रामपुरमा ‘कपडा बैंक’ : जनताबाट लेऊ र जनतालाई देऊ



काठमाडौं : सुन्दा निकै सामान्य लाग्नसक्छ– जनताबाट लेऊ र जनतालाई देऊ । तर यी सरल कुरा पनि व्यवहारमा उतार्न निकै कठिनाइ हुन्छ । तर यो कामको थालनी पाल्पा रामपुरमा खोलिएको कपडा वैंकले गरेको छ । गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको यो ‘कपडा बैंक’ सर्वसाधरणका लागि एक अन्तिम खुशीको उपाय पनि बन्न पुगेको छ ।

मानिसको चेतनामा आएको परिवर्तनसँगै केही सामाजिक संस्थाहरुको जनसेवा गर्ने अभिलाषा सेवामा अभिव्यक्त हुन थालेका छन् । यसै सिलसिलामा रामपुर युवा क्लबले कमजोर आर्थिक अवस्था भएका स्थानीयहरुका लागि आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन पाउने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको छ ।

कपडा बैंकमा महिला तथा पुरुषले लगाउने कपडाहरु राखिएका छन् । महिलाका लागि आवश्यक कपडा सारी, चोलो, पेटीकोट, कुर्था सुरुवाल, सल आदि राखिएका छन् भने पुरुषका लागि आवशयक टिसर्ट, पेन्ट, सर्ट, हाफपेन्टलगायतका तयारी कपडा राखिएका छन् । यसरी विपन्न वर्गको नांगो शरीर ढाक्न स्थापना गरिएको यस कपडा वैंकमा जम्मा गरिने तयारी तथा काचा कपडाको स्रोत भने जनता र सहयोगी संस्थाहरु नै रहेका छन् । क्लबले ‘कपडा वैंक’मा स्थानीय सहयोगी व्यक्तिहरु, चन्दा दाताहरु, कपडा व्यापारी आदिबाट संकलित कपडा वैंकमा राख्ने र इच्छुक विपन्न परिवारका मानिसहरुले आफ्नो आवश्यकताअनुसार उक्त कपडाबाट छानेर लिने गरेको व्यवस्थापनले बताएको छ ।

क्लबका सचिव सुन्दर कँडेलका अनुसार ‘कपडा वैंक’ले पाएको लोकप्रियतासँगै अब कपडा संकलन र वितरणको अभिलेख राख्नका लागि कर्मचारीको आवश्यकता भैसकेको छ । इच्छुक व्यक्तिहरु सम्बन्धित कर्मचारी र क्लबका मानिसहरुसँग सम्पर्क गरेर कपडा प्रदान गर्न र लैजान सक्ने छन् । हाल उक्त बैंकमा नयाँ, पुराना, सुकिला र सफा लुगा सङ्कलन र वितरण गरिंदै आएको छ ।

स्थानीय समाजसेवीहरु कपडा वैंक स्थापना भएपछि निकै खुसी देखिएका छन् । उनीहरुका अनुसार यो कपडा वैंकले गरीब तथा विपन्न वर्गका जनतामा प्रत्यक्ष सहयोग पुर्याएर अमूल्य सहयोग त गरेको छ नै, यो भन्दा बढी यसले दैवीप्रकोपका बेला जनतालाई तत्काल राहत दिने छ । आपत्विपत्का बेला यसले निकै राहत र सहयोग  पुर्याउने छ । । यस अर्थमा कपडा वैंकको स्थापना आफैमा तत्काल र दीर्घकालका लागि निकै उपयोगी र सहयोगी रहेको छ । सामाजिक हितका लागि थालनी गरिएको यो पुण्य कार्यमा स्थानीय जनता तथा नगरपालिका, चन्दादाता, मनकारी सहयोगी सबैको सहयोगी हात फुकेर आउने छ । हालै मात्र नगरपालिकाले कपडा वैंकका लागि रु. ५० हजार सहयोग गरिसकेको छ ।

यसका साथै, रामपुर बजारमा रहेका पसलहरुमा नबिकेका, केही पुराना मोडलका, मौसम सकिएर त्यत्तिकै रहेका, कतिपय अनावश्यक रुपमा थन्किएका कपडा संलन गर्ने अभियान चलाइने छ र यसलाई नियमितता दिएर सहयोगीहरुमा बानी बसालिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्