राती कोहेलपुर-सुर्खेत खण्डमा दुई पाङ्ग्रे सवारी चलाउन नपाइने



सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर-सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ । 

गत आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगङ्गा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि जिप्रका कार्यालयले सूचना जारी गरेर सो खण्डमा रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो । 

सो घटनालाई लिएर स्थानीयबासीले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिए पछि प्रशासनले रातको समयमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको जिप्रका सुर्खेतले जनाएको छ । जिप्रका सुर्खेतका अनुसार दिउँसो पनि चारपाङ्ग्रे सवारीका साथै लागेर दुई पाङ्ग्रे सवारी सुरक्षाकर्मीको निर्देशनमा मात्रै चलाउन पाइनेछ ।

आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा-५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको बन्यजन्तुको आक्रमणमा परी मृत्यु भए पछि आइतबार देखी नै आफन्तहरूले विभिन्न माग राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी ६ घन्टासम्म सडक अवरुद्ध गरेका थिए ।  

सो प्रर्दशन पछि सोमबार अबेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चारपाङ्ग्रे सवारी साधनको अगाडिपछाडि रही सञ्चालन गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस्