विद्यार्थी कम भएका दोर्दीका २ वटा विद्यालय मर्ज



लमजुङ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन (मर्ज) लाई लमजुङको १ स्थानीय तहले अघि बढाएको छ। विद्यार्थी कम र शिक्षक धेरै भएपछि दोर्दी गाउँपालिकाले वडा नम्बर १ भारतेको महादेव निम्न माध्यमिक विद्यालय र कर्मोदय प्राथमिक विद्यालय मर्ज गरेको हो।

गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको दोर्दी शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेका अनुसार महादेव विद्यालयलाई सूर्योदय माध्यमिक विद्यालयमा मर्ज गर्ने र कर्मोदय विद्यालयलाई रत्न प्राथमिक विद्यालयमा मर्ज गर्ने र यस विद्यालयको बालविकासलाई भने यथावत् राख्ने निर्णय गरेको छ। त्यस्तै, समायोजन भएका विद्यालयका शिक्षकहरूलाई पालिकाको विभिन्न विद्यालयमा पठाउने निर्णय भएको उनको भनाई छ।

गत वर्षको सीमा क्षेत्र (क्राईट एरिया) अनुसार एकदेखि पाँच कक्षा भएको विद्यालयमा २० जनासम्म विद्यार्थी भएकोमा २ वटा दरबन्दी र एउटा बालविकास दिने थियो। तर अहिले भारतेमा रहेका कुनै पनि विद्यालयमा उक्त अनुसार विद्यार्थीको संख्या भएन, सबैमा ७–८ जनाको संख्या विद्यार्थी भएका कारण र विद्यार्थीलाई पायक पर्ने, शिक्षकलाई अन्य विद्यार्थी भएको विद्यालयमा समायोजन गर्ने गरी मर्ज गरेको शिक्षा प्रमुख लामिछानेको भनाई छ।

महादेवमा रहेका ५ दरबन्दीका शिक्षकमध्ये तीन जना प्रावि र २ निमावि दरबन्दी रहेकोमा अन्य विद्यालयमा समायोजन र कर्मोदयका २ जना शिक्षकहरूलाई समायोजन भएको विद्यालय र अन्य विद्यालयमा व्यवस्थापन गरिएको बताइएको छ।

शिक्षा मन्त्रालयले ०७० सालमा विद्यालय समायोजनका लागि निर्देशिका तयार पारेको थियो। सोहीअनुसार स्थानीय तहमा विद्यालय गाभ्ने अभियान अघि बढ्न थालेको छ। पालिकाको अन्य वडाहरूमा रहेको विद्यालयहरूको अनुगमन गर्ने र विद्यालय समायोजन गर्नुपर्ने विद्यालयहरू समायोजन गर्ने शिक्षा प्रमुख लामिछानेले बताए। पालिकाभरि ५१ वटा विद्यालय रहेका छन्।

प्रतिक्रिया दिनुहोस्