अंकमाल नगर्न र हात नमिलाउन चिकित्सकको आग्रह



काठमाडौ : अहिले नेपालमा मात्र नभई दक्षिण एसियाभरी नै मौसमी रुघाखोकीको महामारीे व्यापक रुपमा फैलिएका छ । यसको मुख्य कारण मानिसको खापानका साथै रहनसहनले मुख्य भूमिका निर्वाह गरेको हुन्छ । यसै कारण नेपालमा विभिन्न रोगहरु फैलिएको भन्दै चिकित्सकले अंकमाल नगर्न र हात नमिलाउन आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुन महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले “ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्नेजस्ता सतर्कता अपनाउन आवश्यक रहेको वताए ।

यस्तै डा. भगवान कोइरालाले भने – सहरमा धुवाँ धुलो, प्रदूषण भएको सबैमा ज्ञान छ । आफू रोगी बन्दै गएको पनि थाहा छ । खानपानमा ध्यान दिनुपर्ने विषयमा बहस गरिरहेका हुन्छौँ । तर, आफैँमा लागू गर्दैनौँ । जुन सबैभन्दा ठूलो समस्या हो । सहरमा हरेक ठाँउमा स्वास्थ्य संस्था सजिलै उपलब्ध छन् । तर, बिरामी नभई स्वास्थ्य परीक्षण गर्न जाँदैनौँ । चिकित्सकको सल्लाह एकदमै थोरैले मात्र मानिरहेका हुन्छन् । अब बानी बदल्नुपर्छ । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । चिकित्सकको परामर्श अनिवार्य लागू गर्नुपर्छ । नत्र कतिबेला के भइरहेको थाहा हुँदैन । भित्र भित्रै अन्य रोगले च्यापेको हुन्छ । अनि मौसमी भाइरलले नै जीवन टपक्कै टिपेर लैजान्छ ।

बेलैमा हामी आफै सचेत नहुने हो भने अकालमा ज्यान जाने जोखम पनि उत्तिकै मात्रामा बढिरहेको छ । काठमाडौँ लगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । इन्फ्लुएन्जा भाइरस टाएप ए को (एच–एन१) भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो ।

निर्देशक आचार्य मौसमी रुघाखोकी कुनै पनि समय फैलन सक्ने भएकाले यसबाट हमेसा सतर्क रहनुपर्ने बताउछन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन उनी सुझाउछन् । “सामान्य मौसमी रुघाखोकी भएकाले धेरै डराउनुपर्ने नभए पनि सतर्क हुनुपर्छ, जटिलता भएमा मृत्यु हुने खतरा बढी हुन्छ,” उनले भने । विगतमा सुँगुरबाट (एच–एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ ।

मौसमी अनुसारको रोग नेपाली जनमानसमा पहिलेदेखि नै छाउदै आएको हो । सिजनल इन्फ्लुएन्जा (एच–एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले भने । केही वर्षयता एच १ एन १ का बिरामीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । डा. पुनले एच १ एन १ भाइरसको जिनमा परिवर्तन आई कडा रूपमा देखिन थालेको बताउँदै ‘टेमी फ्लू’ नामक औषधि चलाउँदा पनि काम नगरेको जानकारी दिए । बिरामीमा निमोनिया देखिने गरेको छ ।

अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकीेका बिरामी आउने गरेका छन् । खासगरी, मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समय र भारी बर्षा हुने समयमा देखिने भए पनि पछिल्लो समयमा सिजनल इन्फ्लुएन्जा भाइरसका सङ्क्रमित देखिने चिकित्सकहरुले बताएका छन् ।

निर्देशक आचार्यका अनुसार क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गौलाले काम गर्न छाडेका, डायलासिस गरिएका, ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्