कोदोबाली मर्न थालेपछि किसान चिन्तित



काठमाडाैं : लामो समयसम्म खडेरीको कारण मकैबाली पूर्ण रुपमा नष्ट भएर आहत बनेका उदयपुर जिल्लाको पहाडी क्षेत्रका किसानले लगाएको कोदोबाली पर्याप्त वर्षाको अभावमा मर्न थालेपछि अहिले उदयपुरका पहाडी क्षेत्रका किसान चिन्तित बन्न थालेका छन्। साउन महीनाको पहिलो हप्तादेखि जिल्लाको पहाडी क्षेत्रका किसानले आफ्ना घरबारी जग्गामा लगाएको कोदोबाली पर्याप्त वर्षा हुन नसक्दा र फेरि खडेरीको कारण मर्न थालेपछि यतिखेर उदयपुरको पहाडी क्षेत्रका किसान चिन्तित बन्न पुगेका हुन्।

जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बासबोटे, बराह, बलाम्ता, जाँते, ताम्लिछा, क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा बारीमा लगाएको कोदोबाली मर्न थालेको सम्बन्धित क्षेत्रका किसानले बताएका छन्। यस्तै जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको इनामे, नामेटार,गाम्सिङटार, रामेटार, पाँबु, मलबासे, सल्ले, आँपटार, कालीमाटी, हात्तीफाइले, पोखरीलगायतका क्षेत्रमा लगाएको ७५ प्रतिशत कोदोबाली खडेरीका कारण मरिसकेको रौतामाई गाउँपालिका– ७ का किसान खड्गबहादुर खड्का बताउछन्।

जिल्लाको उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, डुम्रे, उदयपुर गढीसहित ताप्ली गाउँपालिकाको ओख्ले, नुनथला, रुपाटार, ठानागाउँ क्षेत्रमा समेत खडेरीको कारण कोदोबाली मर्नथालेको कारण कतिपय किसानले कोदोबाली लगाएको स्थानमा फेरि जोतेर मास, दाल र गहत छर्न थालेको ताप्ली ३ का हर्कसिंह तामाङले बताए।

लिम्चुङबुङ गाउँपालिका– ५ जाँतेका एक कृषक गणेशप्रसाद बुढाथोकी भन्छन्,“यस पटक फाल्गुण देखिको खडेरीले गर्दा आफूहरुले लगाएको सम्पूर्ण मकैबाली नष्ट नै भयो,एक दाना मकैबाली पनि उठाउन पाइएन, असारको अन्तिम हप्ता तीन चार दिन वर्षा भएको थियो, त्यसपछि बारीमा कोदोबाली लगायौं, तर अहिलेसम्म खडेरीको खडेरी हुँदा सम्पूर्ण बारीको कोदाबाली नष्ट भए ।”

कतिपय किसानले कोदोबाली नष्ट भएपछि फेरि बारी जोतेर मास गहत् छर्न् थालेको र कतिपयले भने त्यतिकै चिन्तित भएर बसेको बुढाथोकी बताउछन्। यस्तै बलाम्ताका एक कृषक भक्तबहादुर राईको पनि पीडा यस्तै छ।

राई भन्छन,“यसपटक आफूहरुलाई प्रकृतिले नै ठूलो दुखः दियो,खडेरीको कारण सबै मकैबाली सखाप भयो,फेरी कोदोबाली लगायौं, त्यो पनि खडेरीहुन थालेको कारण भर्खरै लगाएका सबै कोदाको बिरुवा मरेर गइसक्यो, घरमा एक दाना अन्न छैन, गाउँबाहिरबाट चामल किनेर ल्याई परिवारहरुलाई खुवाएर अहिलेसम्म बाँचेका छौं,अहिले आफुहरु अनिकालमा परेका छौं ।”

उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने अधिकाँस अन्नबालीहरुमा मकैबाली र कोदोबाली नै रहेको र यस पटक हिउँद र बर्षा दुबै समयको खडेरीको कारण मकै बाली पनि नष्ट भएको र अहिले खडेरीको कारण कोदोबाली समेत मर्न थालेको कारण आफुहरुले समेत अब कसरी जनता बचाउने भन्ने चिन्ताले सताउन थालेको उदयपुर गढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगर बताउछन्।

गाउँपालिकामा मकैबाली उत्पादन हुन नसकेपछि खाद्यान्नको चरम अभावका कारण अहिलेसम्म बाहिरबाट चामल ढुवानी गरेर जनता बचाउने गरेको र कोदोबालीले समेत साथ नदिएपछि यस पटक गाउँपालिकाका जनता बचाउन वर्षभरीनै अन्यत्रबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था आएको लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिलाकुमारी राई बताउछिन्।

प्रतिक्रिया दिनुहोस्