श्रीलंका संकट : प्रधानमन्त्री राजपाक्षेसहित ४४ सांसदले पार्टी छाडे



काेलम्बाे : श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्दा राजपाक्षे सहित ४४ जना विधायकहरुले राष्ट्रपति मैत्रीपाला सिरिसेना नेतृत्वको पार्टी परित्याग गर्दै नयाँ पार्टीमा आवद्ध भएका छन् ।

 

राजपाक्षे र अन्य ४४ जना विधायकले सिरिसेना नेतृत्वको पार्टी श्रीलंका फ्रिडम पार्टी त्याग्दै श्रीलंका पोदुजाना पेरेमुनामा प्रवेश गरेका हुन् । श्रीलंका पेरेमुना पार्टी सन् २०१६ मा राजपाक्षेकै कान्छो भाइ तथा पूर्व अर्थमन्त्री बसिलले स्थापना गरेका हुन् ।

 

मैत्रीपाला सिरिसेनाले रनिल विक्रमासिंघेलाई हटाउँदै राजपाक्षेलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको दुई हप्तामै राजपाक्षेले यस्तो निर्णय गरेका हुन् । सिरिसेनाले यही शुक्रबार राती संसद भंग गर्दै आम निर्वाचन आह्वान गरेपछि राजपाक्षेको निर्णय आएको हो ।

 

पेरेमुना पार्टीको स्रोत उद्धृत गर्दै श्रीलंका फ्रिडम पार्टीका ८२ जना सांसदमध्ये ६५ जना छिट्टै पेरेमुना पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको राेयटर्सले उल्लेख गरेकाे छ । सिरिसेनाले आफ्नै मन्त्रिपरिषदका प्रधानमन्त्रीलाई हटाएपछि नै श्रीलंकामा राजनीतिक संक्रमण चर्किँदो छ ।

 

राष्ट्रपति सिरिसेनाले आफूमाथि भारतीय जासुसले आक्रमण गर्ने संकेत पाउँदा समेत आफ्नै प्रधानमन्त्रीले सुरक्षामा चासो नदेखाएको भन्दै विक्रमासिंघेलाई पदबाट हटाउँदै आफ्नै चुनावी प्रतिष्पर्धी राजपाक्षेलाई नियुक्त गरेका हुन् । साथै पछिल्ला घटनाक्रमले सिरिसेनालाई अलोकप्रिय बनाउँदै गरेको पनि टिप्पणी हुन थालेको छ । 

प्रतिक्रिया दिनुहोस्