सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै



धनगढी । सुदूरपश्चिममा भदौ १ गते ओल्के पर्व मनाइँदै छ। हरेक वर्ष भदौ १ गते मनाइने यो पर्व सुदूरपश्चिमका सबै जिल्लामा मनाइने गरिन्छ। काँक्रा, भाण्टा, मुला,दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर एक आपसमा रमाइलो गर्दै ओल्के पर्व मनाइने गरिन्छ।

यो पर्व मौलिकरुपमा रामाइलोका लागि मनाइँदै आएको देखिन्छ। साउनको कालो दिनबाट मुक्त भएको खुसीयालीमा ओल्के पर्व मनाइने गरेको धनगढी-३ का सामाजिक, अगुवा तथा ज्येष्ठ नागरिक नन्दुसिंह ऐरी बताउँछन्। ‘खासगरी साउन महिनामा धेरै वर्षा हुने, जनजीवन प्रभावित बन्ने घाम नलाग्ने गरेका कारण मानिसले आउन सकिएपछि कालो महिनाको अन्यको खुसीयालीमा एक आपसमा रमाइलो गर्दै यो पर्व मनाउने गरेको पाइन्छ,’ उनले भने, ‘यसको धार्मिक महत्त्व भने त्यति छैन्।’

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा यो पर्व मनाइँदै आएकोमा पछिल्लो समय कैलाली कञ्चनपुरमा समेत पहाडी समुदायको बाक्लो बसोबास भएपछि यस क्षेत्रमा पनि ओल्के मनाइने गरिएको उनले बताए।

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रही आएको छ। ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।

यस पर्वका अवसरमा गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सद्भाव बाँड्ने गरिन्छ।

सबैले घरघरमा दिने हरियो सागपातको कोसेली तथा फलामका सामाग्रीलाई नै ‘ओल्को’ (ओलक) भन्ने गरिँदै आएको छ। पहिले वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भएकाले ती रोगबाट बाँचिएको खुसी साट्न यो पर्व मनाइएको ऐरी बताउँछन्। ‘दैवीप्रकोपबाट बाँचिएको खुसी साट्न ठूलावडा तथा जेठो नातापर्नेलाई हरियो सागपात दिएर सम्मान दिने गरिन्छ,’ उनले भने, ‘ओल्केका दिन विवाहित दिदी बहिनी माइत जाने, परम्परागत देउडा खेल्ने, मिठो मसिनो खानेकुरा खाने गर्दछन्।

ओल्केकै दिन सबै गाउँ नजिकैको चौबाटोमा गई सल्लाको लिङ्गो समेत गाड्ने गर्छन्। भदौ संक्रन्तिका दिन गाउँ नजिकका डाँडामा सबैजना भेला भएर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ुबुढी हालेकोु भन्दछन्। यो बुढीलाई भदौ मसान्तका साँझ गाउँका सबैजना मिलेर एकैसाथ पोल्ने चलन छ। भदौ मसान्तका दिन जलाइने लिङ्गोलाई बूढी पोलिएको भन्ने परम्परा छ।

मौलिक पर्वको रूपमा मनाइँदै आएको ओल्केमा कामका लागि घरदेखि टाढा गएकाहरू समेत घर फर्कने गर्छन्। आपसमा सुख दुःख साटासाट गर्ने चलन छ। वर्षामा दैवीप्रकोपबाट बाँचिएको खुसीयालीमा ओल्के र दुःखका दिन आउन थालेको दुःखमा बिसु पर्व मनाउने गरिन्छ। वैशाख लगत्तै विभिन्न रोग व्याधि तथा दैवी प्रकोपको समय आउने भएकाले मर्नुपर्ने हो कि भन्ने चिन्ताले बिसु पर्व मनाउने गरिएको बुढापाका बताउँछन्।

सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँगाउँमा ओल्के पर्वको अवसरमा पिङसमेत खेल्ने गरिन्छ। ओल्केकै अवसरमा यहाँका स्थानीय डेउडाको खेल समेत खेल्ने गर्छन्। साउन मसान्तको रातिदेखि भाद्र संक्रान्तिको दिनभरी देउडा खेल खेल्ने गरिन्छ।

ओल्केका अवसरमा घरमा शान्तिको कामना गर्दै आँगनमा गाभा फाल्ने प्रचलन समेत रहेको छ। यसै गरी बाली सप्रियोस् भनेर खेतमा हरिया ‘गाभा’ तथा अन्य फलका हाँगा ओलक हाल्ने चलन रहँदै आएको छ। ओल्के पर्वलाई वर्षकै जेठो पर्वका रूपमा पनि मनाइने गरिन्छ।

सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्त्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका मानिस जानकार रहे पनि नयाँ पुस्ता भने यसको महत्त्व र विशेषताबारे त्यति खासै जानकारी नभएको साहित्यकार पदमराज जोशी बताउँछन्।

ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्