यातायातमन्त्रीकै गाडीमा ट्राफिकले गरे ‘ह्वील लक’



काठमाडौं : सडक तथा यातायातसम्बन्धी नीतिनियम बनाउने र त्यसको कार्यान्वयनदेखि रेखदेख गर्ने सबैभन्दा माथिल्लो निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । सोही मन्त्रालयका मन्त्री चढ्ने गाडी भने जथाभावी पार्किङ गरेको भेटिएपछि कारबाहीमा परेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने बा२झ ४८६२ नम्बरको झन्डावाला गाडी बुधबार ट्राफिक प्रहरीको कारबाहीमा परेको हो । यातायातसम्बन्धी नियम बनाउने मन्त्रीकै गाडी अनधिकृत रूपमा पार्किङ गरेको भन्दै सर्वसाधारण आक्रोशित देखिन्छन् भने कारबाही गर्ने ट्राफिक प्रहरीलाई सामाजिक सञ्जालमा धेरैले धन्यवाद दिइरहेका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेको उक्त गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाइदिएको हो । पार्किङ निषेधित फुटपाथमा रोकिराखेको मन्त्री चढ्ने गाडीमा प्रहरीले सुरुमा ह्वील लक लगाएको थियो ।

पछि गाडी चालक शिवराम थापाको लाइसेन्स लिएर १ हजार रुपैयाँ जरिमाना गराएर गाडीलाई छाडिएको थियो । ‘पार्किङ निषेधित गरिएको ठाउँमा अनधिकृत पार्किङ गरिएको पाइएपछि कारबाही गरिएको हो, जरिमाना गरेर गाडी छाडिएको छ,’ ट्राफिक प्रहरी महाशाखाले भन्यो ।यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्