पत्रकारिताले दिएको खुसी



  • रमा लुइँटेल

काठमाडौं । साउनको पहिलो साता हेटौँडा जानुको ‘मिसन’ फरक थियो । विभिन्न प्रसङ्ग र योजना लिएर हेटौँडा पुगिन्थ्यो अरूबेला । साउनको ४ गते दिन ढल्केपछि हेटौँडाका लागि सुरु भएको हाम्रो यात्रा झरी छिचोल्दै अबेर पुगेर टुङ्गियो । नेपाल प्रेस युनियनको कार्यसमितिको कुनै पदको उम्मेदवारको आकाङ्क्षीसमेत भएकाले यात्राभर अग्रज पत्रकार, समकक्षी र भाइबहिनीलाई उम्मेदवारी दिने कुरा बताउँदाको रोमाञ्चकताको अनुभूति भिन्न थियो । सम्वादमा उहाँहरूले दिनुभएको हौसला, प्रेरणा र मैले गरेको कामलाई मिहीन ढङ्गबाट गर्नुभएको अवलोकनले म पुलकित भएकी थिएँ ।

सम्वाद भइरहँदा अन्नपूर्ण पोस्टको सुरुवातदेखि रिपोर्टिङ शाखामा रहेर काम गर्दाका ती दिनहरू झल्झली मानसपटलमा आइरहेका थिए । स्टोन (नाइट ड्युटी) सकेर राति अबेर फर्कंदा पनि छोरी र श्रीमान्ले देखाएको हार्दिकता सम्झेर आँखा रसाएका थिए । दिनदिन परीक्षा दिनुपर्ने पेसामा आबद्ध मलाई मोबाइल फोनमा पाएको प्रेरणा र मलाई स्मरण गरेको तरिका देखेर ‘डिस्टिडङ्सन’ पाएको अनुभूति गराइरहेको थियो ।

यात्रामा झरीले बिथोल्न खोजे पनि हेटौँडा पुग्ने बेलामा झरी रोकिएकाले सहज महसुस भयो । धेरै थाकेकाले त्यस दिन हेटौँडाको लोकप्रिय होटलको न्यानो आतिथ्य र मीठो भोजनपछि हाम्रो बासस्थान तय गरिएको होटलतर्फ लाग्यौँ । ५ साउन अर्थात् उद्घाटन सत्रको अघिल्लो दिन । मतदानस्थल प्रचार सामग्रीले भरिभराउ थियो । सबै पदका उम्मेदवारले आ-आफ्नै खालका नारा तय गरेर ‘फ्लेक्स’ बनाएका थिए । जे होस्, पत्रकारको चुनाव कुनै राजनीतिक दलको चुनावभन्दा केही फरक थिएन ।

प्रचार सामग्रीबीच पनि एक किसिमको प्रतिस्पर्धा थियो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको नवौँ महाधिवेशनमा हेटौँडामा देखिएको सरगर्मी रोमाञ्चक थियो । काठमाडौंबाट प्रचार सामग्री तयारीबिना नै हेटौँडा पुगेकी मैले त्यहाँ आफूलाई रित्तो पाएँ ।

पत्रिका, रेडियो, टेलिभिजन, अनलाइनमा काम गर्ने मेरा हितैषी, जो उद्घाटन कार्यक्रममा सहभागी हुन आउँदै हुनुहुन्थ्यो, उहाँहरूसँग सम्पर्कमा रहेर आफ्ना प्रचार सामग्री प्रिन्ट गर्ने, फ्लेक्स बनाउने कामलाई अघि बढाए । हेटौँडा मेरालागि काठमाडौं, ललितपुर जस्तो परिचित ठाउँ होइन, धेरैजसो उम्मेदवारले हेटौँडा नै पुगेर प्रचार सामग्री बनाएकाले त्यहाँको सानो बजारले उम्मेदवार पत्रकारको माग धान्न सकिरहेको थिएन ।

हेटौँडाले पत्रकारको प्रचार सामग्रीको मागलाई धान्न सकिरहेको थिएन । गिरिजा अधिकारी, जो निकै सक्रिय, प्रष्ट वक्ता हुनुहुँदो रहेछ, छोटो सम्वादपछि मैले उहाँको लगनशीलता बुझेँ, महाधिवेशनलाई सफल बनाउन उहाँले गर्नुभएको डौडधुप प्रसंशा गर्न लायक थियो ।

