कांग्रेसका १ सय ८२ विभाग रित्तै



काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन् ।कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि तल्ला तहका नेता फुर्सदिला छन् । कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १ सय ८२ विभाग रहने व्यवस्था छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समिति बैठक सकिएपछि लगत्तै रिक्त विभाग गठन हुने जनाए ।

‘केन्द्रीय समिति बैठक चल्दै छ, बैठकपछि केन्द्रका सबै रिक्त विभाग गठन गर्ने तयारी छ,’ उपसभापति निधिले राजधानीसँग भने ।उपसभापति निधिले प्रदेशका विभाग भने केन्द्रको गठन भएपछि मात्रै गठन हुने जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रदेश तहमा विभाग गठन गर्न भने कांग्रेसको प्रदेशमा संरचना नै बनेको छैन । कांग्रेसले भर्खर मात्रै विधानले व्यवस्था गरेअनुसारको तल्लो तहको संरचना गठन गर्न तयारी अघि बढाएको छ । तर, अझै पनि प्रदेशको संरचना बनाउने विषयमा पार्टीभित्र सहमति जुट्न सकेको छैन ।

विधानअनुसार केन्द्रीय विभागमा प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था छ भने केन्द्रीय कार्यसमितिका सदस्य विभागको प्रमुख रहनेछन् । यस्तै, केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

केन्द्रीय समिति बैठक चल्दै छ, बैठकपछि केन्द्रका सबै रिक्त विभाग गठन गर्ने तयारी छ

विमलेन्द्र निधि

उपसभापति, कांग्रेस

विभागका उपप्रमुख, सचिव र सदस्यमा मनोनयन हुन नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुपर्नेछ भने मनोनयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिइनुपर्ने उल्लेख छ ।कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकपछि संविधानले तय गरेको संरचनाअनुसारको पार्टीको संरचना बनाउन विधान संशोधन गरेको थियो । त्यस बखत नै पार्टीको केन्द्रीय विभाग गठन गर्न विधानले नरोके पनि प्रदेश समिति, प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति, पालिका समिति तथा वडा कार्यसमिति गठन गर्न भने विधानले रोकेको थियो ।

हाल कांग्रेसको नेपाल विद्यार्थी संघ नेतृत्वविहीन अवस्थामा छ । यस्तै, तरुण दलको केन्द्रीय कार्यसमितिसमेत अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षकै भरमा चल्दै आएको छ । तरुण दलको महाधिवेशन २०७३ कात्तिकमा सम्पन्न भएको थियो । यसैगरी, दलित संघ, किसान संघलगायतका संगठन पनि वर्षौंदेखि निष्क्रिय छन् भने शुभेच्छुक संगठनहरूले पनि वर्षौंदेखि महाधिवेशन नै नगरी आलटाल गर्दै आएका छन् ।

कांग्रेसले गत वैशाखमा चलाएको पहिलो चरणको जनजागरण अभियानलगत्तै रिक्त सबै विभाग तथा भ्रातृ संगठनको गठन गर्ने तयारी गरेको थियो । संरचना नै नभएका कारण अभियान फितलो भएको भन्दै जिल्ला पुगेका प्रतिनिधिले नेतृत्वलाई संरचना गठनका लागि दबाब दिएका थिए । यस्तै, पहिलो चरणको जनजागरण अभियानका क्रममा तल्लो तहका नेता कार्यकर्ताबाट समेत संरचना गठन नै नगरी अभियान थालेको भन्दै नेतृत्वको चर्को आलोचना भएको थियो ।

हाल कांग्रेसले दोस्रो चरणको जागरणको तयारी गरेको छ । २४ भदौबाट ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण हुँदै छ । कांग्रेसले १०५औं बीपी जयन्तीको अवसर पारेर जागरण गर्न लागेको हो । जागरणअन्तर्गत प्रत्येक प्रदेशमा १०५ वटा बिरुवा रोप्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्