बाघले मार्‍यो ४ वटा घडियाल



काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा एउटा बाघले ४ वटा घडियाल गोही मारेको छ। कसरास्थित घडियाल प्रजनन केन्द्र प्रवेश गरेको वयस्क बाघले ४ वर्ष हाराहारीका पोथी घडियाल मारेको हो।

केन्द्रको होचो पर्खाल र कमजोर तारबार नाघेर बाघले ४ मध्ये एउटा घडियाल खाएको र ३ वटालाई आक्रमण गरेर मारेको निकुञ्जले जनाएको छ। नेपालको संरक्षण इतिहासमा बाघले घडियाललाई आक्रमण गरेको यो पहिलो घटना हो। घटना गत १५ साउनको हो।

केन्द्रमा साना–ठूला ३२ वटा पोखरी छन् । केन्द्रको सबैभन्दा पल्लो छेउको ब्लकमा बाघले आक्रमण गरेको बताउँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘नेपालका लागि यो पहिलो र अनौठो घटना हो। घडियाललाई आक्रमण गरेको दिन बाघले एउटा कछुवा पनि मार्‍यो।’

केन्द्रमा २०० हाराहारी घडियाल रहेकाले यसलाई ठूलो क्षति मान्न नहुने उनको तर्क छ। २ वयस्क बाघ एकआपसमा जुधेर घाइते भएर भोकाएपछि नजिकै र सजिलो आहारा खोज्ने क्रममा घडियालमाथि आक्रमण गरेको आचार्यलगायतका विज्ञको ठहर छ।

घाइते बाघले सामान्य अवस्थामाझैँ मृग र अन्य जन्तुलाई आक्रमण गर्न नसक्दा सजिलो आहारा खोज्ने गर्छ । तारबार होचो र कमजोर हुँदा बाघले सहजै घडियाललाई आक्रमण गरेको स्वीकार्दै आचार्यले भने, ‘बाघ पसेको ब्लकमा यस्तो घटना होला भन्ने हाम्रो ठहर थिएन, घाइते बाघले नजिकको सिकार ताक्यो ।’

बाघले घडियाललाई आक्रमण गरेको यस घटनालाई अन्य संरक्षणकर्मीले पनि आश्चर्य मानेका छन् । घडियाल आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएको चितवन निकुञ्जले बाँके पठाएको छ।

चितवनमा यस्तो घटना हुन सक्नेतर्फ संरक्षणकर्मीले विगतदेखि नै निकुञ्ज अधिकारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पटकपटक ध्यानाकर्षण गराएका थिए। ‘तारजाली मर्मत गर्न धेरै पटक अनुरोध भएको हो, हाकिमहरू सुनेझैँ गर्छन् तर निकुञ्ज र विभागले खासै चासो दिएन, अहिले यस्तो घटना भयो’, विभागका एक अधिकारीले भने ।

नेपालमा मगर र घडियाल गरी २ थरी गोही पाइन्छन्। नेपालका नदी–नालामा घडियाल गोहीको सङ्ख्या बढाउन २०३५ सालमा घडियाल प्रजनन केन्द्र स्थापना भएको थियो। केन्द्रमार्फत हालसम्म १ हजार ६९२ वटा घडियाल विभिन्न नदीमा छाडिएको छ । केन्द्रले राप्ती, नारायणी, बबई, सप्तकोसी, कर्णाली, कालीगण्डकीमा घडियाल छाड्ने गर्छ ।

यस आर्थिक वर्षमा ११० वटा घडियाल विभिन्न नदीमा छाडिएको प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिए। ५–६ वर्ष पूरा भएका र करिब डेढदेखि २ मिटर लम्बाइ हाराहारीका घडियाल प्राकृतिक बासस्थानमा छाड्न योग्य मानिन्छन्।

नदीमा छाड्ने घडियाल १५ देखि २० किलो हाराहारीका हुन्छन् । विज्ञहरूका अनुसार नदीमा छाड्न योग्य ५ वर्ष हाराहारीको एउटा गोहीका लागि राज्यले १० लाख रुपैयाँ हाराहारी खर्च गर्दै आएको छ। प्रजनन केन्द्रमा ४ दशक नाघेको एउटा मात्र भाले गोही भएकाले केन्द्रका प्राविधिकले राप्ती र नारायणी नदी किनारबाट घडियालका अण्डा सङ्कलन गर्छन्।

यसरी सङ्कलन हुने अण्डाबाट बच्चा कोरल्ने र हुर्काउने गरिन्छ । गोहीलाई हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिए पनि अनुगमनका क्रममा सङ्ख्या न्यून मात्र फेला पर्ने विभागका अधिकारी बताउँछन् ।

नदीमा बढ्दो मानवीय चहलपहलले गोही जस्ता जलघरको बासस्थान अतिक्रमण र नेपालका गोही भारत जाने तर उताबाट फर्कने संरचना नहुँदा लगानी र मिहिनेतअनुसार सङ्ख्या सुधार नभएको उनीहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्