जुम्लाका पर्यटकीय तथा धार्मिक स्थल मन्दिर र मष्टोमा मेला सुरू



जुम्ला । जुम्लाका पर्यटकीय तथा धार्मिक महत्व बोकेका मष्टोहरूमा मेला सुरू भएको छ। कोरोना महामारीका कारण रोकिएका मेला यसपटक भने धुमधामसँग हुने भएको छ।

चन्दननाथ नगरपालिका-४ का देवीप्रसाद सिम्खाडाका अनुसार जनैपूर्णिमाको अघिल्लो दिन मालिका चौद्धशीमा मालिका माईको पुजा गरी त्यही दिनदेखि सबै ठाउँका देवी देवताहरुको पुजाआजा सुरू हुने चलन छ।

चन्दननाथ भैरवनाथ गुठी संस्थान जुम्लाका अध्यक्ष पूर्णसिंह कठायतका अनुसार मष्टोसहितका देवताको पुजाआजा सुरू भएको हो। यस क्षेत्रमा बाह्र भाई मष्टो, बाबिरा, महादेव, भैरवनाथ, कैलाश, कालिका, मालिका, कालासिल्ला, ह्रयांग्रे लाखुडो, राहदेव, झ्यादेव, दुर्गा भवानीसहितका दर्जनौं देउताको पुजाआजा हुन्छ।

मनोकामना पूरा गर्ने, सोचेको पुग्ने भएका कारण यहाँका देवी देवता र मष्टोहरूमा भाकल गर्न आउनेहरूको घुँइचो लाग्छ। मेलाका क्रममा यहाँका मन्दिर तथा थानमा पुजा गर्ने, नयाँ ध्वजापतका लगाउने गरिन्छ।

हिमा गाउँपालिका–१ का कालासिल्लाका पुजारी वीरबहादुर शाहीले पुजाआजा अब कार्तिक पूर्णिमासम्म चल्ने बताए। जुम्ला मष्टो परम्परासहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो।

प्रतिक्रिया दिनुहोस्