कुनै दलसंग गठबन्धन नगर्ने सीके राउतको घोषणा



जनकपुरधाम। जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने घोषणा गरेका छन्।

मंगलबार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष डा.राउतले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने बताए। कुनै पनि दलसंग हाम्रो गठबन्धन हुँदैन, राउतले भने ‘अहिले देखि नै निर्वाचनको तयारीका जनता माझ पुग्नुस, उनीहरुको समस्या बुझ्नुस।’ यद्यपि कुनै कुनै क्षेत्रमा चुनावी तालमेल हुन सक्ने उनले बताए ।

उनले भने, ‘राष्ट्रियरुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौ, ‘केही सिटमा तालमेलको सम्भावना छ, कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौं। र त्यसबखत कुनै क्षेत्रमा पनि तालमेलको हिसाबले मिलेर उम्मेदवारी दिन सकिनेछ।’

उनले जनमत पार्टीले तराई-मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा उम्मेदवारी दिने बताउँदै उनले ५ दलीय वा ८ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्नका लागि तम्तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए।

प्रतिक्रिया दिनुहोस्