हेटौँडा आउँदै गरेका भूमिराज सर (भूमिराज चापागाईं), विश्वराज खनाललगायतलाई बेलाबेलामा फोन गर्दै प्रचार सामग्रीका बारेमा छलफल गरेकी थिएँ । सटिक र प्रभावकारी प्रचार सामग्री बनाउनुपर्छ भन्ने उहाँहरूको सुझावअनुसार नै ‘भिजिटिङ कार्ड’, ‘फ्लेक्स’, घाँटीमा झुण्ड्याउने माला तयार भए ।

सीमित ठाउँको बाबजुद पनि फ्लेक्स टाँगियो । भिजिटिङ कार्ड बाँड्ने काम निरन्तर भइरहेको थियो । उद्घाटन सत्र चलिरहेको थियो । मोबाइलमा निरन्तर घन्टी बजेपछि कार्यक्रम हलबाट बाहिर निस्केँ । भरत कार्कीको फोन थियो त्यो । हल्लाखल्लालाई पन्छाउँदै म कार्यक्रम स्थलबाट बाहिरिएँ भरतजीसँग कुरा गर्न । उहाँले भन्नुभयो, ‘दिदी, मैले तपाईं चुनावमा उठ्नुभएको रहेछ, त्यो थाहा पाएँ, मैले साथीहरूसँग तपाईंका लागि भोट मागिदिएको छु । साथीहरूको मोबाइल नम्बर म्यासेन्जरमा पठाएको छु, एक पटक दिदीले पनि फोन गर्नुहुन्छ कि भनेर फोन गरेँ दिदी ।’

भरतजीको कुरा सुनेपछि म एकछिन अवाक भएँ । मेरो उम्मेदवारीबारे उनले कसरी थाहा पाए, त्यो ठूलो विषय थिएन । सामाजिक सञ्जाल प्रचारप्रसारका लागि सशक्त माध्यम बनेको थियो । मेरो मनमा उब्जिएको प्रश्न मैले बिनासेन्सर उनलाई सोधेँ ।
भनेँ, ‘ए, हो र ? धन्यवाद है ! तर, तपाईंको सर्कलमा मलाई भोट दिने मानिसहरू हुनुहुन्थयो र ?’मेरो यस प्रश्नमा उनले दिएको उत्तरले म यति धेरै गद्गद् भएँ कि त्यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ । भरतजीले त्यतिबेला भन्नुभएको थियो, ‘दिदी, मैले तपाईंलाई हामी अपाङ्गता भएकाहरूको अधिकारका विषयलाई पत्रकारिताको माध्यमबाट उठाइदिएको गुन तिर्न प्रचार गरँे, भोट मागेँ, मलाई तपाईंको आबद्धताको महत्व भएन ।’

मेरो प्रचार त त्यसरी पनि भइरहेको रहेछ । पत्रकारिता गर्दा लेखेका कुरा सम्झिएर मेरा आँखा आँसुले भरिए । चुनाव जितेको भन्दा पनि आवाजविहीनहरूको मन जितेकामा म धेरै खुसी थिएँ । भरतजी, जो शारीरिक रूपमा अशक्त हुनुहुन्छ, ह्वीलचियर प्रयोग गर्नुहुन्छ, उहाँका बारेमा लेख्न (फिचर स्टोरी) म जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्र पुगेकी थिएँ ।

दिन ढल्केपछि जोरपाटी पुगेकी मैले केन्द्रको चौरमा बसेर उहाँसँग कुराकानी गरेकी थिएँ । उहाँ ह्वीलचियरमा हुनुहुन्थ्योे, म बेञ्चमा बसेर कुरा गरेको सम्झेँ । त्यो स्टोरी राष्ट्रिय दैनिकका लागि लेखेकी थिएँ । त्यस राष्ट्रिय दैनिकमा काम गर्दा मैले तेस्रो लिङ्गीले समाजमा भोगेका समस्या जस्ताको त्यस्तै पत्रिकाका पानामा उतारेकी थिएँ । बेवारिसे लास जलाउनेका कथा मेरो कलमले लेखेको थियो ।

लेख्ने पत्रकारिता गर्न रमाउने मलाई सङ्गठनमा रहेर पत्रकारिताको प्रवद्र्धनका लागि काम गर्न प्रेरित गरिरहेको थियो । ममा उब्जिएको नयाँ रुचिलाई साथ दिन आतुरलाई सम्झँदा मन निकै रमाएको थियो । मेरो त प्रचार त्यसरी पनि भइरहेको रहेछ ! धन्यवाद ती असल आत्माहरूलाई, जो मेरो खुसीमा सधैँ खुसी भए । दुःखमा दुखी । गल्ती गर्दा खबरदारी गरिरहे । अप्ठ्यारो पर्दा ‘म छु नि’ भन्दै ढाडस दिए ।

प्रतिक्रिया दिनुहोस्