फोहोरमाथि फोहोरी राजनीति



काठमाडौं । फोहोर आधुनिक शहरका लागि निकै गतिलो राजनीतिक हतियार बनिरहेको छ पछिल्लो समय । शहरी क्षेत्रका राजनीतिकर्मीहरू वडा सदस्यदेखि सङ्घीय सांसदका उम्मेदवारसम्मको चुनावी एजेण्डा फोहोर बन्ने गरेको छ । शहर आफैँमा बाक्लो बस्ती भएको र जनघनत्व बढी भएको स्थान हो ।

जहाँ मान्छेको सङ्ख्या धेरै हुन्छ, त्यहाँ फोहोर पनि बढ्ने भई नै हाल्यो । तर, फोहोरको उचित र प्रभावकारी व्यवस्थापन नेपालमा मात्र नभएर विश्वभरका शहरी क्षेत्रको टाउको दुखाइको विषय बनिरहेको छ । हामीकहाँ पनि मुख्य र ठूला शहरहरू फोहोरको समस्याबाट आक्रान्त छन् ।

काठमाडौं आफैँमा ठूलो शहर, देशको सङ्घीय राजधानी पनि, जनसङ्ख्या उसै बढी हुने भइहाल्यो । यो ठूलो जनसङ्ख्याबाट उत्पन्न हुने फोहोर पनि उति नै हुने भयो । बाक्लो र अव्यवस्थित बस्ती अनि गैरजिम्मेवार राजधानीबासीका कारण अहिले राजधानीका सडक फोहोरले भरिभराउ छन् । सडकका किनारामा फोहोर फालेर ‘सभ्य’ बनिरहेका राजधानीबासीहरूलाई देखेर सभ्यता स्वयंचाहिँ लज्जित बनिरहेको अवस्था छ । तथापि, राजधानीबासीहरूमा फोहोरको उचित व्यवस्थापनको सुद्धि आजसम्म पलाउन सकेको छैन ।

हो, फोहोरमैला व्यवस्थापनको जिम्मेवारी राज्यको, अझ स्थानीय तहको हो । काठमाडौं महानगरको हो । महानगरका वर्तमान प्रमुखले गत ३० वैशाखमा प्रमुखका लागि उम्मेदवार बन्दा नै फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर मत मागेका थिए । अघिल्ला प्रमुखहरूका आश्वासनबाट आजित बनेका राजधानीबासीले पत्याई नहाले पनि युवा जोश र उत्साह बोकेका र आफैँ इन्जिनियरसमेत रहेका बालेन्द्र शाहमाथि भरोसा राखे । उनलाई महानगरका पिता बनाए । अब कम्तीमा राजधानी फोहोरबाट मुक्त हुने अपेक्षा पनि गरे ।

बालेन्द्रले पनि सिसडोलदेखि बञ्चरेडाँडासम्म पटकपटक यात्रा गरे । त्यहाँ उत्पन्न विवाद समाधानका लागि मन्त्रीदेखि स्थानीय तहसम्मका प्रतिनिधिसँग वार्ता र सम्वाद आफैँ उपस्थित भएर गरे, गराए । कुरा सकारात्मक हुँदै पुनः बाङ्गिँदै गयो । काम रोकिने, सुचारु हुने हुँदै सँगसँगै यथार्थ नाङ्गिँदै पनि गयो ।

कसरी ? यसरी कि बालेन्द्र शाहमाथि राजनीति सुरु भयो– फोहोरका नाममा । राजनीतिक दलहरूले पटकपटक नारा बनाउन पाइरहेको काठमाडौंको फोहोरलाई निमिट्यान्न पारेर बालेन्द्रले हाईहाई कमाए भने काठमाडौं महानगरमा मात्र होइन, काठमाडौं जिल्लाका सङ्घीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा समेत राजनीतिक दलहरूलाई धक्का लाग्ने अवस्था आयो ।

स्वतन्त्रका नाममा चुनाव जितेर महानगर प्रमुख बनेका बालेन्द्रको सफलतासँगै पछिल्लो समय लहड र लहरमा उदाएको ‘स्वतन्त्र उम्मेदवारी’ले राजनीतिक दलहरूलाई ऐठन पार्ने अवस्था आउने भयो । यही कारण काठमाडौंको फोहोरको उचित र प्रभावकारी अनि दीर्घकालीन व्यवस्थापनमा बालेन्द्रमाथि राजनीतिक दल धुरा पसेका देखिए ।

आफ्ना जनप्रतिनिधि र कार्यकर्तामार्फत अवरोध गर्ने प्रयास भइरहे । यसको असर अन्ततः आमजनले भोगिरहनुपरेको यथार्थ सर्वसाधारणले थाहा पाउन जरुरी छ । राजनीतिक दलहरूले फोहोरमाथिको फोहोरी राजनीति त्याग्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्