पार्टी फुटाउने धम्कीपछि राजपाको बैठक स्थगित  



काठमाडौं : पार्टी महाधिवेशन र समाजवादी पार्टीसँग एकीकरण गर्ने लगायतका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज (शुक्रबार) बोलाइएको राजनीतिक समितिको बैठक विवादको भुमरीमा परेपछि अन्तत स्थगित हुन पुगेको छ । राजपाका महामन्त्री केशव झा लगाएका नेताहरुले यो बैठकको तीव्र विरोध गर्दै पार्टीमा विवाद रहिरहे र निरुपण नभएमा छुट्टै पार्टी बनाएर अघि बढ्ने चेतावनी नेतृत्वलाई दिएपछि नेतृत्व एक कदम पछि हटेको हो ।

पार्टीमा तीव्र विवाद देखिएपछि हिजो अपराह्न राजपा नेता महन्थ ठाकुरको निवासमा बसेको अध्यक्ष मण्डलको आकस्मिक र अनौपचारिक बैठकले समितिको बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

आज थप विषयमा अध्यक्ष मण्डलको बैठक बसेर आवश्यक कार्यसूचि तयार गरेपछि समितिको बैठक बस्ने बताइएको छ । सतहमा समाजवादी पार्टीसँग एकीकरण गर्ने विषयमा सुरु भएको राजपा नेपालभित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको हो ।

अहिले ६ जना नेताहरु रहेको अध्यक्षमण्डलमा नेता महन्थ ठाकुरसहित अनिल झा र राजकिशोर यादव एउटा मोर्चामा देखिन्छन् भने कमजोर धागोमा उनिदै नेताहरु राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारी एक ठाउँमा छन् । तर, उनीहरुबीचको सम्बन्ध र सहकार्यमा शंका र लाभका आधारमा हुने गरेको छ ।

बेलाबखत भने छ नेता एक ठाउँमा नउभिएको दृष्टान्त पनि छदै छ । त्यसैले राजपा भित्र चचौ चल्ने गरेको छ । छ नेता छ तिर । जसले गर्दा पार्टी एकता भएपनि मन एकता भएको छैन । जुन कुरा विभिन्न प्रसंगमा झल्किन्छ ।

राजपाको एउटा पक्ष पार्टीको महाधिवेशन अगाडि नै समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्छ भन्ने पक्षमा सक्रिय भएर लागेको छ भने अर्को पक्ष भने तत्काल एकीकरण गर्ने पक्षमा देखिदैन । यी दुई पक्षबीच पार्टीभित्र चरम विवाद र गुटबन्दी सिर्जना भएको छ । महाधिवेशनपछि मात्र एकीकरण गर्नुपर्छ भन्ने पक्षमा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र अनिल झा छन् । यादव र झालाई नेता महन्थ ठाकुरको समर्थन रहेको छ ।

महाधिवेशन अघि नै एकीकरण गर्नुपर्ने पक्षमा राजेन्द्र महतो, महेन्द्र यादव र शरदसिंह भण्डारी उभिएका छन् ।

राजपाका कतिपय नेता तथा कार्यकर्ताको बुझाइमा राजपाको नेतृत्व ठाकुरले स्थायी ढंगले नगर्दासम्म न त पार्टी एकता नै हुन्छ न त महाधिवेशन नै हुन्छ  । राजपामा दुई–दुई महिनामा नेतृत्व फेरिरहने अवस्थाले सबै काम अवरुद्ध हुन पुगेको ठम्याइ राजपाभित्रै रहेको छ । त्यसकारण  आगामी असोज ६ गतेदेखि यादवको नेतृत्वबाट ठाकुरमा सर्नेछ । त्यसपछि महाधिवेशन लगायतका सबै काम ठाकुरको नेतृत्वमा सम्पन्न गर्ने र आगामी महाधिवेशनपछि ठाकुरलाई नै एकल नेतृत्व दिइ स्थापित गर्ने कसरतमा केही नेताहरु लागिपरेका छन् । यस कार्यमा धेरै कार्यकर्ताको दबाव पनि देखिएको छ ।

समाजवादी पार्टीसँग एकीकरणको लागि राजपाले महतोको संयोजकमा वार्ता टोली गठन गरेको छ । तर, झा–राजकिशोर पक्षले वार्ता टोलीका संयोजकले पार्टीलाई नै विघटन गर्न खोजेको आरोप लगाएका छन् । ‘वार्ता टोलीका संयोजक ज्यू पार्टीले बोलाएको बैठकहरूमा आउनु हुन्न तर बाहिर बसेर पार्टी विघटन गर्नेसम्मका षड्यन्त्रमा हुनुहुन्छ ।’ अध्यक्ष मण्डलका सदस्य झाले भने, ‘वार्ता टोलीका संयोजक ज्यूले पार्टी एकीकरणको लागि को–कोसँग के–के कुराकानी गर्नु भयो । आधिकारीक ढंगले पार्टीमा केही जानकारी छैन’ ।

