एउटै गाउँपालिकामा तीन वटा लघु जलविद्युत्



बैतडी : एउटै गाउँपालकामा तीन ओटा लघु जलविद्युत् आयोजना बन्ने भएका छन् ।  सिगास गाउँपालिकाले गएको आर्थिक वर्षदेखि नै रकम विनियोजन गरेर लघुजल विद्युत आयोजना निर्माणको काम थालेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी बताए ।  

 

गाउँपालिकाको वडा नं ७ मा न्वाघरीगाड लघु जलविद्युत् आयोजना, वडा नं ६ मा थलालीगाड लघु जलविद्युत् आयोजना र भेकेगाड लघु जलविद्युत् आयोजना निर्माणको काम भइरहेको उनले जानकारी दिए । । गत आर्थिक वर्षमा न्वाघरी गाडमा ३५ लाख, थलालीगाडमा तीस लाख र भेकेगाडमा ५३ लाख बजेट विनियोजन गरिएको थियो । 

 

चालु आर्थिक वर्षमा तीन ओटै आयोजनामा ५० लाखका दरले रकम विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता रामबहादुर धामीले बताए । गाउँपालिका बासिन्दाहरुको विद्युत् सेवामा पहुँच पुर्‍याउन लघु जलविद्युत् आयोजना निर्माणको काम सुरु गरिएको उनले बताए । अन्य वडामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् विस्तारको काम गर्ने गरी तयारी भइरहेको पनि प्रवक्ता धामीले बताए । 

 

गाउँपालिकामा पहिलादेखि नै ६ ओटा लघु जलविद्युत् आयोजना मर्मत सम्भारको अभावमा बन्द थिए । तीमध्ये केहीलाई सुचारु गर्न रकम विनियोजन गरिएको प्रवक्ता धामीले जनाए । 

प्रतिक्रिया दिनुहोस्