वडा कार्यालयको पनि शाखा



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क वडा कार्यालयले शाखा स्थापना गरेको छ।

बसेरीमा रहेको वडा कार्यालय पुग्न २-३ घण्टा हिँड्न वाध्य स्थानीयलाई लक्षित गर्दै मालामा वडा कार्यालयको शाखा विस्तार गरिएको हो। महिनाको ६ दिन सेवा दिनेगरी बुधबार वडा कार्यालयको शाखा स्थापना गरिएको वडाध्यक्ष रामबहादुर कटुवालले बताए।

वडाको शाखाबाट साविकको बिजयखर्क-१ र २ का स्थानीय लाभान्वित भएका छन्। वडाको शाखामा सेवा प्रवाहका लागि सचिव र कार्यालय सहयोगीमध्ये १ जनालाई खटाइने छ। चम्पावती माबिको एउटा खाली भवन लिएर वडाको शाखाका रुपमा सेवा सुरु गरिएको हो।

वडा कार्यालय बिजयखर्कले सोही ठाउँबाट स्वास्थ्य सेवा पनि सुरु गरेको छ। महिनाको ६ दिन स्वास्थ्यचौकी सरहको सेवा दिनेगरी सेवा सुरु गरिएको हो। तोकिएको दिन १ जना स्वास्थ्यकर्मीलाई औषधि सहित खटाइने वडा कार्यालयले जनाएको छ। स्वास्थ्यचौकीले महिनाको ६ दिन गाउँबाटै सेवा दिन सुरु गरेपछि सामान्य स्वास्थ्य सेवाका लागि घण्टौं हिँड्नुपर्ने नागरिक लाभान्वित भएको स्थानीय युवा नेता किसन भुजेलले बताए।

प्रतिक्रिया दिनुहोस्