नेताका मस्ती, जनताका सास्ती



  • मञ्जु भट्ट

काठमाडौं । युवाहरूका ढुकढुकी बनेर काठमाडौं महानगरपालिकाका प्रमुखका रूपमा उदाएका छन् बालेन्द्र शाह । वर्षौंदेखि आफूलाई रुचि भएको विषयमा डिग्री पढ्न काठमाडौं नै धाउनुपर्ने र डिग्री पास गरेर पनि आफ्नो देशमा काम नपाएर विदेश हानिनुपरिरहेको पीडा सहन नसकेर युवाहरूलगायतले काठमाडौंको प्रमुखका रूपमा बालेन शाहलाई अगाडि सारेका छन् ।

अहिलेसम्म नेताहरूले गफ लगाउँदै आएअनुसार सिंगापुर, स्विट्जरल्याण्डं बनिसक्नुपर्ने देश हेर्दाहेर्दै श्रीलंका, पाकिस्तानको बाटोमा गइरहेको देखेर देशभरिका युवाहरूले आफ्ना प्रतिनिधि पनि बदल्ने विचार गरेको देखिन्छ । विस्तारै पुराना कलकारखाना बन्द हुँदै जानु, समय र मागअनुसार नयाँ कलकारखाना खुल्न नसक्न, कृषिमा आधुनिकीकरण हुन नसक्नु, दुर्गमका ठाउँहरूमा छिटोछरितो यातायातको सुविधा हुन नसक्नु, खेतीयोग्य जमिन घरघडेरीमा परिवर्तन हुदै जाँदा निर्यात भन्दा पनि कृषिप्रधान देशले खाद्यान्नमा बर्सेनि अर्बाैं रूपैयाँ विदेसिनाले देशमा विकास हुन सकेको छैन ।

विकासका कामहरू सुचारु हुनुपूर्व नै त्यसमा भइसक्ने भ्रष्टाचारले कामहरू पूरा नभई बीचमै बन्द हुनुले पनि देशले प्रगति गर्न सकेको छैन । बूढीगण्डकी, मध्य भोटेकोसी जस्ता वर्षौं पहिले सुरु गरिएका धेरैजसो गौरवका आयोजनाहरू सम्पन्न हुन सकेका छैनन् । सरकारले उच्च प्राथमिकतामा राखेका २४ वटा गौरवका आयोजनाहरूमध्ये माथिल्लो तामाकोसी मात्र सत प्रतिशत काम सकिएर सञ्चालनमा आएको छ । बाँकी मेलम्ची खानेपानी आयोजना पनि वर्षात्मा बन्द गर्नै पर्ने बाध्यताका कारण उपत्यकाबासीले झण्डै ६ महिनासम्म मेलम्चीको पानी खान नपाउने भएका छन् ।

अरू गौरवका आयोजना पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । वर्षौं पहिले निर्माण सुरु गरिएको मध्य भोटेकोसी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शेयर किनेर सुरुआत गरेको त्रिशूली जस्ता जलविद्युत् आयोजनाहरूमा कर्मचारी, सर्वसाधारणहरूले शेयरमा लगाएको पैसा बन्धक बनेर बसेको छ । देशकै कायपलट गर्न सक्ने पञ्चेश्वर, पश्चिम सेती जस्ता कतिपय आयोजनाहरू सुरु पनि हुन सकेका छैनन् ।

अहिले पनि गठबन्धनको सरकारकै भरमा देश गुडिरहेको छ । गठबन्धनकै कारण भागबन्डा मिलाउन ६÷६ महिनाका लागि मात्र मन्त्रीहरू बनाइएका छन् । ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै सरकारमा बसेर काम नगरे पनि ६ महिना मन्त्री पद खाइसकेपछि आफ्ना नजिककालाई मन्त्री पद खुवाउन राजनीतिक दलहरू नै लागिपरेका छन् । एकचोटि मन्त्री भइसकेकालाई आजीवन सेवा, सुविधाहरू दिइरहनुपर्ने नियम सरकारमा बस्नेहरूले नै बनाएका छन् ।

