फास्ट ट्रयाकमा सेनाका हाकिमकाे मस्ति !



काठमाडौं : राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस फास्ट ट्रयाक निर्माण कार्यमा अनियमितताको आशंका गरिएको छ । 

नेपाली सेनाले निर्माणको जिम्मा लिएको फास्ट ट्रयाक निर्माणको लागत बढेसँगै अनियमितताको आशंका गरिएको छ । 

फास्ट ट्याक निर्माण नयाँ डिपिआर अनुसार लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब पुग्ने नेपाली सेनाले जनाएको छ । यसअघि सेनाले काम थाल्दा भारतीय कम्पनी आइएलऐफएसले बनाएको डिपिआर अनुसार फास्ट ट्रयाकमा १ खर्ब १२ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको थियो । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार अहिलेसम्म १४ अर्ब ७० करोड खर्च भइसकेको छ । मुअब्जा वितरण, निर्माण लगायत शीर्षक सो रकम खर्च भएको हो । 

नेपाली सेनाले आइएलएफएसकोको डिपिआर अपूरो रहेको भन्दै कोरियाली कम्पनी सुसुङलेलाई डिपिआर बनाउन दिएको थियो । कोरियाली कम्पनी सुसुङले तयार गरेको डिपिआरअनुसार निर्माणको लागत झण्डै २ खर्ब हुने देखिन्छ । 

निर्माण अवधी लम्बिएको, सुरुङ र पुलको लम्बाई बढेकाले लागत पनि बढेको सेनाले जनाएको छ । निर्माणको जिम्मा पाएको नेपाली सेनाका अनुसार डिपिआरअनुसार द्रुतमार्गको लम्बाई ७२.५ किलोमिटर कायम हुनेछ । यसअघि ७६.२ किमी थियो ।  लम्बाई घटदा समेत लागत खर्च बढनुमा अनियमितताको आशंका गरिएको हो । 

गत माघमा सुसुङले तयार पारेको प्रारम्भिक डिपिआरमा फास्ट ट्रयाकको खर्च बढीमा ६ अर्ब बढेर १ सय १८ अर्ब पुग्ने उल्लेख थियो । उक्त प्रारम्भिक डिपिआरमा सेनाको सुझाव समेटेर अन्तिम डिपिआर तयार भएको हो ।

सेनाले रक्षा मन्त्रलय हुँदै मन्त्रिरिषदमा पठाएको अन्तिम डिपिआर मन्त्रीपरिषद बैठकले पारित गरिसकेको छ । 

मन्त्रिपरिषदले स्वीकृत गरेको डिपिआर अनुसार फास्ट ट्रयाकको प्रस्थानबिन्दु जिरो किलो ललितपुरको खोकना रहने भएको छ । तर, यसअघि सडक निर्माण गर्दा मासिने भनेको खोकना बासीको ऐतिहासिक सिकाली मन्दिर र कोदेशलाई भने संरक्षण गर्ने गरी रेखाङ्कन परिवर्तन भएको हो । 

डिपिआरमा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखाङ्कनसमेत परिवर्तन गरिएको छ । महादेबटारदेखि लेनडाँडासम्मको खण्डमा एसियाली विकास बैंक (एडीबी)द्वारा प्रस्तावित टनेल विकल्पमा एक तथा नयाँ दुई टनेलसहित रेखाङ्कन परिवर्तन भएको हो ।

डिपिआर आवश्वक खरिद प्रकिया पूरा गरी छनौट भएको अन्तर्राष्ट्रिय परामर्शदाता सुसुङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ फर्मसँग २०७५ असोज १६ गते डिपिआर तयार गर्न खरिद सम्झौता भएको थियो ।

सेनाले द्रुत मार्ग निर्माणको जिम्मा २०७४ वैशाख २१ मा पाएको थियो । आउँदो २०७८ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने अवधी सेनाले पाएको छ । 

अहिले नयाँ डिपिआरअनुसार द्रुतमार्गको कुल लम्बाइमध्ये ६.४१ किमी सुरुङमार्ग हुनेछ भने १०.५५ किमी पुल र ५५.५ किमी सडक हुने छ । यसमध्ये हालसम्म २५.४४ किमी खण्डको सवग्रेड फर्मेसन लभेलमा काम भएको छ भने झण्डै २७ किलोमिटर क्षेत्रका काम भइरहेको छ ।

निजगढस्थित बकैया खोलामा दुई बेलिब्रिज जडान भइरहेको छ भने थप दुई जडानको क्रममा छन् । धेद्रेमा एक र सिस्नेमा दुई वटा जडानको क्रममा छ ।

खोकनाको सिकालीमा दुई वटा, फर्सिडोल र महादेवटारमा एक–एक वटा बेलिब्रिज जडान गरिनेछ । बकैया खोलामा पनि थप एक बेलिब्रिज जडान गरिने द्रुतमार्ग आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताए । 

 

प्रतिक्रिया दिनुहोस्