टर्कीमा सैनिक बर्खास्तको क्रम अझै रोकिएन



एजेन्सी : टर्कीमा सन् २०१६ जुलाई १५ मा भएको असफल सैनिक ‘कू’ पछि अहिलेसम्म पनि सैनिकलाई बर्खास्त गर्ने क्रममा रोकिएको छैन्। हालै सार्वजनिक भएको एक तथ्यांकअनुसार हालसम्म १७ हजार सैनिकलाई बर्खास्त गरिसकिएको छ।

टर्कीको सेनाले गत शुक्रबार दिएको जानकारीअनुसार गएको तीन वर्षयता सेनाका १७ हजार ४९८ जनालाई सेवाबाटै बर्खास्त गरिएको हो। राष्ट्रपति रेसेप तैयप एर्डाेगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उनी विदामा रहेका बेला कूको प्रयास भएको थियो।

जुन प्रयास असफल भयो। ‘कू’ को प्रयास घन्टौं लामो लडाइपछि राष्ट्रपति रेसेप एर्डोगान समर्थित सेनाले असफल गराएको थियो। कूको प्रयासमा सहयोग गरेको आरोपमा सैन्य क्षेत्रका वरिष्ठ अधिकारी, पत्रकार, न्याय क्षेत्रका वरिष्ठ अधिकारी, उच्च स्तरीय व्यापारीलगायत हजाराैँको सङ्ख्यामा टर्कीका नागरिक पक्राउ परेका थिए।

राष्ट्रपति एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट बर्खास्त नै गरिएको थियो।

सन् २०१६ को त्यो ठूलो विद्रोहमा करिब २५० जना मारिएका थिए भने गोलीकाण्डमा परी दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए। टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी संगठन (एफइटिओ)को संलग्नता रहेका आरोप लगाएको छ।

अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो। टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको थियो।

सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उनी सम्बद्ध धार्मिक सङ्गठनले भने असफल ‘कू’ प्रयासमा आफूको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् । गुलेन र उनका समर्थकले आफू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्