६/६ महिनामा मन्त्री फेर्दा राज्यको ढुकुटीमा भार पर्न जाने कुराबाट राजनीतिक दलहरू अनभिज्ञ छैनन् तैपनि नेपाललाई श्रीलंकाकै बाटोमा पुर्‍याउन मरिहत्ते गरिरहेका छन् । नियम, कानुन मिचेर मन्त्रालय फुटाएर, थपेरै भए पनि मन्त्री पद खुवाउनै पर्ने मनपरीतन्त्र चलेको देखिन्छ सरकारमा । आइतबार मात्र कोरम नपुगेर एकै दिन २ पटक संसद् स्थगित गर्नुपरेको थियो ।
२ हजार रूपैयाँ भत्ता पचाउन १८८ सांसदले हाजिर गरेका थिए तर विधेयक निर्णयार्थ प्रस्तुत गर्ने बेलामा ६७ जना मात्र सांसद उपस्थित भएका पाइयो । देशमा विद्यमान समस्याहरूका बारेमा छलफल गरी समाधानका उपायहरू निकाल्ने जिम्मा लिएका सांसदहरू नै स्वार्थी, गैरजिम्मेवार बनेपछि देशको प्रगति कसरी हुन्छ ?

उदाहरणका रूपमा इन्धनमा जनताबाट अचाक्ली कर उठाए पनि नेपाल आयल निगम जहिले पनि घाटामै गएको देखिन्छ । इन्धन आयातको खर्च धान्न नसक्दा कहिले आइतबारसमेत बिदा दिने त कहिले सवारी साधनमा जोर÷बिजोर चलाउने निर्णय गर्न सधैँ आतुर भएको देखिन्छ सरकार ।

भारतबाट ३ चोटि इन्धनको मूल्य घटेर आइसक्दा पनि नेपालमा यस्को मूल्य घट्न नसक्नु जनताको ढाड सेक्नु हो । बेलाबेलामा कतिपय मन्त्रीहरूलाई करोडौँ रूपैयाँ भ्रष्टाचार गरेको आरोप लागिसकेका छन् । पदमा पुगेपछि आँखा नदेख्ने, जे पनि बोल्दै हिँड्ने, गर्न नहुने काम गरेकै कारण कतिपय मन्त्रीहरूले आफ्नै कारणले पद सम्हालेको केही महिनामै राजीनामा दिएका छन् । ठूलो पदमा पुगेपछि जिम्मेवारी पनि त्यसैअनुसार बढ्दै जान्छ । तर, देश चलाउनेहरू नै सरकारमा पुगेपछि छाडा हुन पुग्छन् ।

पद, पैसाको धाक देखाउँदै छाडा, मनलाग्दी बोल्ने, सम्पत्ति विवरण पेस नगर्ने, सरकारी सवारी साधनहरूको दुरूपयोग गर्ने, सरकारी जग्गा जमिन हडप्ने, आफ्नाहरूलाई मात्र पदमा भर्ना गर्ने, समयमा काम नगर्ने ठेकेदारहरूलाई प्रश्रय दिने, नियम, कानुन मिच्ने, सडक जाम गराउँदै सवारी चलाउनेजस्ता जनतालाई दुःख दिने र देशलाई वर्षौं पछाडि धकेल्नेजस्ता कामहरू नेताबाटै भएको देखिन्छ ।

वर्षभरि विकासका काममा खर्च गर्न छुट्याइएको बजेट कहिले पनि पूरा खर्च हुन सकेको छैन । बजेट खर्च हुन नसक्दा विकासका कामहरू भएको देखिँदैन तैपनि प्रत्येक नागरिकको टाउकोमा ६५ हजार रूपैयाँभन्दा बढीको ऋण थुपार्दै वैदेशिक ऋण निकालेर भए पनि ठूलो आकारको बजेट ल्याउनु भने कत्ति पनि उचित देखिँदैन ।

कतिपय नागरिकहरूले अझै पनि तुइनबाट नदी पार गर्नुपर्दा तुइन चुँडिएर ज्यान गुमाइरहेका छन् । विकासका काममा छुट्याइएको बजेट खर्च हुन सकेको छैन । तर, यस वर्ष पनि बेरुजु भने गत वर्षभन्दा पनि १५ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको महालेखाको प्रतिवेदनले जनाइसकेको छ ।

धेरै समयपछि कोरोनाबाट राहत पाएका जनताहरू अहिले हैजा फैलिन सक्ने त्रासमा रहेका छन् । राजधानीबासीले पिउनका लागि प्रयोग गर्ने जुनसुकै पानीमा पनि हैजाको किटाणु भेटिएको छ । वर्षौंदेखि फोहोरको दिगो व्यवस्थापन हुन नसक्दा महिना दिनभन्दा बढीसम्म राजधानीको फोहोर उठ्न सकेन, जसका कारण शहरमा अचाक्ली दुर्घन्ध फैलियो ।

