प्रचण्डले गरे गलेश्वर मन्दिरमा अारती



म्याग्दी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको दर्शन गरेका छन् । उनको साथमा दर्शनका लागि गृहमन्त्री रामबहादुर थापा पनि पुगेका थिए ।

 

प्रचण्डले मन्दिरमा आरती समेत गरेका छन् । सो अवसरमा प्रचण्ड र थापाले गलेश्वरको महत्व र ऐतिहाँसिक मान्यताको बारेमा जानकारीसमेत लिएका छन् । अध्यक्ष प्रचण्डले मंगलवार बिहान म्याग्दीका विभिन्न स्थलहरूको अवलोकन भ्रमण गरेका छन् ।

 

सोमबार म्याग्दी पुगेका प्रचण्डले मंगलवार बिहान पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दी सदरमुकाम बेनीको दृष्यावलोकन गरे । उनले कालीगण्डकीले कटान गरेको बेनी बजारको तडबन्धको निरीक्षण पनि गरे । 

 

प्रचण्डले ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको निरीक्षण गर्नुका साथै कालीगण्डकी कोरिडोरको अवलोकन समेत गरे । अध्यक्ष प्रचण्ड बिहान ९ः३० बजे तातोपानी कुण्डमा स्नानका लागि गएका थिए । 

 

अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुगेका हुन् । प्राकृतिक चिकित्सालयको रूपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ ।

 

तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली बुधवार साँझ राजधानी फर्कनेछ । राजधानी फर्कनु अघि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा संचारकर्मीहरूसँग भेटघाट तथा छलफल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्