तेस्रोपटकमा पनि घटेन इन्धनको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि घरेलु बजार मूल्य भने घटाएन । निगमलाई इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार तेस्रोपटक मूल्य घटाएर पठाएको छ । तर, निगमको घाटा अझै बाँकी नै रहेको भन्दै तेस्रो पटक पनि पेट्रोलियम पदार्थको मूल्य नघटाउने निगमले जानकारी गराएको छ ।

आईओसीले निगमलाई तेस्रो पटक मङ्गलबार पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजेल ४ रुपैयाँ ८४ पैसा घटाएर पठाएको छ । १६ साउनमा दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटाएर पठाएको थियो । यसै गरी १ साउनमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दै गर्दा घाटामा रहेको निगम अहिले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफामा आइसकेको छ । तर, महँगीको भार कायमै गरी निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउन विभिन्न बहाना बनाएको देखिन्छ ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि आईओसीलाई ४ महिनादेखिको २३ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी नै भएको हुँदा मूल्य घटाउन नसकेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए ।

रसिया र युक्रेन युद्धको प्रभावपछि १ जुलाईमा आईओसीबाट अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार मूल्य घटेर आएको र घरेलु मूल्य समायोजन गर्दा पनि निगमको मासिक घाटा १० अर्ब रुपैयाँ बढी पुगेको थानीले बताए ।

‘पछिल्लो पटक मूल्य घटेर आउँदा पनि निगमलाई मासिक करिब ६२ करोड ५२ लाख घाटा छ’, कार्यकारी थानीले भने, ‘नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४ दशमलब ७४ पैसा नाफा छ । तर, डिजेलमा ४ दशमलब ५० पैसा घाटा छ । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४९९ दशलमब ५७ रुपैयाँ घाटा छ ।’

उनले भने, ‘हवाई इन्धन र मट्टितेलमा नाफा छ । आन्तरिक हवाई इन्धन ९ रुपैयाँ ५६ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ५४ रुपैयाँ ९७ पैसा नाफा छ ।’ कार्यकारी निर्देशक थानीका अनुसार ७ अर्ब नेपाल सरकारसँग र ३ अर्ब नेपाल राष्ट्र बैंकसँग गरी १० अर्ब रुपैयाँ ऋण छ । सबै गरेर निगमले महिनामा १४ करोड रुपैयाँ ब्याज मात्र तिर्नुपर्छ ।

त्यसकारण अहिले निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरी यथावत् राख्ने निर्णय लिएको निर्देशक थानीको भनाइ छ । यसै गरी उनले निगमको सबै दायित्व घटेपछि मात्र निगम स्वचालित मूल्य प्रणालीमा लागू गर्ने बताए ।

घरेलु बजारमा निगमले उपभोक्तलाई प्रतिलिटर पेट्रोल १८१ रुपैयाँमा बिक्री गरे तापनि निगमको खरिद मूल्य भने प्रतिलिटर ९८ रुपैयाँ ६७ पैसा छ । यस्तै डिजेल प्रतिलिटर १२० मा खरिद गरी १७२ रुपैयाँ बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्