
दाङ : दाङमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा लु २१ प ५३४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनामा परि प्यूठानको माण्डवी गाउँपालिका वडा नं. १ कुमलटारका २० वर्षीय कमल अधिकारी गम्भीर घाइते भएको दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए।
दाङमा प्रारम्भिक उपचारपछि गए राति नै अधिकारीलाई बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत भने हुन सकेको छैन।
त्यस्तै कारको ठक्करबाट झापाको दमकमा एक पैदलयात्री महिलाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो।
खड्का दमक–९ मा बस्दैआएकी थिइन्। बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको हो। ठक्करबाट सख्त घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।