रारा राष्ट्रिय निकुञ्जमा झुण्डिएको अवस्थामा शव फेला



मुगु : रारा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको छाँयानाथ रारा नगरपालिका-३ गंगी चौरमा रुखमा झण्डिएको अवस्था शव भेटिएको छ। सोमबार दिउँसो निकुञ्जभित्र घाँस दाउरा गर्न गएका स्थानीयले रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनालाई जानकारी दिएका थिए।

 

तत्कालै सेनाले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले रुखमा झुण्डिएको अवस्थामा शव फेला पारेको हो। शवको अवस्था हेर्दा घटना सोमबार नै भएको हुनसक्ने प्रहरीले जनाएको छ।

 

झुण्डिएको अवस्थामा फेला परेका व्यक्तिको साथबाट परिचय खुल्ने कुनै कागजात नभेटिएकाले उनको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक डेगेन्द्र शर्माले जानकारी दिए। निरीक्षक शर्माका अनुसार मृतकको उमेर अन्दाजी ४० देखि ४५ वर्षको जस्तो देखिन्छ। शव अहिले जिल्ला अस्पताल ठिनीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्