दुई वर्षको बच्चाको नाकबाट निस्कियो खेलौना



एजेन्सी : भारतको चेन्नईमा बस्ने एक दम्पतीको दुई वर्षको छोरा राजेशको स्वास्थ्य सधैं बिग्रिरहन्थ्यो । दुई महिनादेखि उसलाई रुघा लागिरहेको थियो । सास फेर्न पनि मुश्किल परिरहेको थियो ।

सबै उपचार गरेपछि पनि उसलाई फाइदा भइरहेको थिएन । केही नलागेपछि ईएनटी सर्जनकोमा बच्चोलाई लिएर जाँदा पो थाहा भयो, बच्चाको नाकमा फुटेको खेलौनाको टुक्रा अड्किएको रहेछ । सर्जरी गरेर त्यो टुक्रा निकालेपछि बल्ल बच्चालाई राहत भयो ।

चिकित्सकहरूका अनुसार, बच्चाको नाकमा एक शैक्षिक खेलौनाको एक सेन्टीमिटर लामो स्पोन्जको टुक्रा अड्किएको थियो । आठ अंक सिकाउने खेलौना थियो त्यो । टुक्रा बच्चाको नाकभित्र अनि गलाको माथिल्लो भागमा अड्केको थियो । त्यसले बच्चाको भित्री अंगलाई नष्ट गरिरहेको थियो । बच्चा अहिले पूरै स्वस्थ रहेको चिकित्सकको भनाइ छ ।

चिकित्सकहरूका अनुसार, अस्पतालमा मुगफली बदाम र मटर जस्ता कुरा अड्केको घटना हुने गर्थे तर अब खेलौनाको साना भाग, बटन ब्याट्री र सिट्ठी जस्ता कुरा बच्चाहरूका लागि ज्यानमारा बन्दै गएका छन् ।

बच्चा एकदम सानो भएकाले सर्जरी चुनौतीपूर्ण रहेको चिकित्सकको भनाइ छ । यो कुरा फोक्सोमा पुगेको भए बच्चाको ज्यान समेत जान सक्ने चिकित्सकहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्