भदौ २ गते बोलाइएको राजपाको अध्यक्ष मण्डलको बैठकबाट पार्टीभित्र विवाद बढ्न थालेको हो । सो बैठकमा अध्यक्ष मण्डलका दुई सदस्य महतो र भण्डारी अनुपस्थिति भएपछि बैठक बस्न सकेको थिएन । राजपाको विधानमा अध्यक्ष मण्डलको बैठक बस्नको लागि ६ वटै अध्यक्ष अनिवार्य उपस्थिति हुनुपर्छ । एक जना अध्यक्ष मात्र अनुपस्थिति भएमा बैठक बस्न सक्दैन । उक्त दिन यादवले बैठक बोलाइएका थिए । उनी साउन ६ गतेदेखि राजपाको अध्यक्ष मण्डलका संयोजक भएका छन् । राजकिशोरले बोलाएको बैठकमा अनिल झा मात्र उपस्थिति भए । ठाकुर र महेन्द्र पनि बैठकमा ढिलो गएको थिए ।

राजपा र समाजवादी पार्टीबीच एकीकरणको विषयमा दुई–चार दिन यता एक–दुई पटक औपचारिक वार्ता भएका छन् । ती वार्ताहरूमा झा र यादवलाई बोलाउने गरिएको छैन ।  असोज ६ देखि अध्यक्ष मण्डलको संयोजकमा पुनः ठाकुर हुँदैछन् । ठाकुर अध्यक्ष मण्डलको संयोजक भएपछि मात्र अध्यक्ष मण्डलको बैठक बस्ने भएको छ । त्यो यता यादवले बोलाएको बैठकमा अन्य अध्यक्षहरू उपस्थिति हुने सम्भावना देखिएको छैन’ स्रोतले भन्यो । महतो, भण्डारी र यादवले  भने राजपाको महाधिवेशन अघि नै  पार्टी एकीकरण गर्ने प्रयास सुरु गरेका छन् । कात्तिक अन्तिम साता राजपा महाधिवेशनको तिथी तय गरिएको छ ।

राजपा र समाजवादी पार्टीबीच भएको औपचारिक वार्तामा एकीकृत पार्टीको पहिलो अध्यक्ष ठाकुर, दोश्रो स्थानमा भट्टराई, तेश्रो स्थानमा यादव र चौथो स्थानमा महतोलाई राख्ने विषयमा करिब–करिब सहमति भएको दुवै पार्टीका नेताहरू बताउछन् । राजपाका एक पदाधिकारी भन्छन, ‘पार्टी एकीकरणको लागि सबैभन्दा ठूलो समस्या भनेको नेतृत्व व्यवस्थापन कसरी गर्ने भन्ने विषय हो ।  नेतृत्वको विषयमा सहमति जुटेपछि एकीकरण गर्न त्यती समस्या हुँदैन । तर, समाजवादी पार्टीका कोषाध्यक्ष विजय यादव भन्छन्–दुई पार्टीबीचको एकीकरणको चर्चा चलेपनि आधिकारीक ढंगले बैठकमा एजेण्डा बनेर आएको छैन । बाहिर धेरै हल्ला गरियो त्यो पनि राजपाबाट । सैद्धान्तिक कुरानै बढेकोले वार्ता अघि बढ्ने कुरा आएन ।

त्यस्तै समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले समाजवादी पार्टी भित्र पार्टी एकीकरणको मुद्दा पार्टी एजेण्डा नबनेको बताउँदै ‘पावर शेयरिङ्ग’, सरकारको विषय, सैद्धान्तिक र नेताहरुको व्यवस्थापनको विषयमा विवाद कायमै भएको छ ।

तर, राजपाले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री मानेको छ भने समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीलाई स्वीकार गरेको छ । यसैगरी समाजवादी पार्टीले पूर्ण समानुपातिक प्रणालीलाई स्वीकार गरेको छ भने राजपाले अहिलेको जस्तो मिश्रित निर्वाचन प्रणालीलाई स्वीकार गरेको छ । नेताहरु यस विषयमा सहमतिको नजिक पुगेका छन् । राजपाले पार्टी एकता अगाडी समाजवादी पार्टीलाई सरकारबाट बाहिरन गरेको आग्रहलाई सामाजवादी पार्टीले ठोस जवाफ दिन सकिरहेको छैन । जसका कारणले एकता प्रक्रिया थप पेचिलो बनेको बताइन्छ ।

एकतासम्बन्धी प्रक्रिया लम्बिदा कात्तिक २८, २९ र ३० गते तय गरिएको राजपाको एकता महाधिवेशनसमेत प्रभावित हुने देखिन्छ । राजपाका अध्यक्ष मण्डलका सदस्यहरू महाधिवेशनको तयारी भन्दा पार्टी एकीकरणको विषयमा बढी केन्द्रीत हुन थालेपछि महाधिवेशनको आवश्यक तयारी अघि बढ्न सकेको छैन । यसबाट तोकिएको मितिमा राजपाको एकता महाधिवेशन हुनेमा आशंका उत्पन्न भएको छ । राजपाले यसअघि कात्तिकमा महाधिवेशन गर्न जेठ मसान्तसम्म सक्रिय सदस्य र साधारण सदस्यता वितरण गर्ने र असार १० सम्म त्यसको संकलन गर्ने कार्य तालिका सार्वजनिक गरेको थियो । तर, कार्यतालिका अनुसार काम हुन सकेको छैन न त अन्य तयारी नै अगाडी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्