विधेयक पास नहुँदै मुख्यसचिवमा रहस्यमय खेल



काठमाडौं : एक लाखको हाराहारीमा रहेको नेपालको निजामती कर्मचारीहरुको सर्वोच्च पद मुख्यसचिव बन्नका लागि भित्रभित्रै दौडधुप र लविङ भइरहेको छ । केही सचिव संसदमा विचाराधीन रहेको विधेयक पास हुनु अगावै मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदूत बनाएर आफू मुख्यसचिव हुन लागिपरेका छन् । विधेयक पास भएपछि उमेरहदका कारण नेपालको निजामती प्रशासनमा उथलपुथल हुने भएका कारणले कतिपय सचिवहरु मुख्यसचिव रेग्मीलाई हटाएर गृहसचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउने कसरतमा जुटेका छन् । तर, राई भने अख्तियार जाने कि मुख्यसचिव बन्ने भन्ने दुविधामा छन् । 

ओली सरकारको गठनसँगै मुख्यसचिव भएका रेग्मीलाई हटाएर मुख्यसचिव बन्ने दाउमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन सचिव दिनेश थपलियाको मुख्यसचिव बन्ने सपना पूरा नभए पनि निर्वाचन आयोगको प्रमुख आयुक्त बन्ने सौभाग्य मिल्यो भने अर्जुनबहादुर कार्की, कृष्ण देवकोटा, दिपेन्द्रनाथ शर्मा र लालशंकर घिमिरे सचिवबाट अवकाश लिइसकेका छन् ।

छेपाराले रङ्ग फेरेजस्तै गरी राजनीतिक रङ्ग फेर्न सिपालु मुख्यसचिव रेग्मीलाई हटाउन धेरै प्रयास भएपनि उनी अटल बनेर बस्न सफल भए । तत्कालिन एमाले सरकारमा रहँदा पश्चिमाञ्चल क्षेत्रीय प्रशासकबाट भूमिसुधार हुँदै अर्थ र गृह सचिव समेत बनेका रेग्मीको रुझान नेपाली कांग्रेस तिरै छ । पारिवारिक पृष्ठभूमी समेत कांग्रेसी रहेको छ । 

रेग्मीको सम्बन्ध विशेष गरी कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष रहेको बताइन्छ । देउवाभन्दा पनि देउवापत्नी आरजु राणासँग रेग्मीको निकटको सम्बन्ध रहेको उनीनिकट कर्मचारीहरु बताउछन् । तर, रेग्मीको कांग्रेसमा मात्र होइन् तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग पनि घनिष्ठ सम्बन्ध रहेको देखिन्छ । त्यसैले उनी अर्थ र गृहसचिव बन्न सफल रहे । अहिले सत्तारुढ दल नेकपाका धेरै नेताहरु र मन्त्रीहरु रेग्मीसँग सन्तुष्ट नरहेपनि रेग्मीले महासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालसँग घनिष्ठ सम्बन्ध बनाएका छन् । त्यसैले उनी सत्ताको प्रिय बन्न सकेका छन् । त्यसो त उनलाई मुख्यसचिवबाट हटाउनको लागि राजदूत बनाउने प्रयास भएपनि उनले स्वीकार गरेनन् । सरकारका सूचना बुढानिलकण्ठ पु¥याउने गरेको आरोप पनि छ उनीमाथि । 

उनलाई हटाएरको ल्याउने भन्ने विषय विवादमा परेपछि चर्चा उठ्दै सेलाउदै गरेको सरकारका एक सचिवले द नेपालटपलाई बताए । अहिले फेरी यो विषय चर्चामा छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली गृहसचिव प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा लैजान चाहन्छन् । तर, सचिव राईको रोजाइ मुख्यसचिव बन्ने रहेको छ । राईनिकट कर्मचारीका अनुसार राई मुख्यसचिव बनेर अख्तियारको प्रमुख आयुक्त बन्ने सपना देखिरहेका छन् । जातीयतावादी भनेर आरोप लाग्ने राईमाथि दुईमध्ये एक रोज्ने अवस्था छ । 

वर्तमान मुख्यसचिव रेग्मीले आफ्नो कार्यकाल पूरै अवधी बिताएमा त्यसपछि मुख्यसचिव बन्न रोलक्रममा परराष्ट्र सचिव शंकरदास वैरागी, वन तथा वातावरण सचिव डा. विश्वनाथ ओली र सचिव चन्द्र घिमिरे रहेका छन् । परराष्ट्र सचिव वैरागी परराष्ट्र बाहेक अन्यत्र काम गरेको अनुभव नभएका कारणले मुख्यसचिव बनेर हाँक्न सक्ने क्षमता नभएको कर्मचारीहरु बताउछन् । त्यस्तै वनसचिव ओली पनि प्रशासन क्षेत्रमा अब्बल मानिदैनन् । 

उनी प्राविधिक क्षेत्रको भएको हुनाले प्रशासन क्षेत्रका उच्च कर्मचारीहरु मुख्य सचिव पदमा प्रशासन क्षेत्रकै प्रशासक हुनुपर्ने पक्षमा देखिन्छन् । सचिव घिमिरे प्रशासन क्षेत्रकै भए पनि मुख्य सचिव बनेर कमाण्ड गर्न नसक्ने प्रशासकमध्ये गनिन्छन् । त्यसैले कमाण्डसहित हाँक्न सक्ने प्रशासकको खोजीमा बालुवाटार रहेको स्रोतको दाबी छ । 

त्यसो त संसदमा विचाराधीन रहेको निजामती  कर्मचारी सम्बन्धी विधेयक पास भई त्यसले व्यवस्था गरे अनुरुप उमेरहद ५८ बाट ६० पु-याएमा कार्यालय सहायकदेखि सचिवसम्म यस व्यवस्थाले प्रभाव पार्ने देखिन्छ । यसो भएमा प्रशासनिक क्षेत्रमा ठूलै हलचल र उथलपुथल ल्याउनेछ । जसले गर्दा अहिले रहेको सचिव र मुख्यसचिव बन्ने सरल रेखालाई बक्र रेखातर्फ लैजानेछ ।

प्रतिक्रिया दिनुहोस्