तिहार मनाउन माइत आएकी बहिनी र भान्जीमाथि दाजुले खुकुरी हाने



ताप्लेजुङ : आफ्नै दाजुले तिहारमा टीका लगाइदिनआएकी बहिनी र भान्जीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का ३० वर्षीय विवस मगरले भाइटीकाको ४ दिनपछि आफ्नै बहिनी २६ वर्षीय रेनुका भुजेल, भान्जीहरु ८ वर्षीया कृष्टिना र ६ वर्षीया ओरिना भुजेलको टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । 

 खुकुरी प्रहारबाट तीन जनाकै टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

 

बहिनी र भान्जीमाथि खुकुरी प्रहार गरेपछि विवस आफैंले सोही खुकुरीले आफ्नो भुँडीमा रोपेको र उनको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मण थापा मगरले बताए । घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

‘घाइतेहरुको अहिले जिल्ला अस्पतालमा प्राथमिक उपचार भइरहेको छ,’ प्रहरी निरीक्षक मगरले भने,‘थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर झिकाइएको छ ।’  घटना मंगलबार बिहान साढे ५ बजे घटेको उनले बताए । 

 

धनकुटाको पाख्रिबास नगरपालिका–८ घर भएकी रेनुका तिहारमा भाइटीका लगाइदिन माइत आएकी थिइन् । उनी मंगलबार बिहानै माइतबाट विदा भई घर जाने तयारीमा थिइन् ।  दाजु बहिनीबीच यसअघि कुनै विवाद नरहेको  बताइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्