घरभित्र, घरबाहिर, सडकभरि जताततै फोहोरको थुप्रो ठडियो । अहिले पनि ३ सातादेखि घरमा जम्मा भएको फोहोर उठ्न सकेको छैन । ३ सातादेखि घरबाहिर थुपारेको फोहोरको दुर्घन्ध घरभित्रै फैलिन थालेको छ । यसले थप स्वास्थ्य समस्या निम्त्याउने नै छ । नयाँ बस्तीमा रहेको समता स्कुल नजिकै सडक छेउमा फालिएको फोहोरको दुर्घन्ध हप्तौँसम्म स्कुलमा पढ्ने कलिला विद्यार्थीहरूले भोगिरहे र भोगिरहेका छन् । भोट माग्ने बेला सुनौला सपना देखाउने तर काम गर्ने बेला भागबन्डाका लागि हानथाप गर्ने नेताहरूले यस्ता समस्या कहिले पनि देख्दैनन् ।

वर्षात्को समयमा जताततै थुप्रिएको फोहोरले समेत हैजाका किटाणुहरू फैलिन मद्दत गरिरहेको हुन सक्छ । पदमा पुगेपछि आफैँ लाऊँ, आफैँ खाऊँ भन्ने सोच भएका राजनीतिज्ञहरूको उदय भयो । दूरदर्शी नेताहरूको अभावकै कारण देशले यो अवस्था भोग्नुपरेको छ । देशमा बढ्दै गएको महँगीले पनि देश श्रीलंकाको बाटोमा जान खोजेको त होइन ? भन्ने एक प्रकारको डर जनताका मनमा बढ्दै गएको देखिन्छ ।

विगत १ महिनादेखि श्रीलंकाका स्कुलहरू समेत बन्द गरिएका छन् । साना स्कुले बालबालिकाहरूलाई पढ्ने अधिकारबाट बञ्चित गरिएको छ । अस्पतालहरूमा औषधिको अभाव हुँदा सिकिस्त बिरामीहरूलाई मर्नका लागि छाडिएका समाचारहरू आइरहेका छन् । अतिआवश्यक शल्यक्रियाहरू समेत हुन सकेका छैनन् ।

हाम्रो देशमा पनि एकचोटि फेरि जोर/बिजोर सवारी साधन चलाउने चर्चा चलिरहेको छ । सरकारसँग धेरै समयका लागि खर्च धान्ने रकम अभाव हुँदै आएको सुनिन्छ । कहीँ भविष्यमा हाम्रा बालबालिकाहरू समेत पढ्नबाट बञ्चित हुने त होइनन् ? भन्ने एक प्रकारको डर अभिभावकका मनमा पैदा हुन थालेको छ ।

राजधानीमै पनि ढलको उचित व्यवस्थापन हुन सकेको छैन । वर्षात्को समयमा घर अगाडि नै भएका घडेरीहरूमा डेढ मिटरसम्म पानी जम्मा भएको देखिन्छ । एक्लै हिँडेर स्कुल जाने विद्यार्थीहरूका लागि यस्ता खाल्डाहरूमा पानी जम्मा हुनु भनेको दुर्घटना निम्त्याउनु हो । गहिरो ठाउँमा भएका स्कुलहरूमा पानी पस्ने भएकाले ठूलो पानी पर्दा स्कुल बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको पाइन्छ ।

ओरालो बाटोमा ठूलो पानी बगेर स्कुल जाने र फर्किने विद्यार्थीहरूलाई सकस भएको देखिन्छ । दुर्घटनाहरूबाट जोगिन खुला ठाउँ, बालबालिकाहरूलाई खेल्ने ठाउँ, हरियाली, शौचालय, पिउने पानी, बूढापाकाहरूलाई बस्ने चौतारीको अभाव हुनु शहरको नियति नै हो ।

स्वतन्त्रबाट उदाएर आएका युवा नेता बालेनप्रति धेरैको आशा छ । राजधानीलाई व्यवस्थित बनाउनमा उनी तत्पर रहेका पनि देखिन थालेको छ । लाखौँ नागरिक बस्ने काठमाडौंलाई स्वच्छ सफा, हराभरा बनाई आफ्नो मान र राजधानीको शान जोगाउन बालेनले तन, मन, धनले काम गर्नेछन् भन्ने सबैको विश्वास छ । यो विश्वासलाई देशभरिका जनताले चुनेर पठाएका जनप्रतिनिधिहरूले गुम्न दिनुहुँदैन । व्यक्तिगत स्वार्थभन्दा टाढा रहेर काम गरेमा सफलताको शिखरमा अवश्य पुगिन्छ ।

प्रतिक्रिया दिनुहोस्