्घले आफ्नै पहलमा २ पटक मात्र राष्ट्रिय च्याम्पियनसिप आयोजना गरेको छ।

खेलकुद परिषद्ले गर्ने राष्ट्रिय च्याम्पियनसिपबाहेक सङ्घले अन्य कुनै च्याम्पियनसिप आयोजना गर्ने गरेको छैन। सङ्घले १ दशकयता खुला च्याम्पियनसिपको आयोजनासमेत गर्न सकेको छैन । अहिलेसम्म सङ्घको कार्यालयसमेत छैन।

सङ्घमा लगातार २ दशकसम्म नेतृत्व तहमा बसेका पदाधिकारी र सदस्यले अझै यसको नैतिक जिम्मेवारीसमेत लिन नसकेको भन्दै खेलाडीहरू असन्तुष्ट छन् । चेसको अन्तर्राष्ट्रिय प्रतियोगिता छनोट मापदण्डसमेत अझै बनेको छैन।

१ पुराना चेस खेलाडी बेथितिकै कारण यसो भएको बताउँछन् । प्रतियोगिता आयोजना, प्रशिक्षण र अन्य गतिविधिमा सक्रिय हुनेहरूको सङ्घको नेतृत्वमा खासै उपस्थिति छैन। नेपालमा रेटेड खेलाडी ४०० भन्दा बढी छन् तर उनीहरूको हैसियत अन्तर्राष्ट्रिय स्तरमा उपाधि र टाइटलका लागि खेल्ने भने अझै बनेको छैन।

प्रतिक्रिया दिनुहोस्